पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७ वर्षपछि नयाँ सिटी स्क्यान मेसिन आउँदै

रिखिराम जिसी २०७९ असार १८ गते १०:३५


रिखिराम जिसी
पोखरा ।

सिटी स्क्यान सेवा बन्द भएको ७ वर्षपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नयाँ मेसिन आउने भएको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालमा आउने बिरामी सिटी स्क्यान गर्न अस्पतालबाहिर जानुपर्ने अवस्था छ ।

Advertisement

आगामी असार मसान्तसम्म सिटी स्क्यान मेसिन अस्पतालमा आइपुग्ने अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए । ‘मेसिन नेदरल्यान्डबाट खरिद गरी वीरगञ्ज नाकामा आइपुगेको छ, नेपाल भिœयाउदा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘असार मसान्त नभए साउन पहिलो हप्तासम्म मेसिन अस्पतालमा आइपुग्छ ।’

मेसिन खरिदका लागि अस्पतालले फिलिक्स कम्पनीसँग ७ करोड सम्झौता गरेको छ । कम्पनीले अघिल्लो असारमै मेसिन खरिद गरे पनि आयातमा समस्या हुँदा मेसिन ल्याउन ढिलाइ भएको प्रमुख खत्रीको दाबी छ । ‘७ वर्षअघि मेसिन बिग्रियो, पछि त्यही बन्छ कि भन्ने क्रममा २÷३ वर्ष गयो । बन्दैन भनी टेक्निकल टिमबाट भेरिफाइ हुनुपर्‍याे ,’ उनले भने, ‘नयाँ किन्ने स्वीकृति भईसकेपछि बजेट प्रक्रिया अगाडि बढ्यो ।’ बजेट प्राप्त भएपछि खरिद प्रक्रिया थालेको उनले सुनाए ।

मेसिन जडानका लागि अस्पतालमा सबै तयारी भएको उनले बताए । ‘हाम्रो तर्फबाट गर्ने काम सबै पूरा गरेका छौँ । बत्ति तयार छ, कोठा तयार छ,’ उनले भने, ‘अब प्राविधिकले मेसिन लिएर कति छिटो जोडिदिनुहुन्छ भन्नेमा सेवा सञ्चालन निर्भर हुन्छ ।’

मेसिन नेदरल्यान्डबाट नेपालको सिमामा आउन १ वर्ष लागेको छ । अझै अस्पतालमा आइसकेको छैन । ‘सम्झौता अनुसार कम्पनीको समयसीमा सकिइसक्यो तर अझै मेसिन आइपुगेको छैन,’ उनले भने, ‘दिनको ३५ हजारको दरले कम्पनीलाई जरिवाना लगाउने गरी पत्र काटेका छौँ ।’

Advertisement

यो मेसिनमा ५ वर्षे वारेन्टी हुने सम्झौता छ । ‘मेसिन सस्तो र विना वारेन्टीको किन्दा बिग्रिइरहने समस्या भयो,’ उनले भने, ‘अहिले खरिद गरिएको मेसिन ५ वर्षसम्म बिग्रिँदा कम्पनीले जिम्मा लिन्छ, मर्मत गरिदिन्छ ।’

अहिले अस्पताल आउने स्वास्थ्य बिमा गरेका बिरामीको सिटी स्क्यान गर्नुपर्दा निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरिएकोे छ । ‘बिमा गरेका बिरामीलाई गण्डकी र मणिपालमा पठाउछौँ । कोही आफूखुसी अरु अस्पताल पुगेर सिटी स्क्यान गरेर ल्याउनुहुन्छ,’ उनले भने ।

अस्पतालमा एमआरआइ सेवा सञ्चालनमा रहेकाले एमआरआइ गर्न मिल्ने बिरामीको एमआरआइ गर्ने गरिएको छ । प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा दैनिक सयौँ बिरामी निजी अस्पतालमा जान वाध्य छन् । बाहिरका अस्पतालमा महंगो शुल्क तिरेर सिटीस्क्यान गरी बिरामी फर्कन वाध्य छन् ।

८ वर्षअघि ७० लाख लागतमा अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरिएको थियो । जुन मेसिन १ वर्षपछि नै बिग्रिएको थियो । पौने करोड खर्चेर किनिएको मेसिन १ वर्ष नहुँदै बिग्रिनु र बारम्बार बनाउँदासमेत काम नगर्नुमा आर्थिक चलखेल भएको स्रोत बताउँछ । क्षेत्रीय अस्पतालमै कार्यरत चिकित्सकको बाहिरका अस्पतालमा लगानी रहेको र कमिसनसमेत पाउने लोभमा उनीहरुले विभिन्न परीक्षणका लागि बिरामीलाई बाहिर पठाउने गरेको कतिपयको गुनासो छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया