अरुणा र प्रदीप बने वर्ष उत्कृष्ट खेलाडी

समाधान संवाददाता २०७९ असार १९ गते १०:०६

पोखरा ।
भलिबल खेलाडी अरुणा शाही र टेनिस खेलाडी प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार आयोजना गरेको छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८ मा उनीहरु सर्वाेत्कृष्ट बनेका हुन् ।

अरुणा दोस्रो पटक सर्वाेत्कृष्ट वर्ष खेलाडी बनेकी हुन् । यो अवार्ड उनले २०७३ मा पनि जितेकी थिइन् । विजेता दुवैले उपाधिसहित स्कुटर, अवार्ड, सम्मानपत्र प्राप्त गरेका छन् । प्रदीप पाँचौ संस्करणमा समेत उदीयमान खेलाडी विधामा मनोनीत बनेका थिए ।

उदीयमान खेलाडी विधामा टेनिसकै दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षकमा नीरज थापा घोषित भएका छन् । दर्शिल र निरजले अवार्डसहित ३५ हजार रुपैयाँ हात पारेका छन् । खेल, खेलाडी, खेल संस्था एवं पत्रकारको समग्र सम्मानको निम्ति मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डमा यसपालि टेनिसले उपाधिमा वर्चश्व जमाएको छ ।

Advertisement

उदीयमान र प्रशिक्षक विधामा पनि उत्कृष्ट ३ मनोनयनको सूची यसअघि नै सार्वजनिक भएकोमा छनोट समितिले तीमध्ये १ जनालाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । वर्ष खेलाडी महिलामा क्रिकेटकी मनीषा उपाध्याय र करातेकी सरगम कुमाल मनोनीत थिए । पुरुषतर्फ करातेका बुद्ध लामा र ब्यान्डमिन्टका विधान अधिकारी मनोनयनमा थिए । उदीयमानमा दर्शिलसहित बक्सिङका साहिल लिम्बु र क्रिकेटकी सृष्टि जैसी तथा प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु र तेक्वान्दो÷फेन्सिङकी रेकमाया गुरुङ सूचीमा थिए ।

वर्ष उत्कृष्ट खेल संघ अवार्डबाट यसपालि गण्डकी प्रदेश तेक्वान्दो संघ सम्मानित भएको छ । वर्ष उत्कृष्ट खेल पत्रकारमा कान्तिपुरका दीपक परियार सम्मानित भए । उनीहरुले पनि अवार्डसहित ३५ हजार रुपैयाँ पाएका छन् ।

Advertisement

लाइफ टाइम अभिचमेन्ट अवार्डबाट बक्सिङका पूर्व खेलाडी गणेशबहादुर भट्टराई सम्मानित बने । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरियो ।

खेलाडी छनोट समितिमा विनोद लामिछाने, सन्देश श्रेष्ठ र विजय नेपाल थिए भने पत्रकार छनोटमा त्रिभुवन पौडेल, बिमला भण्डारी र सन्देश श्रेष्ठ एवं मञ्च अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल पदेनसदस्य थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, प्रदेशससभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सांसद मीना गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङ लगायतले उत्कृष्ट खेलाडी, पत्रकार लगायतलाई अवार्ड हस्तान्तरण गरे ।

उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा गायक विनोद बाँनिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, गजलवाचन र डेमोस्ट्रेसनसमेत देखाइयो ।

तपाईको प्रतिक्रिया