एम्बुलेन्समा जिपिएस जडान

रिखिराम जिसी २०७९ असार २० गते १०:२७

पोखरा ।
परिवारका सदस्य बिरामी पर्दा एम्बुलेन्स चाहिए कहाँ खोज्ने ? कता फोन गर्ने ? अब एम्बुलेन्स सेवाका नम्बरहरु खोज्ने झन्झट पर्दैन । सीधै १०२ नम्बरमा फोन गरेपछि एम्बुलेन्स सेवा केन्द्रमा घन्टी बज्छ । त्यस्तो सेवा केन्द्रमा फोन गरेपछि तपाईं जहाँ हुनुहुन्छ, त्यहीं नजिकको एम्बुलेन्स तपाईंले डाकेको ठाउँमा आइपुग्छ ।

गण्डकी प्रदेश सरकारले यस्तो सेवा थालिसकेको छ । कुन एम्बुलेन्स कहाँ छ भन्ने थाहा पाउन सरकारले प्रत्येक एम्बुलेन्समा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न थालिसकेको छ । एम्बुलेन्स सेवा प्रभावकारी बनाउन गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशभित्रका जिल्लाहरुमा सञ्चालन हुने एम्बुलेन्सहरुमा जिपिएस डिभाइस जडान सुरु गरेको हो ।

कुन एम्बुलेन्स कहाँ छ भन्ने थाहा पाएर डाकिएको ठाउँको नजिककोलाई पठाइने

Advertisement

प्रदेशभर सञ्चालित र प्रदेशको मापदण्ड पूरा गरेका सरकारी तथा निजी एम्बुलेन्समा जिपिएस जडान गर्न लागिएको मन्त्रालयको चिकित्सक सेवा महाशाखाका प्रमुख नारायण श्रेष्ठले बताए । ‘एम्बुलेन्स सञ्चालकले पछिल्लो समय आफ्नो मनलाग्दी गरेको पाइएको छ, यो कार्यक्रमले कुन एम्बुलेन्स कहाँ छ, कुन अवस्थामा छ भन्ने जानकारी हुन्छ, जसले एम्बुलेन्स चालकलाई थप जिम्मेवार बनाउँछ,’ उनले भने ।

बिरामीलाई समयमै अस्पताल पुर्‍याउन उक्त कार्यक्रमले सहयोग पुग्ने डा. श्रेष्ठले बताए । बिरामी हुँदा गण्डकी प्रदेशभित्रका व्यक्तिले १०२ मा कल गरेर सेवा लिन सक्नेछन् । अरु प्रदेशबाट यही नम्बरमा फोन गर्दा भने त्यही प्रदेशको एम्बुलेन्स हटलाइन सेवा केन्द्रमा जान्छ । बिरामीलाई कलमार्फत दोहोरो संवादमार्फत एम्बुलेन्स, अस्पताल र रोगको बारेमा स्वास्थ्यकर्मीबाट जानकारी गराइने श्रेष्ठले बताए । ‘फोन गरेका बिरामीलाई अवस्था अनुसार स्वास्थ्य परामर्श र उचित अस्पतालमा पठाउँछौँ,’ उनले भने, ‘कसैलाई उहाँहरुकै चाहना अनुसार अस्पताल पठाउँछौँ ।’

Advertisement

उनका अनुसार एम्बुलेन्सले लिने शुल्क पहिले नै निर्धारण गरिने भएकाले बढी भाडा लिने सम्भावना रहँदैन । ‘बिरामी लिन जानुपर्ने स्थानअनुसार एम्बुलेन्स भाडासमेत पहिले नै निर्धारण गरिएको हुन्छ, जसले गर्दा बिरामीबाट बढी पैसा लिने घटनामा कमी आउँछ,’ श्रेष्ठले भने । असार मसान्तसम्म प्रदेशका ११ जिल्लाका करिब १०० एम्बुलेन्सलाई ‘एम्बुलेन्स हटलाइन १०२’ मा आवद्ध बनाउने लक्ष्य रहेको उनले बताए । ‘अहिलेसम्म ४६ वटा एम्बुलेन्समा जिपिएस जडान गरिएको छ, सफ्टवेयर नहुँदा सेवा सुचारु हुन सकेको छैन,’ उनले भने, ‘असार मसान्तसम्म करिब ६० वटा एम्बुलेन्समा जिपिएस डिभाइस जडान गरी हटलाइन सेवा दिन्छौं ।’

एउटा एम्बुलेन्समा जिपिएस जडान गर्न करिब १२ हजार र वार्षिक रिचार्ज गर्न करिब ४ हजार ५०० खर्च लाग्ने जानकारी उनले दिए । गण्डकीभर सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक संघसंस्था र निजी अस्पतालका समेत गरी २१६ एम्बुलेन्स छन् । यस वर्ष १०० एम्बुलेन्समा जिपिएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिने उनले बताए । राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ ले एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त निर्देशिकामा ग वर्गका एम्बुलेन्सलाई क र ख मा स्तरोन्नति गर्नुपर्ने उल्लेख गरिएकाले क र ख वर्गका एम्बुलेन्सलाई जिपिएस जडानको प्राथमिकता राखिएको डा. नारायण श्रेष्ठले बताए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया