ह्विलचियरबाट स्विङ

सञ्जय रानाभाट २०७९ असार १९ गते १०:१२

सञ्जय रानाभाट
पोखरा ।

जीवनको परिभाषा मान्छेपिच्छे फरक हुन्छ । हरेक मान्छेका आआफ्नै भोगाइ हुन्छ । जसले जस्तो भोग्छ, त्यस्तै ठान्छ जिन्दगी । सुख–दुःख पनि आ–आफ्ना छन् । साथीभाइको साथ, आफन्तको माया, आशीर्वाद, सद्भाव र आत्मीयता आफूले गरेका संघर्ष, सबैका छुटाछुटै हुन्छन् । तब न जिन्दगीको मजा छ ।

जिन्दगीलाई पटक पटक दाउमा राख्दै आएका सुरेश गौलीको कथा पनि यस्तै छ । शारीरिक रुपले अशक्त उनको आधा हर चल्दैन । कम्मरभन्दा तलको भागले उनलाई साथ दिँदैन । यताउता गर्न ह्विलचेयरको सहायता लिनुपर्छ । थोरै यताउता सर्न पनि ह्विलचेयरको साथ चाहिने सुरेशले प्रेरणादायी काम गरेका छन् ।

उनले ह्विलचेयरबाट स्विङ गरे । पर्वतको कुश्मामा रहेको विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी द क्लिफ पुगेर उनले साहसिक खेल स्विङ सफलताका साथ गरे । बागलुङ–पर्वत जोड्ने पुलमाथि बनेको विश्वकै दोस्रो लामो द क्लिफ पुगेर गौली साहसिक खेलमा सरिक भएका हुन् । शारीरिक रुपमा अशक्त भए पनि ह्विलचेयरबाट स्विङ आफू पहिलो नेपाली भएको उनको दाबी छ । आधा हर पक्षघात हुँदा पनि स्विङ गर्ने आफू विश्वमै समेत पहिलो उनको जिकिर छ ।

Advertisement

‘वर्षैैंदेखिको सपना पूरा भयो,’ गौलीले भने । सहासिक खेलमा भाग लिने आफ्नो सोख भए पनि हाम फाल्ने मोडमा डर लागेको उनी बताउँछन् । ‘घरबाट बज्जी गर्ने भनेर गएको थिएँ । एक किसिमको उत्साह थियो । तर, त्यहाँ पुगेपछि थाहा भयो बज्जी गर्न नमिल्ने रैछ । यसपछि स्वीङ गरेँ । सुरुमा त एकदमै डर लाग्यो,’ उनले भने, ‘रेडी पोजिसनमा पुग्दा त सक्दिनँ कि जस्तो पनि भयो । ‘द क्लिफ’का दाइहरुले सक्छौं भनेर हौसला थपिदिनुभयो । एक छिनको डर थेगेपछि वर्षैैैंदेखिको इच्छा पूरा भयोे ।’

द क्लिप पुगेका सबै खेल्न आतुर देखेपनि गौली नर्भस बने । ‘म त्यहाँ पुग्दा केहीले बन्जी गरिरहेका थिए । बन्जी गर्नेलाई हौसला दिनका लागि उनीहरूका साथीहरू चिच्याइरहेका थिए । अरूले गरेको हेर्दा म थप उत्साहित र रोमाञ्चित बनेको थिएँ,’ गौली सुनाउँछन्, ‘मनभरि अनेकौं प्रश्न भरिएका थिए । के हुने हो ? हाम फाल्न सकिएला कि नसकिएला ? डोरी कस्तो होला ? मैले नै हाम फालेको बेला डोरी चुडियो भने ?

Advertisement

भिडिओ र फोटो हेरे पनि, खेलमा आफू हर किसिमले सुरक्षित छु भन्ने थाहा हुँदाहुँदै पनि त्यहाँ पुगेपछि होसहवास उडेको उनको प्रतिक्रिया छ । बन्जी मास्टरले ‘आर यु रेडी भनेर थ्री, टु, वान, भनेपछि डाइरेक्ट आफू तल पुगेको उनले सुनाए । ‘अत्यधिक डर र अत्यधिक आनन्द एकैपल्ट महसुस गरेँ । बोली नै निस्किएको थिएन । माथि आएपछि सबैले ‘यु डिड इट’ भन्दै धाप मारे । आफूलाई पनि युद्ध जितेर आएजस्तो अनुभव भयो,’ उनले भने ।

स्विङमा भने बन्जीको जस्तो टाउको तल, खुट्टामाथि नभएर पिङ जस्तो पोजिसन हुन्छ । ‘स्विङ गरिसकेपछि बन्जीको जस्तो डोरीले माथी पनि नतान्दो रहेछ,’ उनले भने, ‘तल झरेर उकालो उक्लदै माथि आउनुपर्ने रहेछ । एकैचोटि तल पुग्दा त त्यहाँका ठूल्ठूला ढुंगामा ठोकिन्छ कि जस्तो नि लाग्यो ।’

पर्वतको कुश्मामा रहेको द क्लिफले विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी भएको दाबी गर्दै आएको छ । कालीगण्डकी नदीमाथि ५ सय २५ मिटर लामो झोलुंगे पुलको बीचमा बन्जी र स्विङका लागि जम्प गर्ने ठाउँ छ । ‘केही नयाँ गर्न मनपर्छ । अरुले नगरेको गर्न एकदम आतुर हुन्छु । स्विङ गर्ने पनि वर्षाैंदेखिको प्लान हो । बीचमा केही न केही मिलिरहेको थिएन,’ उनले भने, ‘घरबाट बज्जी गर्न निस्केको थिए । तर, त्यहाँ पुगेपछि थाहा भयो, पक्षघाट भएकाले बज्जी गर्न नमिल्दो रैछ । यसपछि स्विङ गर्ने निधो गरेँ ।’

सहासिक खेलमा सहभागी भएपछि गौलीको मुहारमा छचल्किरहेको खुसी देखिन्छ । तलपट्टि कहालीलाग्दो भीर, खोँचमा सुस्ताउँदै गरेको कालिगण्डकी नदी । नदीमाथि बनेको आधुनिक प्रविधियुक्त बन्जी र स्विङ । त्यही जोखिमको मज्जा लिने उनको मन थियो । पोखराबाट पर्वतसम्म गौली मोपेड चलाएर एक्लै पुगेका थिए । ‘नयाँ गर्दा आफूलाई पनि आनन्द मिल्छ,’ उनले भने ।

यसअघि नै पोखराको सराङकोटबाट प्याराग्लाइडिङ र त्रिशूली नदीमा उनले र्‍याफ्टिङ गरिसकेका छन् । शरीरले साथ दिए अरु थुप्रै साहसिक खेलमा सहभागी हुने गौलीको धोको छ ।

विश्वमै लामो भनिएको कुस्माको स्विङमा आम मानिससरह गौलीले आनन्द लिए । एडभेन्चर गर्न मनपराउने गौली ह्विलचियरमार्फत स्विङ गर्ने आफू विश्वमै पहिलो व्यक्ति भएको दाबी गर्छन् ।

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन

गीतकार दिनेश अधिकारीका यी शब्द धेरैको जीवनमा मेल खान्छन् । आफूले भने जस्तो नहुँदा धेरैले तारादेवीको स्वरमा रहेको यो गीत गुन्गुनाउँछन् । तारादेवीको स्वरले सुरेश गौलीको पीडा पनि बोल्छ । हलचल गर्न ह्विलचियरको सहायता लिनुपर्छ । पक्षघातलाई चुनौती दिँदै उनले स्विङ गरे । जोखिमलाई सोखमा बदल्दा निकै आनन्द आएको उनी सुनाउँछन् ।

लमजुङका सुरेश जन्मिँदा आम मान्छे जस्तै तन्दुरुस्त थिए । दौतरीसँगै खेल्दै, रमाउँदै उनको बालापन चल्दै थियो । १० वर्षको हुँदा उनको जीवनमा ‘आँधी’ आयो । रुखमा चढेका उनी एक्कासि खसे । धन्न ज्यान जोगियो, ढाडभन्दा तलको भाग भने नचल्ने भयो ।

त्यसयता उनी शारीरिक रुपमा कमजोर बने । पढ्ने, खेल्ने उम्मेरमा उनले भोगेका किस्साका छुट्टै फेहरिस्त छन् । विद्यालय पढ्दा अपांग मैत्री शौचालय नहुँदाका अप्ठेरादेखि बाटोमा भोग्नु परेका अनेक कथा र उपकथा उनीसँग छन् । तर, पनि गौली सधैें मनोबल उच्च बनाएर अघि बढिरहका छन् । विभिन्न किसिमका ह्विलचियर दौडमा उनी ७ पटक प्रथम भइसकेका छन् । । उनी पोखरा सफल म्याराथनमा ६ पटकसम्म प्रथम बनेका छन् ।

२८ वर्षअघि जन्मेका सुरेशको घरमा आमाबुबा र २ भाइ छन् । पोखरालाई कर्मथलो बनाएका उनी अपांगको हक, अधिकारको पक्षमा उभिने दरो खम्बासमेत हुन् । उनी अपांगता भएकासँग अनुभव बाड्छन्, हौसला भर्छन् । केही नयाँ काम गर्न उत्प्रेरणा दिन्छन् ।

सानै उमेरमा अपांग हुन पुगेको गौली सुरुमा जीवनलाई लयमा ल्याउन रिहाब सेन्टर पुगेको बताउँछन् । त्यही रिहाब सेन्टरमा अहिले जागिरे जीवनमा छन् उनी ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया