आम्दानी गर्नेले कर तिर्नैपर्छः कर अधिकृत शर्मा

समाधान संवाददाता २०७९ असार १६ गते १०:३०

पोखरा ।
आन्तरिक राजस्व कार्याल पोखराका मुख्य कर अधिकृत रमेश शर्माले करको दायरामा नआएका व्यवसायीलाई तत्काल दायरामा आउन आग्रह गरेका छन् । उनले आउँदो साउनदेखि अनुगमनलाई तीव्र बनाउने घोषणा गरे ।

कार्यालयले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा मंगलबार आयोजना गरेको आर्थिक अध्यादेश ऐन २०७९ ले व्यवस्था गरेको कर छुटबारे जानकारी दिन आयोजित अन्तरक्रियामा उनले भने, ‘जसले आम्दानी गर्छ, उसले कर तिर्नैपर्छ ।’
कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले कर छुट र दण्ड–जरिवानाबारे व्यवसायी सचेत बन्नुपर्नेमा जोड दिए । उनले व्यवसायीलाई आफ्नो लेखा प्रणाली चुस्त, दुरुस्त राख्न आग्रह पनि गरे ।

आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत अर्जुन दाहालले आर्थिक अध्यादेशले ३० लाखभन्दा कमको कारोबार गर्नेहरुको करमा ७५ प्रतिशत, चलचित्र, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, कृषि, ट्रेकिङ एजेन्सीलाई यो वर्ष ५० प्रतिशत कर छुट गरिएको जानकारी दिए । कर छुटबारे आन्तरिक राजस्व कार्यालयबाट जानकारी लिन उनको आग्रह छ ।

Advertisement

संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले कर छुटको प्रावधान स्वागतयोग्य रहेको बताए । उनले घरबहाल करको दायित्व घरधनीकै भएको र पोखरा महानगरले घरधनीसँगै कर लिने घोषणा गरेको स्मरण गरे । कार्यक्रममा दर्ताविनै सञ्चालनमा आएका व्यवसायीका कारण आफूहरु मर्कामा परेको, व्यवसाय वर्गीकरण वैज्ञानिक पक्ष नभएको लगायतका गुनासा व्यवसायीले राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया