सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

काठमाडौं ।
अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोस्टर राख्न नपाइने भएको छ । विज्ञापन बोर्डले आइतबार सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने उल्लेख छ ।
सडक तथा सडक पेटीका खम्बा, पुल, आकाशे पुल, सडक किनारका रुख बिरुवा वा सडकको सौन्दर्यमा खलल पार्ने गरी विज्ञापन सामग्री राख्न नहुने उल्लेख छ । विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नहुने आचारसहिंतामा उल्लेख छ । विज्ञापनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न अन्य कुनै पनि व्यक्तिले विज्ञापन गर्दा वा गराउँदा लैङ्गिक समानता कायम गर्न र सामाजिक विभेद् अन्त्य गर्न आचरणपालना गर्नुपर्ने उल्लेख छ ।
विज्ञापनमा महिलालाई यौन, भोग्य वस्तु, विलासिता वा मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्न नहुने उल्लेख छ । संवेदनशील अंग प्रदर्शन गर्ने, महिलालाई पुरुषका तुलनामा कमजोर पात्रका रुपमा पस्तुत गर्ने विज्ञापन उत्पादन र प्रकाशन वा प्रशारण गर्न नहुने उल्लेख छ । विज्ञापनमा दलित, आदीवासी, जनजाती, मधेसी, मुस्लिम, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्ग, यौनिक अल्पङ्ख्यक वा कुनै वर्ग क्षेत्र सम्प्रदाय वा समुदायको मर्यादामा आँच आउने गरी सामग्री बनाउन नहुने उल्लेख छ । बालबालिकामा डर, त्रास, भय उत्पन्न गर्ने कार्यक्रम, विद्युतीय खेल वा चलचित्रको विज्ञापन गर्न नहुने र उनीहरुलाई होच्याउने र आत्मसम्मानमा चोट पुर्याउने विज्ञापन उत्पादन र प्रशारण गर्न नहुने आचारसहिंतामा उल्लेख छ ।
विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले कुनै खास एउटै औषधिबाट सम्पूर्ण रोग निवारण हुने वा उपचार हुने, त्यसको ग्यारेन्टी हुने भनी औषधि विज्ञानले प्रमाणित नगरेका झुटा, अवैज्ञानिक विवरणयुक्त विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने उल्लेख छ । मानव अंग बढाउने, उचाइ बढाउने वा शरीरको तौल घटाउने वा बढाउने भनी प्रमाणित नभएका विषयमा पनि विज्ञापनमा रोक लगाइएको छ । विभिन्न रङ र कृत्रिम स्वादमा उत्पादित पेय पदार्थबाट हुने हानीको सम्बन्धमा सचेतनामूलक सन्देश समावेश नगरी विज्ञापन दिन नहुने आचारसहिंतामा उल्लेख छ । खाद्य तथा पोषणविद्को सिफारिसबिना खाद्यपुरक वस्तु (माइक्रो न्यूट्रियन्ट) तथा शक्तिबद्र्धक भनी कुनै पनि वस्तुको प्रयोग गर्न उक्साउने, लोभ्याउने खालका विज्ञापन गर्न नहुने उल्लेख छ ।
सहरी तथा स्थानीय सौन्दर्यमा प्रतिकूल असर पार्ने, च्यातिएका, खुइलिइएका वा होर्डिङ बोर्ड वा परीचयपाटी सम्बन्धित व्यक्तिले यथाशीघ्र हटाउनु वा त्यसमा सुधार गर्नुपर्ने उल्लेख छ । सडक पेटीबाट आवातजावतमा असर पुग्ने गरी होर्डिङ बोर्ड राख्न नहुने र धार्मिक, पुरातात्विक स्थानमा त्यहाँको मौलिकता ढाक्ने गरी राख्न नहुने उल्लेख छ । अनुमति दिएका स्थानमा निर्धारित आकार प्रकार र गुणस्तरको मात्रै विज्ञापन राख्न पाइने व्यवस्था रहेको छ । सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले विगतमा विज्ञापनले महिलालाई होच्याउने गरेकामा अहिले मिडिया केही संवेदनशील बन्न थालेको उल्लेख गरिन् ।
आचारसहिंता पूर्ण रुपमा कार्यान्वयनमा आउँदा यी कुरामा अझै कमी आउने उनको विश्वास छ । उनले भनिन्, ‘आचारसहिंता आउनु आफैँमा सकारात्मक कुरा हो तर राम्रोसँग कार्यान्वन हुन पनि जरुरी छ ।’ अग्रज पत्रकार बबिता बस्नेतले विज्ञापनका कारण सबै उमेर र वर्गमा गहिरो छाप बस्ने बताइन् । विज्ञापनले महिलाका शरीर नभएर मस्तिक देखाउनुपर्नेमा उनको जोड छ । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ ले आचारसहिंतामा विज्ञापन बोर्डमा सूचीकृत सञ्चारमाध्यम र विज्ञापन एजेन्सीले मात्र विज्ञापनजको कारोबार गर्न पाउने उल्लेख भएको बताए । सञ्चारमाध्यमले आफ्नो दररेट सार्वजनिक गर्नुपर्ने, विज्ञापन एजेन्सीले सोही आधारमा र बिल समावेश गरेर कारोबार गर्नुपर्ने उनले बताए ।
आचारसहिंताको बोर्डले नियमित अनुगमन गर्ने र अनुगमनका लागि छुट्टै समिति बनाइने हुमागाईको भनाइ छ । उनले भने, ‘आचारसहिंता कार्यान्वयनमा देखिएका समस्या समाधान तथा बोर्डलाई सुझाव दिन परामर्श समिति रहनेछ ।’सो आचारसहिंतामा १३ परिच्छेद छन् । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू गरिएको हो । विगतमा मिडियासम्बन्धी अरु कानुन वा आचारसहिंतामा मात्रै विज्ञापनका थोरै विषय समेटिएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया