लोमान्थाङ – कोरला सडक एक हप्ता बन्द हुँने

सुन्दरकुमार थकाली २०७९ असार १७ गते १७:५९

जोमसोम–
उपल्लो मुस्ताङको लोमान्थाङ हुँदै कोरला सडक एक हप्ताका लागि सडक आवागमन बन्द गरिने भएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी स्थित घमी खोलाको अस्थायी काठे मोटरेबल पुल मर्मत कार्यका लागि घमी देखि चराङ ,लोमान्थाङ र कोरला पहुँचमार्ग सडक असार २० गतेदेखि असार २७ गतेसम्म एक हप्ताका लागि पूर्व रुपमा बन्द गरिएको लोघेकर दामोदरकुुण्ड गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले लोघेकर दामोदरकुण्ड–२ घमी स्थित घमी खोलामा अवस्थित अस्थायी काठे पुल जीर्ण भएको र जीर्ण पुलबाट सवारी साधन आवत÷जावत गर्दा जोखिम हुने भएकाले मर्मतका लागि सडक बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले शुक्रबार एक सूचना प्रकाशित गरी सडक आवागमन पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो ।
यस्तै,जिल्ला प्रशासन कार्यालयले पनि शुक्रबार एक सूचना प्रकाशित गरी घमी खोलामा अवस्थित अस्थायी काठे जीर्ण पुल मर्मत गर्नु पर्ने भएको र खोलाबाट हलुका सवारी आउजाउ गर्न मुश्किल पर्ने भएकाले पुल मर्मत कार्य अवधिभर चराङ,लोमान्थाङ र कोरला सडक अवरुद्ध हुने जनाएको छ ।

यस्तै, राष्ट्रिय गौरवको जोमसोम–कोरला ११० किमी सडक अन्तर्गत घमी खोलामा पक्की पुल निर्माणको योजना परेपनि निर्माण कम्पनीको वेवास्ताका कारण घमी खोलामा निर्माणधिन पुल अलपत्र परेको छ । २०७५ साल पुस १६ गते ६ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर ईमोटल कन्ट्रक्सनले पुल बनाउने जिम्मा लिएको भएपनि पुलको ४० प्रतिशत भौतिक प्रगती हुँदा पुलको बाँकी काम अघि बढ्न सकेको छैन ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणधिन घमी खोला पक्की पुलको लम्बाई ४० मिटर र फुटपाथ र सडकमार्ग गरी ११ मिटर चौडा हुनेछ । निर्माण कम्पनीले पुल बनाउन ढिलासुस्ती गरेपछि आयोजनाले निर्माण कम्पनीसंग ७० लाख ५० हजार ठेक्का मोबिलाईजेसन वापत लिएको रकम फिर्ता लिईसकेको छ ।

घमी खोला पुलको सम्झौता अवधि ३ वर्ष रहेको र सम्झौता अनुसार उक्त पुल गतवर्षको असारमा सम्पन्न हुनु पर्ने थियो । तर घमी खोला पुल निर्माणमा ढिला सुस्ती हुँदा बर्खायाममा सवारी साधनलाई आउजाउ गर्न असहज परेको हो ।

Advertisement

घमी खोलामा निर्माणधिन पक्की पुल निर्माणमा ढिलाई भएपछि लोघेकर दामोदरकुण्ड गाउँपालिका आफैले खर्च व्यवहोर्ने गरी जीर्ण पुल मर्मत गर्न पहल गरेको प्रमुख प्रशासकीय अधिकृत प्रकास घिमिरेले जानकारी दिए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया