पाेखरा: खेलकुदको सहर

धन बस्नेत २०७९ असार १४ गते १०:५५

पोखरा ।
पोखराको खेलकुद इतिहासमै पहिलो पटक दक्षिण एसियाली खेलकुद(साग) आयोजना गरियो । पोखरालाई खेल पर्यटको हब बनाउने सपना र योजनालाई यसले उचाइमा पुर्‍‍‍‍‍‍‍‍‍याईदियो । स्थानीय तहले पनि खेलकुदको पूर्वाधारमा लगानी र प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने सन्देश दियो ।

Advertisement

त्यही सन्देशलाई आत्मसात गर्दै महानगरपालिकाले पनि खेलकुद पूर्वाधार विकास र प्रतियोगितालाई बजेट छुट्याउन थालेको छ ।महानगरले अभियान नै चलायो–स्वास्थ्य नागरिक । तत्कालीन नगर प्रमुख मानबहादुर जिसीले स्वास्थ्य नागरिक अभियानलाई सार्थकता दिन खुला व्यायामशाला सुरु गरे । महानगरका वडामा रहेका खुला पार्कमा ९ सामानको सेटसहित व्यायामशाला बने । प्रत्येक वडाका खुला पार्कमा व्यायामशाला निर्माण गरिसकिएको छ ।

वडा तहसम्म खेल मैदान र विभिन्न प्रतियोगितालाई बजेट विनियोजन गरी महानगरले पोखरालाई खेलकुदको सहर भन्ने उपमा सार्थक बनाएको छ

Advertisement

त्योसँगै महानगरले ‘१ वडा, १ खेल मैदान’लाई मूर्त रुप दिएको छ । प्रत्येक वडामा खेल मैदानको रुपमा ब्याडमिन्टन कोर्ट र भलिबल कोर्ट बनाइएको छ । तत्कालीन नगर प्रमुखका प्रेस संयोजक माधव बरालले व्यायामशाला र प्रत्येक वडामा खेल मैदान बनाउन महानगरपालिकाले झण्डै डेढ करोड रुपैयाँ खर्च गरेको छ । महानगरले पोखरा २० आँटीघर मौजा र पोखरा १३ आर्वामा दीर्घकालीन योजनासहित कामअघि बढाएको छ । मौजामा उचाइको खेलमैदान बनाउने गुरुयोजना बनेको छ ।

फुटबल मैदानसहित अन्य खेलको पूर्वाधार विस्तृत परियोजना प्रतिवेदनमा समेटिएको छ । १६ करोडको योजनासहित दीर्घकालीन खेलकुद परियोजनाको काम महानगरले २ वर्षअघि सुरु गर्‍यो । पहिलो र दोस्रो वर्ष गरी महानगरले ९० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । फुटबल मैदानका लागि वडाले ७ लाख रुपैयाँ खर्चिएको छ । ‘खेलकुद पूर्वाधारलाई बजेट माग्छौं । यो महानगरकै गौरवको योजना हो । त्यसैले पहिलेको जति नघट्ने गरी बजेट माग्ने योजना छ,’ पोखरा २० का वडाध्यक्ष गंगाबहादुर केसीले भने, ‘बजेट मागेर काम गर्न सकिए भने फ्रिज हुन्छ । त्यसैले मागिएको बजेट अनुसार काम गर्छौ ।’

Advertisement

मौजाको फुटबल मैदान निवर्तमान वडाध्यक्ष सीम गुरुङको पालामा सुरु गरिएको थियो । मौजाको फुटबल मैदान १ हजार ७ सय मिटर उचाइमा छ । मौजामा फुटबल मैदान बने ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ आशा जाग्ने वडाध्यक्ष केसीको भनाइ छ ।
महानगरले पोखर –१३ आर्वामा खेलग्राम बनाइरहेको छ । निर्वतमान वडाध्यक्ष दर्शन लामाले योजनाअघि सार्दै काम सुरु गरेका थिए । सुरु वर्षमा महानगरले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । त्यही बजेटबाट डाडाँ कटान गरी फुटबल मैदानको आकार दिइयो । ‘यो वर्ष बजेट नै दिएको छैन । आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधारका लागि महानगरसँग माग्छौं,’ पोखरा १३ का वडाध्यक्ष किरण बरालले भने, ‘ठूलै पैसा लगानी भइसकेको छ ।

यसलाई पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारी हाम्रो हो ।’ महानगरले आफनै योजनाबाहेक विभिन्न संघ, संस्थाको अगुवाईमा निर्माण भएका खेलकुद पूर्वाधारलाई समेत बजेट उपलब्ध गराएको छ । पोखरा १९ लामाचौरस्थित गोस्ते खेलमैदानलाई ६० लाख रुपैयाँ छुट्टाएएको थियो । ‘पहिला ५० लाख रुपैयाँ र दोस्रो पटक १० लाख रुपैयाँ उपलब्ध गराएको छ,’ गोस्ते खेल मैदान निर्माण उपभोक्ता समिति सचिव बुद्धिबहादुर खत्री क्षेत्रीले भने, ‘कोभिड पछाडिको महानगरले गोस्ते खेलमैदानलाई बजेट दिएको छैन ।’

लामाचौर गोस्ते खेल मैदान पोखरा रंगशालाको वैकल्पिक फुटबल मैदानको रुपमा विकास गरिएको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले समेत यसै आर्थिक वर्षभित्र सक्ने गरी केही रकम उपलब्ध गराएको छ । पोखरा २९ भण्डारढिकलाई १ करोड रुपैयाँ छुट्टाएको थियो । तर महामारीमा टेण्डर प्रक्रियामा जान नसक्दा बजेट फ्रिज भएको महानगर खेलकुद विकास समिति सदस्य सचिव सुवास खड्काले बताए । पोखरा १७ स्थित फेवा पावर हाउस नजिकै महानगरले खेलकुद पूर्वाधार बनाउने प्रयास गर्‍यो । फुटबल मैदानसम्म पुग्न तत्कालीन नगरप्रमुख जिसीले बाटो निर्माण गर्न २० लाख रुपैयाँ छुट्टाउँदै शिलान्यास गरे । फुटबल मैदानसम्म पुग्ने बाटो बन्यो । बाटो बने पनि थप रकम विनियोजन नहुँदा फुटबल मैदानको योजना अधुरै छ ।

नयाँ खेलकुद ऐन बन्यो । युवा तथा खेलकुद मन्त्रालयले खेलुकद ऐन २०७५ बनायो । ऐनले स्थानीय तहमा समेत खेलकुद विकास समिति गठन गर्ने उल्लेख गरियो । स्थानीय तहदेखि नै खेलकुदको विकास गर्नुपर्ने सुझावसहित खेलकुद विकास समिति गठन गर्ने ऐनमै उल्लेख भए अनुसार पोखरामा पनि महानगर खेलकुद विकास समिति गठन गरिएको छ । त्यसभन्दा अघि राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना गर्नुपर्ने प्रावधान बनायो । प्रावधान अनुसार कास्कीका ४ गाँउपालिकामा छुट्टाछुट्टै रुपमा राष्ट्रपति रनिङ आयोजना गरिँदै आएको छ ।

महानगरले पनि पहिलो पटक राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्‍यो । कोभिड १९ अघि पहिलो पटक राष्ट्रपति रनिङ सिल्डकै लागि बजेट छुट्टाउँदै प्रतियोगिता टुंग्यायो । त्यसपछि कोभिडले २ वर्ष रोकियो । महानगरले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड पहिलो हो । रनिङ सिल्डका लागि महानगरले १० लाख रुपैयाँ विनियोजन गरेको थियो । रनिङ सिल्डमा महानगरभित्रका निजी तथा सामुदायिक गरी ६० भन्दा बढी विद्यालयले सहभागिता जनाएका थिए । महानगरले खेलकुद विकास समिति गठनपछि पूर्वाधार र प्रतियोगिताको लागि झण्डै पौने २ करोड बजेट छुट्टाएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई १० लाख रुपैयाँ बजेट निरन्तरता दिइएको छ । त्यसपछि आहा रारा गोल्डकपलाई ५ लाख रुपैयाँ ।

तीबाहेक अन्य प्रतियोगितालाई समेत बजेट छ । ‘महानगर खेलकुद समिति गठनपछि कोभिडले केही समय प्रतियोगिता आयोजना गर्न सकिएन,’ महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले भने, ‘कोभिडको त्रास केही कम भएपछि स्वास्थ्य नागरिक अभियानसँगै खेलुकद प्रशिक्षण सुरु गरियो । प्रशिक्षणपछि प्रतियोगिता आयोजना गर्‍यौं ।’
पोखरा रंगशालामा महानगर खेलकुद विकास समितिले ब्याडमिन्टन, टेबलटेनिस, अन्तर पालिकास्तरीय भलिबल जस्ता प्रतियोगिता आयोजना गर्‍यो । असार ४ गते शनिबार ४५ किलोमिटरको साईक्लिङ रेस आयोजना गरियो ।

त्यसपछि महानगर खेलकुद समितिले महानगर वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने जमर्कोसहित कास्की जिल्ला फुटबल संघसँग छलफलमा जुटेको छ । ती प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन भइसकेको छ । सागभन्दा अघि पोखरा महानगरपालिकाले खेलकुदको पूर्वाधार विकास र प्रतियोगिताकै लागि बजेट छुट्टाउने गरेको थिएन । विभिन्न संघ, संस्थाले आयोजना गर्ने प्रतियोगितालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आए पनि महानगर आफैंले आयोजना गरेको थिएन । त्यसो त नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिने हुँदा महानगरपालिकाले छुट्टाउने बजेट बढाउनुपर्ने खेलकुदकर्मीको सुझाव दिएका छन् । पदक जित्ने सम्भावित खेलमा महानगरले लगानी गर्नुपर्ने खाँचो खेल संघले औल्याउँदै आएका छन् ।

पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको सहर उपमा दिइएको छ । खेलकुदको सहरको उपमालाई सार्थक बनाउन यति बेला महानगर जुटेको छ । पूर्वाधार विकास र नियमित प्रतियोगिताले खेलकुदको सहर बनाउँदै गएको छ । राजधानी काठमाडौंपछि सबैभन्दा बढी खेलकुद प्रतियोगिता पोखरामै आयोजना हुने गरेका छन् । त्यसले पनि पोखरालाई खेलकुदको सहर भन्नुमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया