क्षितिज र दिलाशालाई प्रदेशस्तरीय ब्याडमिन्टन उपाधि
पोखरा ।
कास्की जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फको उपाधि क्षितिज खनाल र दिलाशा रानाले उचालेका छन् ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुषतर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै उपाधि उचालेका हुन् । १–१ सेट जितेको अवस्थामा अन्तिम अर्थात् तेस्रो सेट चलिरहँदा विधानले बीचमै खेल छाडेपछि उनी च्याम्पियन बनेका हुन् । विधानले पहिलो सेट २१–१९ र खनालले दोस्रो सेट २१–१५ ले आफनो पक्षमा पारेका थिए ।
उनले २० हजार रुपैयाँ हात पारे भने विधानले १० हजार रुपैयाँ प्राप्त गरे । कास्कीका विशाल खड्का र लमजुङका सुजन थापाले तेस्रो हुँदै जनही १० हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमिन् ।
उनले २१–१५, २१–११ को सेटमा रानालाई हराउँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् । अनुले १० हजार रुपैयाँ प्राप्त गरिन् । आकृति केसी र आयुस्मा नेपालले तेस्रो हुँदै १० हजार प्राप्त गरिन् । महिला डबल्सतर्फको प्रतिस्पर्धामा कास्कीका यामकुमारी गुरुङ र दिलाशा रानाको जोडीले कास्कीकी माया पुन र तनहुँकी रुबि श्रेष्ठको जोडीलाई निर्णायक सेटमा पराजित गर्दै उपाधि उचाले ।
उनीहरुले २१–१५, २४–२६ र २१–१५ को सेटमा हराउँदै उपाधि चुम्न सफल भए । मेनुका गुरुङ र आयुष्मा नेपाल तथा कास्कीकै आकृति केसी र अनु रानाको जोडी तेस्रो स्थानमा रहे । पुरुष तर्फको डबल्सको उपाधि कास्कीका विधान अधिकारी र पर्वतका विधान गुरुङको जोडीले उचाल्यो । उक्त जोडीले लमजुङका सुजन थापा र स्याङजाका दीपक रानाको जोडीलाई २१–१४, १८–२१ र २१–१८ को सेटमा हराए । कास्कीका विशाल बस्नेत र विशाल गुरुङको जोडी तथा विशाल खड्का र कृष्ण बस्नेतको जोडी तेस्रो भए ।
पुरुष डबल्सतर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः नगद ४०, २५ र २० हजार रुपैयाँ प्राप्त गरे । महिला डबल्सतर्फको विजेताले नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका संयोजक अमृत पोखरेलले बजानकारी दिए । प्रतियोगितामा विजेतालाई गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठ लगायतले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा उपाध्यक्ष विशाल खड्का, सञ्जयकुमार अधिकारी, सचिव फणीन्द्र तिमिल्सिनाले बोलेका थिए ।
तपाईको प्रतिक्रिया