पाेखरामा कतै भ्वाङ, कतै डुबान

समाधान संवाददाता २०७९ असार १३ गते १०:१६

पोखरा ।
पछिल्ला दिनमा भएको मुसलधारे वर्षाले पोखरेलीलाई प्रभावित बनाएको छ । वर्षाले विभिन्न ठाउँमा पहिरो गएको छ । महानगरका मुख्य बजार क्षेत्रकै सडकमा कतै भ्वाङ परेको छ भने कतै बस्ती डुबानमा परेको छ । पोखरा ४ को बूढानीलकण्ठ मन्दिर र बागलुङ बसपार्क नजिकको पुलको आडैमा शनिबार राति परेको पानीका कारण भ्वाङ परेको छ ।

Advertisement

आइतबार बिहान कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले निरीक्षण गरेलगत्तै भ्वाङ पुरिएको छ । उनले वर्षायाम सुरुवातसँगै बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति घटना हुन सक्ने भएकाले सजग र सचेत रहन सबै नगरबासीमा अनुरोध गरेकी छन् । पोखराको गैह्रापाटनबाट बागलुङ बसपार्क जाने भित्री सडक भासिनुका साथै एउटा घरमा क्षति पुगेको छ । सडक भासिएसँगै उक्त स्थानबाट पोखरा बागलुङ राजमार्ग हुँदै गणेशटोल, गैह्रापाटन आउजाउ बन्द भएको थियो । भास्सिएको सडक महानगरले पुरेपछि सडक खुलेको छ ।

शनिबार पोखरा २५ सूइखेतमा आएको बाढीले घरहरु डुबानमा परेका थिए । पोखरा महानगरको मुख्यालय न्युरोडसहित चिप्लेढुंगा, महेन्द्रपुलमै बेला बेलामा सडक भासिने र गाडीहरु त्यसमै पर्ने गरेका छन् । त्यसरी जमिन भासिएपछि माटोले पुरेर सडक सञ्चालन गर्ने गरिएको छ । यसबारे वैज्ञानिक अध्ययन र समस्या समाधानको पहल भएको छैन । पोखराका सेतीवारिका लामाचौर, नदीपुर, अर्मला, लेकसाइड, महेन्द्रपुल लगायतका क्षेत्रका बारम्बार जमिन भासिँदै आएको देखिन्छ । पोखराको माटो चुनयुक्त भएको र चुन पानीसँग मिसिँदा घुल्ने भएकाले जमिन भास्सिने विज्ञहरु बताउँछन् ।

Advertisement

यसको मुख्य कारण अव्यवस्थित सहरीकरणसँगसँगै ढल र नालाको उचित प्रबन्ध नहुनु हो । पानी सोस्ने जमिनमा घर बन्नु र पानी बग्ने नाला, ढल नहुँदा सडकबाटै त्यसको निकास हुने अवस्था छ । यसैबीच, मेयर धनराज आचार्यले वर्षाका कारण आउन सक्ने बिपद्को जोखिमबाट जोगिन थप सजगता अपनाउन नगरवासीलाई आग्रह गरेका छन् । वर्षाका कारण ग्रामीण तथा सहरी सडकसमेत अवरुद्ध हुन पुगेको भन्दै मेयर आचार्यले ती स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रससहित सरोकारवालासँग सहकार्य गर्दै राहत, उद्धार र आवश्यक सहजीकरण भइरहेको उनले जनाएका छन् ।

‘बाढी, पहिरो र डुबान लगायतका कारण उत्पन्न विपद्को यो क्षणमा वर्षादका समयमा जमिन भास्सिने, बाढी, पहिरो र जलाशयहरुको बढी जोखिम हुनेहुँदा थप सजगता अपनाउन, पूर्व सूचना-संकेतका आधारमा जोगिने उपायहरु खोज्न र विपत्तिमा सम्बिन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु,’ अपिलमा भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया