गले अर्थमन्त्री, आजबाट बजेटमाथि छलफल

रिखिराम जिसी २०७९ असार २० गते १०:१५

पोखरा ।
गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि असार १ गते प्रस्तुत गरिएको बजेटमा अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले हटाएको भनिएको निर्वाचन पूर्वाधार क्षेत्र कार्यक्रम समावेश हुने भएको छ । सत्तारुढ दलबीच उक्त कार्यक्रम बजेटमा समावेश गर्ने सहमति भएको मुख्यमन्त्री स्रोतले जनाएको छ ।

‘हाललाई निर्वाचन पूर्वाधार क्षेत्र कार्यक्रम बजेटमा समावेश गर्ने सहमति भएको छ, नाम परिवर्तन गर्ने कि त्यही नामबाटै जाने संसदमा छलफल हुनेछ,’ स्रोतले भन्यो । यही विषयलाई लिएर पछिल्लो समय मुख्यमन्त्री र मन्त्रीहरुबीच पटक पटक बैठक बसिरहेको थियो । पछिल्लो पटक भएको छलफलमा उक्त कार्यक्रम बजेटमा थप्ने र बजेटमाथिको छलफल पनि चलाउने सहमति बनेको हो ।

छलफल सुरु भएपछि वार्षिक कार्यक्रम पुस्तिका दिने र छलफलपछि कार्यक्रम सच्याएर रातो किताब निकाल्ने सहमति भएको बुझिएको छ । सहमति भएसँगै सभामुख नेत्रनाथ अधिकारीले सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आव्हान गरेका छन् । उक्त बैठकमा निर्वाचन पूर्वाधार क्षेत्र कार्यक्रम समावेश गरी बजेटमाथि छलफल हुने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन विपरीत अर्थमन्त्री बरालले उक्त कार्यक्रम हटाएको भन्दै सत्तापक्ष र विपक्षीबाट विरोध हुँदै आएको थियो ।

Advertisement

संसदमा बजेट पेश हुनुअघि मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री बरालले बजेटबारे बिफ्रिङ गरेका थिए । त्यही क्रममा मुख्यमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नहटाउन निर्देशन दिएका थिए । सुरुदेखि नै यो कार्यक्रमको विरोध गर्दै आएका अर्थमन्त्री बरालले यस पटक बजेटबाट त्यसलाई हटाएका थिए । कार्यक्रम हटाएसँगै सत्ता पक्षबाटै अर्थमन्त्री बरालको आलोचना भएको थियो । विवादका कारण अन्य प्रदेशमा बजेट पारित भईसक्दासम्म पनि गण्डकी प्रदेशमा बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।

गण्डकी सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो ।

Advertisement

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया