गुप्तेश्वर क्याम्पसमा राट्रियस्तरको अनुसन्धानात्मक सम्मेलन

समाधान संवाददाता २०७९ असार १९ गते १७:१२

पोखरा ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा दुई दिन इमरजीङ इसुज इन म्यानेजमेन्ट (व्यवस्थापनमा उदीयमान सवालहरू) शीर्षकमा राष्ट्रियस्तरीय अनुसन्धानात्मक सेमिनार सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र पोखरा विश्वविद्यालयको सहकार्यमा असार १७ र १८ गते भएको हो ।

क्याम्पसका अनुसन्धान व्यवस्थापन समिति प्रमुख एवं सहायक क्याम्पस प्रमुख मोहन भण्डारी कार्यक्रमको सभापति र विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल प्रमुख अतिथिमा थिए । उद्घाटन सत्र, कार्यपत्र प्रस्तुतीकरण सत्र र समापन सत्र गरी तीन चरणमा सञ्चालन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका विशिष्ट अतिथि विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा. केशरजंग बरालले कार्यक्रमको उपादेयता र महत्वमाथि प्रकाश पारे । उनले विश्वविद्यालयमा अनुसन्धानात्मक कार्यको महत्तवपूर्ण भूमिका हुने कुरा बताए । नेपालमा पर्याप्त मात्रमा सम्भाव्यता रहेको भए पनि युवापुस्ता देशबाट पलायन हुँदै गएको कुराप्रति चिन्ता प्रकट गर्दै उनले देशमा निहित जनशक्तिको उचित व्यवस्थापन नभइकन नेपालले आर्थिक फड्को मार्न नसक्ने कुरा बताए ।

क्याम्पसले आफ्नो संस्थामा अध्यापनरत प्राध्यापक तथा क्याम्पसको एमबीएस् तहमा अध्ययनरत विद्यार्थी एवं पोखरालाई आफ्नो अध्ययन तथा अनुसन्धानको क्षेत्र बनाएका बीसभन्दा बढी अनुसन्धाताका कार्यपत्रहरू प्रस्तुत भएका थिए । प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले विश्वविद्यालय तहमा अनुसन्धान देश, समाज तथा समग्र शैक्षिक परिपाटीका लागि मार्गदर्शक बन्ने कुरा बताए । उनले फिनल्यान्डजस्ता देशले देशका सर्वोच्च प्रतिभाहरूलाई शिक्षण क्षेत्रमा आकर्षित गरेका र कक्षाका सर्वोच्च प्रतिभाहरू शिक्षण क्षेत्रमा सहभागी गराएका कारण शिक्षा क्षेत्रमा गुणात्मक फड्को मारेको सन्दर्भ जोड्दै विश्वविद्यालयले सबै संकायलाई सशक्त बनाउँदै लानुपर्ने र शिक्षा संकायले शिक्षण परिपाटीमा नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताउँदै नेपालमा सो हुन नसकेकाले पोखरा विश्वविद्यालयले त्यस दिशातर्फ छिट्टै नयाँ योजना लिएर आउने बताए ।

Advertisement

उनले गुप्तेश्वर बहुमुखी क्याम्पसले व्यवस्थापनका क्षेत्रमा उदीयमान मुद्दाहरूलाई लिएर राष्ट्रियस्तरको अनुसन्धानात्मक सम्मेलन आयोजना गरी पोखरामा अनुसन्धानात्मक क्षेत्रमा गरिमामय कार्य गरेको बताउँदै कार्यक्रमको पूर्ण सफलताको कामना गरे ।
उक्त कार्यक्रममा विषय विज्ञका रूपमा प्रा. डा. लेखनाथ भट्टराई, प्रा. डा. टंकराज अधिकारी, डा. हरि पाठक, देवराज शर्मा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम बराल, सदस्य भुवानीप्रसाद भट्टराई, पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेजका निर्देशक डा. सिर्जन ज्ञवालीको पनि उपस्थित थियो । उनीहरूले कार्यक्रममा प्रस्तुत भएका अनुसन्धानात्मक प्रतिवेदनमाथि गहन टिप्पणी तथा सुझाव समेत राखेका थिए ।

कार्यक्रममा धर्मराज बराल, मोहन भण्डारी, लालमणि पोख्रेल, राजकुमार सुवेदी, दुर्गानाथ पौडेल, सुरेन्द्र कार्की, जमुना अर्याल, सन्तोष भण्डारी, प्रकाशचन्द्र गिरी, विवेक कर्माचार्य, महेश्वर ढकाल, सञ्जय पौडेल, संगीता सिग्देल, युवराज सुवेदी, सागर सुवेदी, मनिषा रानाभाट, सन्तोषी सुनार, आशीष पौडेल, सिर्जना बराल आदिका व्यवस्थापन तथा अन्य विविध विषय क्षेत्रका कार्यपत्रहरू पेश भएका थिए । क्याम्पसको एमबीबीएस, बीबीएस्, बीएड् र क्याम्पस बाहिरका छनौट गरिएका अनुसन्धानमा विशेष रूचि राख्ने अनुसन्धाता, विद्यार्थी तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रममा पेश भएका कार्यपत्रहरूलाई समेटेर क्याम्पसले आफ्नो अनुसन्धानमूलक जर्नलको विशेष अंक प्रकाशन गर्ने कुरा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. डा. टंकराज अधिकारीले बताए ।

Advertisement

उद्घाटन सत्रमा आगन्तुक अतिथिहरूका निम्ति शुभकामना मन्तव्य राख्दै उनले क्याम्पस सदैव अध्ययन, अध्यापनका साथै प्राध्यापक तथा संस्थाको प्राज्ञिक उन्नयनका लागि अनुसन्धानात्मक कार्यलाई पनि अगाडि बढाउँदै लाने कुरामा दृढ रहेको विचार प्रकट गरे । क्याम्पस प्रमुख धर्मराज बरालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले पोखरामै प्रथमपल्ट यस स्तरको कार्यक्रम गर्न लागेकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रम लालमणि पोख्रेलले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया