दुर्घटना न्यूनीकरणका लागि यातायात मजदूरलाई प्रशिक्षण

समाधान संवाददाता २०७९ असार १९ गते १०:४१

पोखरा ।
सवारी (सडक) दुर्घटना न्यूनीकरणकालागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय पोखरा महानगर कमिटीले यातायात मजदुरलाई शनिबार प्रशिक्षण दिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी)सुन्दर तिवारीले सवारी चालक नेपाल प्रहरीको सडकको साथी भएको बताए ।

उनले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सहकार्य गर्दै आएको जानकारी दिए । ‘सवारी चालकले यात्रुलाई गर्ने व्यवहारमा प्रहरीको तस्बिर देखिन्छ,’ उनले भने, ‘प्रहरीले गर्ने व्यवहार तथा सल्लाह व्यक्तिगत नभएर व्यवसायिक काम हो ।’ यातायात मजदुरलाई नेपाल प्रहरीले हेर्ने दृष्टिकोण सकारात्मक भएको दाबी गर्दै उनले दृष्टिकोण सधैभरी रहिरहने प्रतिवद्धता गरे ।

सवारी दुर्घटनामा परेका सवारी चालकलाई छुट्टै थुनुवा कक्षको मागलाई सम्बोधन गदै डिएसपी तिवारीले सबैलाई राख्ने नयाँ थुनुवा कक्ष सुविधा सम्पन्न भएको बताए । थुनुवालाई प्रहरीले गर्ने व्यवहार मानवीय भएको उल्लेख गर्दै उनले छुट्टै थुनुवा कक्षभन्दा पनि गरिने व्यवहार राम्रो हुनुपर्ने तर्क गरे ।

Advertisement

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेश इन्चार्ज विष्णुबहादुर पराजुलीले सवारी दुर्घटनामा सवारी चालकमात्र दोषी नहुने दाबी गरे । छाडा चौपाया, सवारी साधन तथा सडकको अवस्थाको कारणले समेत सवारी दुर्घटना हुने तर्क गर्दै उनले राज्यका निकायले सडक पूर्वाधारको अवस्था सुधार गर्न ध्यान दिनुपर्ने माग गरे । उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न आग्रह गरे ।

उनले सवारी दुर्घटना न्युनीकरण तथा यातायात मजदुरको सवालमा न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सरकारी वकिल लगायत सरोकारवाला निकायसँग सहकार्य गरेको उनले जानकारी दिए । संगठनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर केसीले नेपाल प्रहरीसँगको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका कार्यक्रम गर्दै आएको बताए । संगठनले ट्राफिक व्यवस्थापनको लागि नीतिगत रुपमा काम गर्दै आएको जानकारी दिँदै उनले यातायात मजदुरलाई जिम्मेवार र मर्यादित बनाउन सक्रियतापूर्वक लागेको बताए ।

Advertisement

कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी नायब निरीक्षक प्रविण आचार्यले सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा संगठनका केन्द्रीय प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिं गुरुङ, संगठनका निजी तथा आवासीय विद्यालय महानगर कमिटी अध्यक्ष रुद्रमान प्रधान, संगठन ट्याक्सी महाननगर कमिटी अध्यक्ष मदन सुनार, संगठन पोखरा महानगर कमिटी इकाइ अध्यक्ष बेनीराज थिंङ लगायतले सवारी दुर्घटना न्यूनीकरणका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया