भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

समाधान संवाददाता २०७९ असार १५ गते ११:०६

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । यहीं असार १८ गते शनिबार मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ मा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिने भएको हो ।

Advertisement

भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् ।

भट्टराई १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराई पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसिपमा गोल्ड मेडल जिते । सोही वर्ष सिनियरतर्फ चौथो भए । त्यसको १ वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।

Advertisement

राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिए पनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टिम मेनेजर थिए । फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चमा उपाध्यक्ष, नेपाल बक्सिङ संघ उपाध्यक्ष, जोय फाउन्डेसन संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु प्राडा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीअध्यक्ष दीननाथ बरालले छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएका छन् ।
पोखरा स्पोर्टस् अर्वाड अन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्ने छन् ।

Advertisement

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिनेछ ।

उदीयमान खेलाडीको मनोनयन सार्वजनिक
छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८ का लागि उदीयमान खेलाडीको मनोनयन सार्वजनिक भएको छ । अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधाको उत्कृष्ट ३ मनोनयनमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैसी र बक्सिङका शाहिल लिम्बु परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद ३५ हजारका साथमा ट्रफी हात पार्ने छन् ।

तपाईको प्रतिक्रिया