हैजाका लक्षण र उपचार: डा राजकुमार विक

समाधान संवाददाता २०७९ असार १६ गते १२:१९

हालै विभिन्न संचारमाध्यममा आएको सूचना अनुसार काठमाडौंस्थित दुई दिदिबहिनीमा हैजा पुष्टि भएको छ । अहिलेसम्म हैजाले ७ पटकसम्म विश्वमा महामारीको रुप लिएको छ । अन्तिम महामारी सन १९९१ मा अमेरिकामा देखिएको थियो । तुरुन्तै समाजमा फैलन सक्ने र समयमा उपचार नपाए केही घण्टामा मृत्यु पनि गराउने भएकाले आउनुहोस् आज यसबारे केही चर्चा गरौं ।

हैजा भिब्रियो कलेरा नामक ब्याक्टेरियाले आन्द्राको सन्क्रमण गराई छिट्टै नै जलबिनियोजन गराउने रोग हो । संसार भरीमा १ दशमलव ३ अर्ब मानिस हैजाको जोखिममा छन् भने वर्षेनी १० देखि ४० लाख केस र ९५ हजार जना व्यक्तिको मृत्यु हुने तथ्यांक छ । हैजा संक्रमित हरेक १० जनामा १ जनालाई गम्भीर किसिमको असर देखिने गरेको छ।

अहिलेसम्म हैजाले ७ पटकसम्म विश्वमा महामारीको रुप लिएको छ
डा राजकुमार विक

Advertisement

हैजाको जोखिम कसलाई हुन्छ ?
हामीले पिउने पानी तथा खानामा हैजा गराउने किटाणु सन्क्रमित भई दूषित भएमा र व्यक्तिगत सरसफाइमा कमी भएमा, हैजा सन्क्रमित बिरामीको हेरचाह गर्ने आफन्त र स्वास्थ्यकर्मीहरु, कुपोषित बच्चाहरु, २ वर्ष मुनीका बालबालिकाहरु, रोग प्रतिरोधात्मक शक्ति कम भएका, ब्लड ग्रुप ओ भएका व्यक्तिहरुमा ।

लक्षणहरु
दूषित खाना वा पानीको प्रयोग गरेपश्चात १२ घन्टादेखि ५ दिनभित्रै लक्षण देखा पर्दछ। प्रायःमा अचानक पानी जस्तो तारन्तार दिसा हुन्छ भने केहीमा सुरुवाती अवस्थामा पेटमा असजिलो हुने र खान मन नलाग्ने हुन सक्छ । पछि गएर पीडारहित चौलानी पानी जस्तो पातलो दिसा भइरहन्छ जुन माछा जस्तो गन्ध पनि आउन सक्छ । बान्ता पनि पानी जस्तो तारन्तार हुने गर्दछ । खुट्टाका मासुहरु बाउडिने, असाध्यै तीर्खा लाग्ने, झिझिने तथा छटपटाहट हुने, पिसाबमा कमी आउने, सानो बच्चामा तालुमा खाल्टो पर्ने, आँखाहरु भित्र गाडीने, आँसु नआउने, ओठमुख सुख्खा हुने, छालाको चमक हराउने, सुरुमा एकदम तिर्खाएको जस्तो देखिए पनि पानी पिउन पनि नसक्ने भई बेहोस् र अचेत हुन थाल्ने गर्दछन् ।

Advertisement

जटिलता
समयमै उपचार नपाएमा शरीरमा पानीको मात्रा कमी भई प्रेसर कम हुने, मिर्गौला फेल हुने, मुटुमा असर गर्ने, ग्लुकोज कम हुने तथा कुनैमा छारेरोग जस्तो शरीर काम्ने पनि हुन्छ । समयमा उपचार हुन नपाएमा केही घण्टामै मृत्युसमेत हुन सक्छ ।

उपचार
झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा १ पुरिया जीवनजल प्रयोग गरी राम्ररी घोल्ने र पटकपटक गरी खुवाउने, प्रशस्तै मात्रामा झोलिलो पदार्थ खाने,स्वास्थ्यकर्मीले दिएको सल्लाह बमोजिम आवश्यकता अनुसार एन्टिबायोटिक तथा जिन्कको प्रयोग गर्ने ।

रोकथामका उपाय
चर्पीमा मात्रै दिसा पिसाब गर्ने, दिसा पिशाब गरेपछि साबुनपानीले मिचिमिची हात धुने, खाना बनाउनु, खुवाउनु, खानुअघि र खाइसकेपछी साबुनपानीले मिचिमिची हात धुने,पानी उमालेर, फिल्टर गरेर वा १ लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने, बासी, सडेगलेको, झिङा भन्केको खानेकुरा नखाने ।

डा विक बाल रोग विशेषज्ञ हुन्

तपाईको प्रतिक्रिया