बिदाका दिन सरकारी गाडी चलाउन अनिवार्य अनुमति लिनुपर्ने

राष्ट्रिय समाचार समिति (रासस) २०७९ असार १९ गते १३:२६

बागलुङ ।
सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमतिपत्र (पास) लिएर नगरको गाडी प्रयोग गरेका छन् ।

योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमतिपत्र उपलब्ध गराएको हो । नगरप्रमुखले चढ्ने ध१झ १७ नं को गाडी गण्डकी प्रदेशभित्र चल्न पाउने गरी ‘पास’ दिइएको कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा तथा कामका लागि सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्दा प्रजिअले जारी गरेको अनुमतिपत्र अनिवार्य चाहिने व्यवस्था छ ।

यो नियम स्थानीय तहका पदाधिकारी र कर्मचारीका हकमा प्रभावकारी कार्यान्वयन हुनसकेको थिएन । सार्वजनिक खर्च घटाउन र बढ्दो पेट्रोलियम पदार्थको खपतलाई दृष्टिगत गर्दै सरकारले बिदाका दिन सरकारी सवारीसाधन प्रयोगमा अहिले थप कडाइ गरेको छ ।

Advertisement

प्रजिअ रमेश ढकालले सार्वजनिक बिदाका दिनमा अनुमतिपत्र नलिई प्रयोग गरेमा जुनसुकै सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइने बताए । “स्थानीय तहसहित सबै सरकारी निकायलाई यो कुरा भनेका छौँ, बुझाएका छौँ, यो हामी सबैको हितका लागि हो”, उनले भने, “जनप्रतिनिधिले पनि अनुमतिपत्र लिएर मात्र हिँड्न थाल्नुभएको छ, यसलाई सकारात्मक लिनुपर्छ ।”

सार्वजनिक बिदा पारेर सरकारी सवारीको दुरुपयोग भएका घटना पनि बेला–बेला सार्वजनिक हुने गर्छन् । कार्यालयको सवारीसाधन लिएर घुम्न निस्कने, पारिवारिक कामका लागि प्रयोग गर्ने प्रवृत्ति कर्मचारीहरुमा छ । त्यसलाई निरुत्साहित गर्न प्रशासन र ट्राफिक प्रहरी लागिपरेको छ ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया