स्थानीय तह

मुस्ताङमा २२७ उम्मेदवार मध्ये ४४ जनाले बुझाए निर्वाचन खर्च विवरण

समाधान संवाददाता २०७९ असार १५ गते १५:३७

जोमसोम–

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९मा उम्मेदवारले खर्च गरेको विवरण पठाउन ७५३ वटै स्थानीय तहका निर्वाचन कार्यालयलाई निर्देशन दिएपनि मुस्ताङको ३ पालिकामा उम्मेवार बनेकाहरुले अझै खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

निर्वाचन आयोगले उम्मेदवार बनेकाहरुलाई खर्च विवरण पेश गर्न निर्वाचन कार्यालयलाई निर्देशन दिएको र कार्यालयले जिल्लाको ५ वटै स्थानीय तहमा स्थानीय तहमा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन ताकेता गरिएको भएपनि अझै खर्च विवरण पेश गर्न नसकेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्यालले जानकारी दिए ।

Advertisement

स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचार प्रसार गरेको खर्च विवरण सम्वन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा आयोगले तोकेको ढाँचामा निर्वाचन सम्पन्न भएको मितिले ३० दिन भित्र निर्वाचन आयोग ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ बमोजिम खर्च विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

मुस्ताङमा स्थानीय तह निर्वाचन सम्पन्न भएको ३० दिने डेथलाईन कटिसक्दा समेत स्थानीय तहमा उम्मेदवार बनेकाहरुले खर्च विवरण पेश गरेनन् ।पछिल्लो समय निर्वाचन आयोगले असार ८ गते प्रेस विज्ञप्ति जारी गरी स्थानीय तहमा उम्मेदवार बनेकाहरुले खर्च विवरण पेश गरेको वा नगरेको सोको निक्र्योल गरी आवश्यक कानुन बमोजिम कारवाहीका लागि छुट्टा छुट्टै विवरण बुझाउन प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिईएको थियो ।

Advertisement

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार स्थानीय तह निर्वाचन २०७९को मतपरिणाम सार्वजनिक भएको ३० दिने डेथलाईन सकिएर १ महिना बितिसक्दा आशिंक उम्मेदवारले मात्र निर्वाचन खर्च कार्यालयमा बुझाएका हुन् ।मुस्ताङका ५ स्थानीय तहमा २२७ जनाले उम्मेदवारी दिएकोमा ४४ जना उम्मेदवारले मात्र निर्वाचन खर्च कार्यालयमा पेश गरेको कार्यालय प्रमुख मदन अर्यालले उल्लेख गरे ।

मुस्ताङको लोमान्थाङमा नेकपा एमाले र नेपाली काग्रेसका गरी ४६ जना उम्मेदवार कसैले पनि खर्च विवरण बुझाएका छैनन् ।लोघेकर दामोदरकुण्डमा नेकपा एमाले,नेपाली कांग्रेस र एकिकृत समाजवादी १ गरी ३० जनाले उम्मेदवारी दिएकोमा कसैले पनि निर्वाचन खर्च बुझाएका छैनन् । यस्तै,मुस्ताङको घरपझोङ गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस गरी ३९ जनाले उम्मेदवारी दिएकोमा कसैले पनि निर्वाचन खर्च पेश नगरेको कार्यालय प्रमुख मदन अर्यालले जनाए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उम्मेदवार बनेका ५४ जना मध्ये २१ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अध्यक्ष रिनझिङ नाम्गेल गुरुङ र उपाध्यक्ष ढिकी गुरुङ सहित २१ जनाले निर्वाचित जनप्रतिनिधिले खर्च विवरण पेश गरेका हुन् ।

निर्वाचन कार्यालयका अनुसार वारागुङ मुक्तिक्षेत्र १,२,३ र ५ मा समान ५ जनाले खर्च विवरण बुझाएका छन् । वारागुङ ४ मा ४ जनाले खर्च पेश गरे ।

यस्तै ,थासाङ गाउँपालिकामा एमालेबाट अध्यक्ष पदमा जितेका प्रदिप गौचनले निर्वाचन खर्च विवरण कार्यालयलाई बुझाएका छन् । कांग्रेसबाट बिजयी उपाध्यक्ष सोमल हिराचनले अझै निर्वाचन खर्च बुझाएका छैनन् । थासाङमा १ देखि ५ वडामा २२ जनाले निर्वाचन खर्च बुझाएका हुन् ।

तर,स्थानीय तह निर्वाचनमा पराजित भएका ५ वटै स्थानीय तहमा उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

तपाईको प्रतिक्रिया