असल छिमेकीद्धारा बालबालिकालाई स्टेसनरी वितरण

समाधान संवाददाता २०७९ असार १६ गते ११:२३

पोखरा ।
असल छिमेकी सहयोग संघ (गोनेसा) पोखराले जेहेन्दार, कठिन परिस्थिति तथा विपन्न वर्गका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत छोरेपाटन मावि र जानकी माविका १ सय बालबालिकालाई विद्यालय पोशाक, कापी, झोला, जुत्ता, मोजा लगायतका सामाग्री वितरण गरेको गोनेसा पोखराका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।

दातृ संस्था भिस्पे इटालीको सहयोगमा संस्थाले पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १४ पिपलारीको जनक माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा वडाका २ सय बाल बालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिसकेको छ ।
गण्डकीका उपसभामुख सिर्जना शर्माले बालबालिकाको पहिलो पाठशाला घर तथा पहिलो शिक्षक अभिभावक भएको बताइन् । ‘गरिब तथा विपन्न वर्गका बाल बालिकाका लागि समयसापेक्ष शिक्षा आवश्यक छ,’ उनले भनिन् ‘शैक्षिक सामग्री, विद्यालय पोशाक लगायतको सहयोग गरेर संस्था बालबालिकाको अभिभावक बनेको छ ।’ उनले घर परिवारले बाल बालिकालाई अनुशासन सिकाए असल नागरिक बनाउन सहयोग पुग्ने बताइन् ।

पोखरा महानगरपालिकाका नेकपा (एमाले)का सचेतक तथा वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगीले वडा कार्यालयले गर्नुपर्ने काम संस्थाले गरेको उल्लेख गरिन् । उनले महिला, बालबालिका, अपांग, ज्येष्ठ नागरिकको सवालका अलवा सामाजिक क्षेत्रको काममा संस्थासँग सहकार्य गर्ने जानकारी दिइन् । गोनेसा पोखरा अध्यक्ष सुवेदीले यस शैक्षिक सत्रमा आर्थिक अवस्था कमजोर भएका ४ सय १८ बालबालिकालाई शैक्षिक सहयोग वितरण गर्ने जानकारी दिए । उनले जाडो महिनाका लागि स्वेटरसहित वर्षमा २ पटक कार्यक्रम गर्ने बताए । उनले आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकाका लागि सहयोग अवसर र भविश्य बनाउने माध्यम भएको बताए ।

Advertisement

कार्यक्रममा गोनेसाका कार्यसमिति सदस्य केशु भुजेल, कार्यकारी निर्देशक शिवराज शर्मा, असल छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्कबहादुर थापा, अभिभावक राधा भण्डारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया