पोखरा स्पोर्टस् अवार्ड: को बन्ला उत्कृष्ट प्रशिक्षक ?
पोखरा ।
छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ ।
यो अवार्ड विजेताले ३५ हजारका साथमा ट्रफी हात पार्ने छन् । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई थप क्रियाशील बन्न हौसला प्रदान गर्ने उद्देश्यले गरिएको हो । आउँदो शनिबार हुने कार्यक्रममा ७ विधामा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।
निरज थापा (टेनिस)
निरज थापा २३ वर्षअघि काठमाडौंबाट पोखरा आउँदा यहाँ टेनिस खेल्नेको संख्या औंलामा गन्न मिल्ने थियो । ०५९ मा रत्नश्री जिमहलमा उनले टेनिस सिकाउँदा १०/१५ जनाले टेनिस खेल्थे । त्यो पनि भेट्रान्समात्रै । दशकअघि नेपालको शीर्ष वरियतामा रहेका कुमार अधिकारीले निरजसंगबाट टेनिस र्याकेट समात्न सिकेका हुन् । त्यसपछि पोखरा च्याम्पियन खेलाडीहरु महेश्वर तिवारी, अनिल शाही, शक्ति सर्मा लगायतले पनि निरजसँगै टेनिस सिके । महेश्वर अहिले दुबईमा व्यवसायिक रुपमा टेनिस खेल्ने खेलाउने गर्दछन् । अनिल, शक्ति लगायत अहिले पोखरामा प्रशिक्षक छन् ।
निरज थापाले अहिलेसम्म सयौं चेला बनाइसकेका छन् । तीमध्ये अहिले नेपालका शीर्ष वरियता खेलाडी प्रदीप खड्का उनकै चेला हुन् ।
रिजन प्रजु ( क्रिकेट)
क्रिकेट खेलाडी हुँदै प्रशिक्षक बनेका रिजन प्रजुले वर्ष ०७८ मा गण्डकी प्रदेशको महिला क्रिकेट टिम हेरिरहेका छन् । उनकै प्रशिक्षणमा गण्डकीको महिला टोलीले धनगढीमा वाई वाई महिला क्रिकेट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्यो । गण्डकी प्रदेश सरकारले पनि विजयी टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँले सम्मानित गर्यो ।
वर्ष २०७८ मा मलेसियामा भएको एसिया वल्र्ड कप क्वालिफिकेसनमा महिला टोलीले तेस्रो, गैंडाकोटमा भएको मेयर कपमा प्रथम स्थान हाँसिल गरेको थियो । त्यस्तै, पिएम कपमा पनि सहभागिता जनायो । सन् २००६ मा पोखरा आएका रिजन सुरुमा पोखरा टिमबाट क्रिकेट खेल्थे । सन् २००८ देखि उनले गण्डकीको टिमको क्याप्टेनसी गरे । सन् २०१३ बाट उनले महिला टिम सम्हालेका हुन् ।
उनी दृष्टीविहीन महिला क्रिकेट टिमका पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको वल्र्डकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्युजिल्यान्डलाई तथा पाकिस्तानमा अस्टे«लियालाई पराजित गरेको थियो ।
रेकमाया गुरुङ (तेक्वादो, फेन्सिङ)
रेकमाया गुरुङ अहिले भारतको पटियालामा फेन्सिङको प्रशिक्षणमा छिन् । फेन्सिङ संघ नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी रेकमायाले नेताजी सुभाष नेसनल इन्स्टिच्युट अफ स्पोर्टस् ६ हप्ता लामो सर्टिफिकेट कोर्स अफ स्पोर्टस कोचिङमा फेन्सिङ खेलको प्रशिक्षण लिएकी हुन् ।
पोखरा नयाँगाउँकी रेकमायाले तेक्वान्दोका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विभिन्न प्रतियोगितामा पदक जितिसकेकी छन् । उनी राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका रजत पदकधारी खेलाडी पनि हुन् । ५ डान प्राप्त उनले पोखरामा आफ्नै ‘एप्सुलुट डोजाङ’ सञ्चालन गरिरहेकी छन् ।
पछिल्लो समय उनले फेन्सिङ प्रशिक्षणलाई समेत अघि बढाएकी हुन् । फेन्सिङमा प्रथम वीर गणेशमान सिंह फेन्सिङ च्याम्पियन्सिपमा गण्डकी प्रदेशले टिम इभेन्टतर्फ ३ कास्य पदक जितेको थियो । उनकै प्रशिक्षणमा रहेका पोखराका सुबान गुरुङ र मनमाया गुरुङले २०७८ सालमा कोरियन एम्वासडर वल्र्ड तेक्वान्दो च्याम्पियनसिप २०२१ मा पदक जितेका छन् । प्रतियोगितामा सुबानले स्वर्ण तथा मनमायाले कास्य जितेकी हुन् ।
विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले आयोजना गर्ने अवार्ड कार्यक्रममा उत्कृष्ट प्रशिक्षकसहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गरिनेछ ।
अवार्ड कार्यक्रमको थप आर्कषणका रुपमा गायक विनोद बानिया, हाँस्य कलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, मन क्षेत्रीको गजलवाचन तथा दीपक गोदारको संयोजकत्वमा डेमोस्ट्रेसन रहनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।
तपाईको प्रतिक्रिया