अन्नपूर्णलाई बालमैत्री पालिका बनाइने

समाधान संवाददाता २०७९ असार २० गते ११:१८

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले सबै वडा तथा समग्र पालिकालाई बालमैत्री बनाउने तयारी गरेको छ । त्यसको सुरुवातका क्रममा आइतबार बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण भएको छ । पालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सबै विधि, प्रक्रिया र पद्धति अपनाएर बालमैत्री पालिका घोषणा गरिने बताए ।

सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले स्थानीय शासन प्रवद्र्धनसम्बन्धी कार्यक्रम लागु गरेर सबै वडा र पालिकालाई बालमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे । ‘पालिकाले नीति, कार्यक्रम र बजेटको व्यवस्था गरी परिणाममा देखिने गरी कार्यक्रम गर्छौं,’ अध्यक्ष केसीले भने, ‘बाल अधिकार सुनिश्चित गर्नेदेखि सबै प्रक्रिया पुर्‍याएर बालमैत्री पालिका बनाइनेछ ।’

उनले बालबालिकालाई काम, कर्तव्य र अधिकारबारे सचेत बनाएर असल र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने उल्लेख गरे । उनले सबै बालबालिका सचेत र संगठित भएको खण्डमा बाल सहभागिता सुनिश्चित गर्न सकिने बताए । पालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बालमैत्री स्थानीय शासनका सबै सूचक कही न कहीं प्रयोगमा आएता पनि पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिन् । बाल बचाऊ, बाल विकास, बाल संरक्षणमा विशेष ध्यान दिने जानकारी दिँदै उनले पालिकामा बाल सहभागितालाई अर्थपूर्ण बनाउन योजना बनाएर काम गर्ने बताइन् ।

Advertisement

अधिवक्ता कुञ्जनी प्यासी परियारले बालमैत्री स्थानीय शासन प्रवद्र्धनसम्बन्धी नयाँ रणनीति २०७८ अनुसार कार्यपालिकाले निर्णय गरेर काम थाल्न सुझाव दिइन् । रणनीतिका ५१ सूचकलाई स्थानीय करण गर्न आग्रह गर्दै उनले पालिकाको वस्तुगत विवरण (प्रोफाइल) तयार गरी प्रकाशन गर्न अनुरोध गरिन् । पहिल्यैदेखि गरेका कामलाई एकीकृत गरी अभिलेख तयार पार्न माग गर्दै उनले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि लगानी योजना तयार पार्न आग्रह गरिन् । उनले बालमैत्री वडा तथा पालिका घोषणा गरी दिगोपनका लागि योजनाबद्ध ढंगले काम गर्न अनुरोध गरिन् ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले कास्कीका हरेक पालिकालाई बालमैत्री बनाउन इन्सेकले सहजीकरण गरेको जानकारी दिए । उनले नेपालको संविधान अनुसार बाल अधिकार सुनिश्चित हुन नसकेको बताए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज सापकोटा, अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भरतमान गुरुङ, पालिकाका सामाजिक शाखाका प्रमुख निर्मला कुँवर, इन्सेक कास्की प्रतिनिधि सुशन घिमिरे, जिल्ला बाल मञ्च कास्की अध्यक्ष समीक्षा लामिछाने लगायतले बाल अधिकारका विषयमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया