
पोखरा ।
पोखरा विमानस्थलको उडान र अवतरणमा अवरोध गर्ने रिठ्ठेपानी डाँडा कटान गर्न बाटो खुलेकोे छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच मंगलबार रुख काट्ने सहमति भएसँगै अवरोधको रुपमा रहेको यो डाँडो कटानका लागि बाटो खुलेको हो ।
रुख कटान हुने भएपछि माटो कटानका लागि टेन्डर गरिने प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् । ‘अब रिठ्ठेपानीको डाँडा कटानका लागि बाटो खुलेको छ,’ उनले भने, ‘६ सय रुख कटान गरेपछि डाँडा कटानको प्रक्रिया सुरु हुन्छ ।’
विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार पोखरामा बनिरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्व–पश्चिम दिशामा रहेका कारण रिठ्ठेपानी डाँडा कटान गर्नुपर्ने भएको हो । तर विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटरमा रहेको यो डाँडा काट्न गत वर्ष नै तयारी गरे पनि वन मन्त्रालयले स्वीकृति दिएको थिएन ।
डाँडाका ६ सय रुख काटिसकेछि डाँडो ४० मिटर होचो बनाइनेछ
स्वीकृति पाएसँगै काम थालेको ३ महिनाभित्र डाँडा कटानको काम पूरा हुने प्राधिकरणको दाबी छ । धावनमार्ग २५ मिटर लम्बाइ र ४५ मिटर चौडा छ । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा सानाठूला रुख काट्नुपर्ने देखिएको थियो । डाँडाको ३ सय ८१ रोपनी जमिनमध्ये ८१ रोपनी व्यक्ति र ३ सय रोपनी जग्गा सरकारको नाममा छ ।
जहाज अवतरणका लागि डाँडाको ४० मिटर उचाइ काट्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ । रुख काट्ने अनुमति नपाउँदा डाँडा कटानको काम अगाडि बढ्न नसकेको विमानस्थलका उपप्रबन्धक इन्जिनियर पौडेलले बताए । ‘डाँडा कटानको अनुमति पाइसकेका थियौं, रुख काट्ने अनुमति नपाउँदा काम सुरु हुन सकेको थिएन,’ उनले भने, ‘रुख काटन सकिसकेपछि डाँडा काटने प्रक्रिया सुरु हुन्छ ।’
विमान उडान र अवतरणको सुरक्षाका लागि मात्र डाँडाको कटान भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । डाँडा कटानपछि त्यस स्थानमा विमानस्थलका कुनै पनि संरचना भने बन्ने छैनन् । डाँडो काटेपछि स्थानीयले त्यहाँ रहेको चण्डी मन्दिर संरक्षण गर्न माग गरेका छन् । यसमा समेत आयोजनाले काम गर्नुपर्ने भएको छ । प्रतिवेदन अनुसार स्थानीय बासिन्दाले आयोजना क्षेत्र वरपरका मन्दिरको संरक्षण आमा समूहलाई सहयोग र विमानस्थल तथा रिठ्ठेपानी क्षेत्रमा हरियाली प्रवर्धन गर्न बजेट माग भएको छ ।
हाल विमानस्थलमा उपकरण जडान र फिनिसिङको काम भइरहेको प्रवक्ता निरौलाले बताए । विमानस्थलको ९७ प्रतिशत भौतिक कार्य सकिएको उनले बताए । चीन सरकारद्वारा निर्मित उक्त विमानस्थल गत चैतमा नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीनका राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए ।
त्यस बेला निर्माण सम्पन्न नहुँदै विमानस्थल हस्तान्तरण गरेको भन्दै आलोचना भएको थियो । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । २२ अर्ब रुपैयाँ लगानीमा ३ हजार ९ सय ९९ रोपनी जग्गा अधिग्रहण गरी बनाइएको यो विमानस्थलमा २ हजार ५ सय मिटर लामो रनवे छ । विमानस्थल निर्माणका लागि सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी सिएमसिसीबीच ठेक्का सम्झौता भएको थियो ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
तपाईको प्रतिक्रिया