उज्यालोको खोजीमा हिडेको एउटा मान्छे

समाधान संवाददाता २०७९ असार १७ गते १२:२८

नेपाली समाज निरंकुश र एकात्मक राजतन्त्रको विरुद्ध आन्दोलित भइरहेको अवस्थामा पोखराको बैदाम क्षेत्रका जनतालाई चेतना भर्न र विद्रोहमा सहभागी गराउन उद्देलित हुँदै थियो । विगतमा लोकतन्त्रको पक्षमा अभियान सृजना गर्नु भएका अग्रजलाई तत्कालीन पञ्चायती व्यवस्था र तिनका लाउकेहरुले दुख दिइरहेका थिए, निर्वासित गराएका थिए । अग्रजहरुको लोकतन्त्र र स्वाधीनताको अभियानबाट युवा जुर्मुराउँदै थिए । विद्रोहको यो राप २०३६/३७ सालको आन्दोलनको रुपमा प्रतिबिम्बित भएको थियो ।

हामी युवा समाजको यथास्थिति र निरंकुशता बदल्न जनतालाई संगठित गर्दै थियौं । यसै क्रममा सामाजिक अभियानलाई गति दिन बैदाममा दसैंको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै जनतालाई न्याय, समानता र स्वतन्त्रताको सन्देश दिने अभियानमा हामीहरु जुट्यौं । हरेक दसैंको पूर्णिमाका दिन तथा तिहारको पाँचै दिन सन्देशमूलक गीत र संगीत बजाउँदै हामी गाउँ गाउँ जाने गथ्यौं । काठमाडौं तथा पोखरामा अध्ययनरत हामी युवा आन्दोलनको राप र तापले जागरुक र क्रियाशील भइरहेका थियौं ।
२०३७ सालको दसैंतिरको समय थियो, सांस्कृतिक कार्यक्रमको निमन्त्रणा तथा प्रचारप्रसार गर्न जाँदै गर्दा बैदाम डिहिकोपाटनमा एउटा नौलो मान्छे देखिए ।

यथास्थिति बदल्न र सुखमय समाज निर्माण गर्न परिवारलाई प्रेरित गरिरहे । छोराछोरीले सामाजिक अभियानको नेतृत्व गरुन् भन्ने उनको अभिलाषा थियो ।
प्राडा भरतराज पहारी

जिउडाल मिलेको, हँसिलो अनुहार, तेल लगाएर कपाल चिटिक्क कोरेको, सफा र मिलेको कपडा लगाएको नयाँ मानिस देख्दा चासो हुने नै भयो । धेरै नबोल्ने तर गम्भीर वेदराज पहारीसँगै थिए । मैले उनलाई सोधे, ‘मैले उहाँलाई त देखेकै थिइनँ, उहाँको हो ?’ वेदराजले मलाई सम्झाउँदै भने, ‘ए तिमीले चिनेनौ ? हाम्रो कान्छाबाका छोरा रामराज दाइ हुन् । करिब १२ वर्ष इन्डिया बस्नु भएको थियो । अहिले त्यहाँको जागिर छाडेर नेपाल फर्कनु भएको छ ।’ मनमा कुरा खेल्यो । अघिल्लो वर्ष राम दाइको घरमा काठमाडौंमा भएको विद्यार्थी आन्दोलनको बारेमा चर्चा गर्दै थियौं । त्यति बेला उनी प्रेमराज काकासहित आएका थिए । हँसिलो र फरासिलो मानिसलाई बिर्सने कुरै थिएन ।

त्यो समय रामराज काकालाई भेटियो र पूर्णिमाको दिन सांस्कृतिक कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरियो । उहाँको हार्दिकता र उत्साही अभिव्यक्ति अहिले पनि सम्झिरहन्छु । यस पछिका दिनहरुमा हामीबीच निरन्तर भेट भइरह्यौ । सामाजिक रुपमा क्रियाशील हुने इच्छा उनमा देखिने गर्दथ्यो । किसान परिवारमा २००३ असार २९ आइतबार पूर्णिमाका दिन जन्मिएका रामराजले सानै उमेरमा आमा गुमाउनु पर्‍यो । किसान परिवारमा खेतिपाती गर्नुपर्ने बुबाले दोस्रो बिहे गर्नु भयो । सानीआमाले उनलाई हुर्काउनु भयो । तिनताका स्कुल थिएनन् । शिक्षा कार्यालयमा कृष्णराज काम गर्नु हुन्थ्यो । उहाँको पहलमा बैदाममा तिनौचुरे पाठशाला खोलिएको थियो । त्यहाँरामराज सहित पाँच, सात जनामात्र विद्यार्थी थिए ।

मेट्रिक पास गरी नर्मल तालिम लिएर गोरखामा पढाइरहेका नुवारथोकका टेकनाथ बराललाई कृष्ण पहारीले बोलाएर यो स्कुलमा हेडसरको जिम्मेवारी दिनु भएको थियो । पछि यसको नाम जनज्योति स्कुल राखियो । समयको क्रममा यसलाई बाराही निमावी नामाकरण गर्दै अहिले तालबाराही उच्च मावि नामाकरण गरिएको छ । प्राथमिक शिक्षा तिनौचुरे पाठशालामा लिनु भएका रामराजले निमावि र मावि टुँडिखेल स्कुलमा पढेका थिए । कलिलो उमेरमा बैदामदेखि टुँडिखेलसम्म हिडेर जानु सजिलो थिएन ।

यसै समयमा २०१५ सालतिर बुबा यदुनाथ नोकरीको सिलसिलामा भारततर्फ जानु भयो । पोखरा बैदामका किसान स्व. पदमपाणि पहारीका कान्छा छोरा स्व. यदुनाथ पहारी, भारतमा स्टेट बैक अफ मैसुरमा चौकिदारी गर्दै करिब १० वर्ष बिताउनु भयो । घर चल्दै थियो, छोरा रामराज स्कुल पढ्दै थिए, छोरी कालिका टुकुरटुकुर हिड्दै थिइन् । किसान परिवारमा यदुनाथको जागिरले सहज बनाएको थियो । समयले साथ दिएन, २०२६ सालमा बिदामा घरमा आएका यदुनाथको अनायास हृदयघातबाट मृत्यु भयो । परिवारमा बज्रपात पर्‍यो । त्यति बेला परिवारका सदस्यलाई जागिर दिने स्टेट बैंक अफ मैसुरको नीति अनुसार १० कक्षा पढेका रामराजलाई रोजगार दिइने भयो ।

२०२७ सालमा रामराजको दैनिकी बदलियो, खेतीकिसान र घरगृहस्थीमा रमाएका रामराज भारतमा बैंकको क्लर्कको काम गर्न पुगे । बुबाको मृत्युको पीडा सानीआमाले सहन सक्नु भएन, सानी बहिनीलाई लिएर स्याङ्जा माइती बस्न थाल्नु भयो ।
२००७ सालपछि देशले कोल्टे फेर्दै थियो । जहानिया शासनको कालो युग सकिएको थियो । विद्रोहका झिल्का निभिसकेका थिएनन् । समाजले लय लिँदै थियो । स्कुलहरु स्थापना हुँदै थिए । उत्साही युवा विकल्पको खोजी गर्दै थिए । समाजलाई सुन्दर बनाउनुपर्छ भन्दै थिए । गाउँका बुज्रुकहरु लोकतन्त्रको पक्षमा देखिएका थिए । यही अवस्थामा एउटा युवक बैदामको तिनौचुरे स्कुलमा हेडसर भएर आइपुगे ।

उनले आफ्ना विद्यार्थीलाई सुन्दर समाजको सपना देखाउन थाले । असल आदर्श र नैतिकताको पाठ सिकाउन थाले । जीवनप्रति आशा भर्न थाले । विद्यार्थीमा उत्साह र जाँगर भर्दै गए । रामराजको प्रारम्भिक शिक्षा यहाँबाट भयो । कलिलो मस्तिष्कमा यसले गहिरो प्रभाव पर्‍यो । मान्छेको व्यवहार सरल, मित्रवत र न्यायपूर्ण हुनु गर्छ भन्ने कुरा अमिट छापको रुपमा रह्यो । रामराजको बालापन फेरिँदै थियो । उनी किशोरावस्थामा जाँदै थिए, जिज्ञासाहरु बढ्दै थिए, जीवन रंगीन हुँदै थियो । प्राथमिक शिक्षा सकेपछि नजिकै स्कुल थिएनन् । माध्यमिक शिक्षाका लागि टुँडिखेल स्कुल जानुपर्ने भयो । करिब एक घण्टाको दुरी हरेक दिन दुई पटक हिड्नुपर्ने भयो । रामराज, हेमराज र श्रीराम बैदामदेखि यो दूरी पार गर्दै टुँडिखेल स्कुलमा पढ्न थाले । त्यहीबाट रामराजले १० कक्षा पास गरे ।

टुँडिखेल स्कूलमा पढ्दै गर्दा निकै कष्ट झेल्नु पर्‍यो । किताबहरु भरिएको गरुंगो झोला बोकेर करिब ५ किमी हिड्नु सजिलो थिएन । साँझ घर फर्कदा भोक र थकाइले उभिन नसकिने हुन्थ्यो । घरमा पुगेर भुटेको मकै र मोही खाएपछि मात्र जिउमा बल आउथ्यो । बैदामको साँघुरो डहर हुँदै बुलौदी खोलाको ओरालो र बाद्यढुंगा भएको उकालो बिर्सन नसकिने बाटो थियो । यतिवेला पूर्वको घाम सिधै निधारमा ठोक्किएर पसिना आउदा भने दिक्क लाग्थ्यो । त्यहाँबाट मालेपाटन हुँदै पर्याङको बाटो रामकृष्ण टोल भएर बजारैबजार विन्दवासिनी हुँदै बगर भएर टुँडिखेल पुग्नु पर्दथ्यो । बजारको बाटो हिड्दा हिडेको थाहै हुँदैनथ्यो ।

बेलुका फर्कदा भोक र थकाइले लखतरान भएको अवस्थामा गणेश टोलमा सजाएर राखेका सेलरोटी र खिउनी हेर्दै हिड्नुको पीडा बताइनसक्नु थियो । गोजीमा पैसा हुदैनथ्यो, हेरेर मुख मिठ्याउनुबाहेक केही उपाय थिएन । यस्तो अवस्था थियो रामराजको । कष्टपूर्ण ५ वर्ष बिते । स्कुलको पढाइ सकियो, १० कक्षाको टेस्ट परीक्षा सकियो । मेट्रिक दिने अनुकूलता भएन ।
स्कुल पढ्दै गर्दा बुबा भारत गइसक्नु भएको थियो । खर्चपर्चको जोहो भने हुने गरेको थियो । सानीआमा पनि बुबासँगै जानु भयो । रामराजको काँधमा घरगृहस्थीको काम आईलाग्यो । किशोरावस्थामा स्कुल पढ्दा प्रेम अंकुरण भएको थियो । स्कुल पढ्न जाँदै गर्दा किशोर अवस्थामा मन चञ्चल हुनु स्वभाविक थियो । पर्याङको बाटो स्कुल जादै गर्दा रामराजको आँखा गुमा अधिकारीमाथि पर्ने गरेको थियो । दुबैले आँखाको भाषा पढे, एकापसमा भेटघाट हुन थाल्यो । उनीहरु बिहे गर्ने तहसम्म पुगे । तर, दुइ परिवारको बीचमा सहमति हुन सकेन ।

प्रेमको भाषा परिवारले बुझेनन्, उनीहरु आआफ्ना अडानमा अडिए । तनाव बढ्दै जाँदा २०२४ माघ ३ गते रामराजको बिहे भलाममा गर्ने निधो गरियो । प्रेमिल जोडीको आँखामा आँसु बगिरह्यो, उनीहरुका कुरा कसैले सुनेनन् । जन्तीसहित रामराज लुरुलुरु भलाम पुगे, विवाह मण्डपमा बसे । अग्नि साक्षी राखी जमुना पौडेलसँग लगनगाँठोमा बाँधिए । जन्ती भलामबाट बेहुली लिएर तेर्सापट्टी, रामकृष्णटोल हुँदै पर्याङको बाटो आउँदै थियो । रामराज र गुमाको धुकधुकी बढ्न थाल्यो । परिवारले गुमालाई घरमा थुनेर राखेका थिए । विहे गरी रामराज फर्कदै गरेको सुनेपछि गुमाको धैर्य रहेन, होस हराउन थाल्यो । जन्ती नजिक आउँदै गर्दा वेदना बढ्न थाल्यो । छोरीको दयनीय अवस्थाबाट परिवार बेखबर थिएन, परिवारका सदस्यको मन पग्लन थाल्यो । पर्याङमा जन्ती आइपुगे । घर अगाडिको चौतारीमा अधिकारी परिवार जम्मा भएर बसेका थिए । अब के हुने हो भन्ने त्रास जन्तीमा पनि भयो ।

अनायास गुमा झम्टेर आइन् र बेहुला रामराजलाई कसेर अंगालो हालिन् । वातावरण सनन्न भयो । रामराजले आफूले लगाएको माला लगाइदिए, सिउँदोमा सिन्दूर राखिदिए । अधिकारी परिवारको हठ पग्लियो । डोलीमा बसेकी जमुना पौडेलको मन के भयो होला, कसैले ध्यान दिएनन् । उनी आँसु झारिरहिन् । उनीमाथि बज्रपात भएको थियो । एकै दिन एउटै जन्ती लिएर गएका रामराजले फर्कदा २ बेहुली लिएर आएका थिए । गाउँ, टोल, मेलापा भरी यो कुरा धेरै दिनसम्म चर्चाको विषय बनिरह्यो ।
रंगीन शैलीका रामराज २ श्रीमतीलाई खुसी बनाएर आफ्नो गृहस्थी चलाइरहेका थिए । दिनभरी खेतीपातीमा तिनै जना व्यस्त रहन्थे । साँझतिर मन मिल्ने साथीसँग गफिन्थे । गाउँका फटाहाका कारनामाबारे चर्चा हुन्थ्यो । राजा र पञ्चहरुको जगजगी भएकाले खुलेर राजनीतिको बारेमा कोही बोल्दैनथे । आफ्ना गुरु टेकनाथ बराललाई पञ्चहरुले मुद्दा लगाएर स्कुल छोड्न बाध्य बनाएका थिए । उहाँ बनारस गइसक्नु भएको थियो । तथापि रमेश भट्टराई, गणेश कोइराला, प्रेमराज पहारी लगायतका साथीहरुसँग उहाँको भेटघाट भइरहन्थ्यो । सुखदुःखका कुराहरु भइरहन्थे ।

२०२६ सालतिर दुबै श्रीमतीतर्फ छोरा हेमन्त र छोरी हेमा जन्मिसकेका थिए । त्यही साल बुबा यदुनाथ मद्रासबाट आउनु भएको थियो । सानीआमा र बहिनी कालिका पनि सँगै थिए । अनायास बुबालाई हृदयघात भयो । तिनताका टुँडिखेलमा मात्र मिम अस्पताल थियो, बोकेर लैजादै गर्दा पर्याङ पुग्दा नपुग्दै उहाँको प्राणपखेरु उड्यो । एउटा लयमा हिडिरहेको परिवारमा ठूलो बज्रपात प¥यो । पीडाका दिन बित्दै थिए । मद्रासबाट आफन्तले खबर गरे–बुबाले काम गरिरहेको बैंकले कार्यरत कर्मचारीको मृत्यु भएमा परिवारको एक सदस्यलाई रोजगारी दिने व्यवस्था रहेको र सोही अनुसार निवेदन दिएको बताए । सोही व्यवस्था अनुसार २०२७ सालमा स्टेक बैंक अफ मैसुरले रामराजलाई क्लर्क (कार्यालय सहयोगी)का रुपमा मद्रास शाखामा जागिर दियो । जिन्दगीले नयाँ मोड लियो ।

खेतीकिसान गरिरहेको रामराज अब कर्मचारी भइसकेका थिए । कार्यालयको एउटा नियमित दिनचर्यामा उनको जीवन बदलिएको थियो । जागिर सुरु गरेको करिब ८/९ महिनामा रामराज पोखरा फर्के । उनी गुमालाई लिएर मद्रास गए । ०२८ सालमा छोरा जनक मद्रासमा जन्मिए । मद्रासमा रहदा उनले भाइहरु–पिताम्बर र छविराजलाई समेत लगेका थिए । उनीहरु केही समय त्यतै काम गरे, तर रमाउन सकेनन् र नेपाल फर्किए । भारतमा रहँदा उनी खुसी हुन सकेनन् । एक परिवार पोखरामा नै थिए भने अर्को परिवार आफूसँगै भारतमा थिए । के गर्ने, के नगर्ने द्विविधामा थिए । यसैबीच ०३१ सालमा बैंकले रामराजलाई कलकत्ता शाखामा सरुवा ग¥यो । उनी नेपाल आए । जेठी श्रीमती जमुनालाई लिएर कलकत्ता गए । ०३३ सालमा कलकत्तामा कान्छा छोरा राजीवको जन्म भयो । केही वर्ष बिते । २०३६ सालमा कलकत्तामा आफ्ना गुरु टेकनाथ बरालसँग भेट भयो । पञ्चहरुले उहाँलाई वारेन्ट काटेका थिए, टाउकोको मूल्य तोकेका थिए, नेपालमा बस्न सम्भव थिएन, भारतमा निर्बासनमा बस्नु परेको थियो ।

भारतको बनारसदेखि आसामसम्म नेपाल कम्युनिस्ट पार्टीको काममा लाग्नु भएको थियो उहाँ । त्यसै क्रममा टेकनाथ बराल कलकत्ता आउनु भएको र २ दिन रामराजको डेरामा बस्नु भएको थियो । सो बसाइमा उहाँहरुबीच सामाजिक विषयमा धेरै कुरा भए । रामराज भारतको बसाइमा खुसी देखिँदैनथे । उनले आफ्नै गाउँ ठाउँमा बसेर दुःखसुखको जीवन बाच्ने कुरा गरेका थिए । अन्ततः ०३७ सालमा रामराज पोखरा फर्किए । उनी केही बिसन्चो देखिन्थे, भारतको बैंकको जागिर छाडेर फर्केका थिए ।
०३७ सालतिर नेपाली समाज बदलिँदै थियो । घर आइसकेपछि खेतिकिसान त छँदै थियो, रामराजले रोजगारीको कुनै काम गर्न अवसर खोज्दै थिए । साथीहरु निर्माण व्यवसायमा लागेको देखे । रमेश भट्टराईसँगै केही वर्ष ठेक्कापट्टामा संलग्न रहे । ठेक्कापट्टामा रहँदा उनी खुसि हुन सकेनन् । त्यहाँको रंगीन व्यवहारमा उनी भिज्न सकेनन् ।

उनी सामाजिक काममा संलग्न हुन थाले । बैदामका युवाले सामाजिक जागरणका लागि प्रभात युवा क्लब स्थापना गरेका थिए । रामराज त्यसको संस्थापक सदस्य बने । वडामा हुने विभिन्न सामाजिक काममा उनी संलग्न हुन थाले । उनको सामाजिक भूमिका र लोकप्रियतालाई ध्यान दिएर उनलाई ०४२ सालमा पोखरा नगरपालिकाको वडा नं ६ को जनपक्षीय सदस्यको उम्मेदवार बनाइयो र लोकप्रिय मतका साथ उनी विजयी भए । । वडामा रहेर रामराजले बिताएका ५ वर्ष राजनीतिक, सामाजिक तथा विकास विकासका हिसाबले सन्तोषजनक रहे । उनको सक्रियता र जागरुकता उदाहरणीय थियो ।

भारतबाट आएपछि सामाजिक कामहरुमा रामराजको चासो बढिरहेको थियो । बामपन्थी राजनीति भुसको आगो जस्तै फैलिइरहेको थियो । खासगरी नेकपा मालेका गतिविधि बढिरहेका थिए । पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको भूमिका जबर्जस्त बढिरहेको थियो । युवाले हरेक घरमा पुगेर राजनीतिक चेतना भर्दै थिए । गीत र संगीतबाट जनतालाई आकर्षण गर्दै थिए । नजिकबाट नियालिरहेका रामराज यी सबै घटनाबाट अछुतो थिएनन् । उनी पार्टीको सम्पर्कमा रहन थाले । नियमित मिटिङ, भेला र प्रशिक्षणमा सामेल हुन थाले । २०४३ पछि रामराजको घर नेकपा मालेको सम्पर्कस्थल तथा सेल्टरको रुपमा रहन थाल्यो । वास्तवमा २०४३ सालको जनपक्षीय चुनावमा बैदामको केन्द्रको रुपमा यो घरलाई बनाइएको थियो ।

२०४६ सालको जनआन्दोलन अविष्मरणीय थियो । रामराज एक महिना जति जेल पर्नु भयो । शान्तिपूर्ण जुलुस भइरहेको थियो । प्रहरी दमन भयो, धेरै जनालाई प्रहरी खोरमा राखियो । २०४७ सालमा पार्टीको सदस्यता लिए र वडा कमिटीमा संगठित भएका थिए । २०५५ देखि २०५६ सम्म वडा कमिटीको सचिव भएर पार्टी हाकेका थिए । वडा सदस्य भएका बेला तालबाराही स्कुलको सञ्चालक समितिको सदस्य भएर स्कुलको विकासमा विशेष योगदान दिएका थिए । पछिल्लो समयमा पहारी कुल संरक्षण समितिको अध्यक्ष भएर उनले २ कार्यकाल २०६५ देखि २०७५ सम्म काम गरे । यो समय पहारी कुलको संरक्षण र प्रचारमा विशेष स्मरणीय रह्यो ।

जीवन भोगाइको सिलसिला हो । उनले बाल्यावस्थामा आमा गुमाएको पीडा र किशोर अवस्थामा बुबाको मृत्युलाई सहेर अगाडि बढ्नु साहसको कुरा थियो । जटिल सामाजिक जीवन बिताउने कुरा सहज थिएन । रामराजले २ परिवारलाई सन्तुलितरुपमा अगाडि बढाए र सम्पूर्ण परिवार निर्माण गरे । समाजको यथास्थिति बदल्ने र सुखमय समाज निर्माण गर्न परिवारलाई प्रेरित गरिरहे । छोराछोरीले सामाजिक अभियानको नेतृत्व गरुन् भन्ने उनको अभिलाषा स्मरणीय थियो । पछिल्लो समय कान्छा छोरा राजीवले राजनीतिक नेतृत्वमा रहेर सांसदको भूमिका निर्वाह गर्दै समाजलाई योगदान गरिरहेको कुराबाट उनले सन्तोष लिएको देखिन्थ्यो । जीवनका आखिरी दिनमा रामराजलाई स्वास्थले साथ दिएन । उनलाई विभिन्न रोगले गलाए । अन्ततः २०७९ असार ५ गते रामराज हामीबीच रहेनन् ।

उज्यालोको खोजीमा हिडिरहेका रामराजको अवसान भएको छ । उनीप्रति हार्दिक श्रद्धाञ्जली !
उनका भोगाइले बाच्नेहरुलाई प्रेरणा दिइरहून् !

तपाईको प्रतिक्रिया