राष्ट्रिय उद्योग व्यापार संघ कास्कीमा बराल

समाधान संवाददाता २०७९ असार २० गते १०:४६

पोखरा ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कास्की आयोजनामा उद्योगी, व्यवसायीको भेला भएको छ । भेलाले अध्यक्ष हरि बरालको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सल्लाहकार ढाकाराम पौडेलले जानकारी दिए ।
संघको उपाध्यक्ष प्रकाश बराल, सचिव प्रवीण पौडेल, सहसचिव डोलनाथ पौडेल, कोषाध्यक्ष रीता घर्ती मिरे विक छन् । कार्यसमितिको सदस्यमा गोविन्द शर्मा, टेकबहादुर थापा, दयाराम लामिछाने, भागिरथ शर्मा, दीपक पौडेल, चन्द्रबहादुर रोका, गंगा पुन र डीआर विरोधी छन् ।

संघको सल्लाहकारमा ढाकाराम पौडेल, नवराज बराल र मदनमुरारी घिमिरे चयन भएका छन् । संघका संस्थापक अध्यक्ष तथा राष्ट्रिय भूमि आयोगका सदस्य भैरवराज रेग्मीले राज्यले लिएको गलत नीतिका कारण स्वदेशी लगानीमा खोलिएको उद्योग कलकारखाना धरासायी भएको बताए । ‘विदेशीको लगानी तथा बहुर्राष्ट्रिय कम्पनीको दबदबाले अब एकल स्वदेशी लगानीमा खोलिएको उद्योगले प्रतिस्पर्धा गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले सबै उद्योगी, व्यवसायी मिलेर सामुहिक लगानीमा व्यवसाय गर्नु पर्छ ।

सामूहिक लगानीमा ठूलो परिणाममा उत्पादन गरी राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ ।’ उनले आगामी दिनमा कुनै न कुनै प्रकारले सचेत र संगठित भएर उत्पादनसँग जोडिनु आवश्यक भएको बताए । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले धेरैभन्दा धेरैलाई व्यापार व्यवसायमा सामेल गराएर सबै उद्योगी, व्यवसायीलाई एकै ठाउँमा ल्याउन संघलाई सुझाव दिए । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका संसदीय दलका नेता पियारी थापा (सुप्रभा)ले राष्ट्रिय अर्थतन्त्रको निर्माण विना मुलकको राजनीतिक स्थायित्व र समृद्धि सम्भव नभएको तर्क गरिन् । उनले आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको विकास आजको आवश्यकता भएको उल्लेख गरिन् ।

Advertisement

भेलामा अखिल नेपाल युवक संघ कास्की सचिव जयराम आचार्य, नेसनल मल्टिप्रपोज इन्भेस्टमेन्ट कम्पनी प्रालिका बोर्ड मेम्बरहरु टेकबहादुर थापा, प्रकाश बराल, दयाराम लामिछाने लगायतले बोलेका थिए । भेलाले कास्कीका उद्योगी व्यवसायीलाई संगठनमा आवद्ध गर्न सदस्यता अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया