द्वन्द्व, मानिस र समाज

डा सञ्जय कोइराला २०७९ असार २० गते १२:२०

सम्झौता नै द्वन्द्वको सरल समाधान हो । हरेक द्वन्द्वको समाधान सम्झौताबाट गर्न सकेमा युद्ध हुने सम्भावना नै रहन्न ।
डा सञ्जय कोइराला

हरेक सामाजिक परिवर्तनको कारक द्वन्द्वात्मक भौतिकवाद हो भनी कार्ल माक्र्सले आफ्नो पुस्तक द कम्युनिस्ट मेनिफेस्टोमा भनेका छन् । विश्वमा अर्थका कारण इतिहासमा विभिन्न प्रकारका सामाजिक व्यवस्थाको चरणवद्ध रुपमा विकास हुँदै गएको भन्ने सहाको विश्लेषण रहेको छ । आदिम साम्यवाददेखि दास प्रथा, सामन्तवाद, पुँजीवाद, समाजवाद हुँदै समाज पुनः साम्यवाद आउने माक्र्सको प्रक्षेपण थियो । वर्तमान विश्व पुँजीवाद र समाजवादको मिश्रणमा रुमल्लिएको स्थिति छ । माक्र्सले सोचेको जस्तो एकीकृत राज्य रहितको विश्व (सम्भव नहुने आम विश्लेषण छ ।

द्वन्द्वात्मक भौतिकवादका प्रचारक माक्र्सका अनुसार हरेक परिवर्तन द्वन्द्वका कारण हुन्छ । आन्तरिक होस् या बाह्य, द्वन्द हरेक वस्तुमा हरेक समय चलिरहेको हुन्छ । यसैका कारण नयाँ वस्तुको प्रतिपादन हुन्छ । मकैको दाना जब उम्रन्छ, तब त्यो दानाको अस्तित्व पूर्ण रुपमा हराएर जान्छ । त्यो उम्रेको बिउले एउटा मकैको बोट बनाउछ । जहाँ पुन अरु मकै फाल्ने गर्छन । यो वाद, प्रतिवाद र संवाद एक चक्रीय प्रणाली हो । जुन जुनसुकै परिवर्तनको लागि आवश्यक हुने माक्र्सको ठम्याइ थियो । समाजमा देखिने हरेक परिवर्तन कुनै न कुनै द्वन्द्वकै कारण भएका हुन्छन् भन्ने उहाको कुरा तथ्यपरक रहेको पाइन्छ ।

Advertisement

अध्यात्मवाद यथास्थितिवादी चरित्रको उपज हो भने भौतिकवाद प्रगतिशील चरित्रको । कुन सत्यको नजिक छ भनेर विश्लेषण गर्नु मूर्खतामात्र हुने मेरो ठम्याइ छ । मानिस आफैंमा विभिन्न प्रणालीको मिश्रणबाट बनेको एक प्रणाली हो, जस्तै स्नायु, पाचन, स्वासप्रश्वास आदि । मानिस पूर्ण रुपमा सक्षम भएर काम गर्न उ भित्रका हरेक प्रणालीले चुस्त, दुरुस्त रुपमा काम गर्नुपर्ने हुन्छ । जुनसुकै प्रणालीमा पनि सानो खराबी भएमा मानिस अस्वस्थ हुन्छ र बिना उपचार उसले आफ्नो पूर्ण क्षमता प्रस्तुत गर्न सक्दैन । हरेक मानिसको आन्तरिक प्रणाली एकै किसिमका हुन्छन् तर मानिस मानिसबीच फरक हुने भनेको उसको विचार हो ।

यो विषयमा माक्र्सको भौतिकवाद भन्दा हेगलको अध्यात्मवाद बढी सार्थक रहेको मेरो बुझाइ छ । फरक विचारकै कारण समान शारीरिक अवस्था भएका मानिसको पनि क्षमता फरक हुन सक्छ । हरेक मानिसमा आ आफ्नै विचार अनुसारका क्षमता विकास हुँदै जान्छन् । र सोही क्षमताका आधारमा समाजमा मानिसले आफूलाई स्थापित गराउन प्रयत्न गर्छ । प्लेटोले भने जस्तो हरेक मानिसले आ–आफ्नो कर्तव्य पूरा गर्ने हो भने मात्र सामाजिक न्याय हुने कुरा पनि यथार्थपरक लाग्न सक्छ तर मानिसको कर्तव्यको सबै ठाउँमा एकै किसिमको व्याख्या नभएको हुँदा नै यहाँ हरेक ठाउमा द्वन्द्वको अवस्थाको सिर्जना भइरहेको पाइन्छ । हरेक परिवार, समाज, देश र अन्तर्राष्ट्रिय मञ्चमा हेर्ने हो भने कुनै न कुनै द्वन्द्व हरेक समय चलिरहेको हामी पाउन सक्छौं ।

Advertisement

यसरी हेर्दा द्वन्द एक विश्वव्यापी घटना हो, यो मानव सभ्यतासँगै चलिरहेको र अनन्तसम्म चलिरहने एक प्रक्रिया हो । द्वन्दको उग्र रुप भनेको पूर्ण युद्ध हो, जुन पूर्वीय दर्शनमा रामायण, महाभारत होस् या पश्चिमा दर्शनका पेलोपोनेसियन युद्ध या बीसौं शताब्दीका विश्व युद्ध, शीत युद्धदेखि हालको रुस–युक्रेन, इजरायल प्यालेस्टाइन वा अन्य चलिरहेका युद्ध । यो अनन्त चलिरहने क्रिया हो । युद्ध भनेको राजनीतिको असफलता हो । युद्ध कसैको पनि हितमा हुँदैन । क्षणिक रुपमा एउटालाई फाइदा देखिए पनि समयसँगै त्यो परिणामको नतिजा कसैको पनि बसमा हुँदैन । द्वन्द्व आफैंमा फेरि आवश्यक कुरा हो । माक्र्सले भनेजस्तै द्वन्द्व बिना कुनै पनि नयाँ परिवर्तन सम्भव हुँदैन । द्वन्द्वकै कारण द्वन्द्व व्यवस्थापनका निम्ति नयाँ नयाँ प्रयोग हुने गर्छन्, शान्तिको खोजी हुने गर्छ र त्यसले नै विकासको मार्ग पहिल्याउन मद्दत गर्छ । त्यसैले नै राजनीति शास्त्रमा द्वन्द्व, शान्ति र विकास भन्ने छुट्टै पाठ्यक्रम बनाइएको छ ।

द्वन्द्वका कारण तथा प्रकृति अनेक किसिमका हुन सक्छन् । मानिस एक्लै आफैंभित्र पनि वैचारिक द्वन्द्वमा रहेको हुन्छ, जसको व्यवस्थापन राम्ररी गर्न नसकेमा मानिसको व्यवहारमा परिवर्तन देखिन थाल्छ । एक्लै आफैंभित्र त जब द्वन्द्व हुन सक्छ भने परिवार र समाजमा अनेक मानिसबीच वैचारिक द्वन्द्व हुनु सामान्य प्रक्रिया नै हो । दुई वा दुईभन्दा बढी व्यक्तिबीच जब वैचारिक द्वन्द्व हुन्छ, सकारात्मक रुपमा लिन सकिएमा त्यसले नवीन विचारको प्रतिपादन हुन्छ । यदि सकारात्मक नभएमा त्यसले बिग्रहको अवस्था ल्याउन सक्छ । त्यसलाई कुन रुपमा लिने भन्ने मानिसको चरित्रमा भर पर्दछ । नेपाली समाजमा चरित्र विचारमाथि हावी भएको पाइन्छ । विचारले चरित्र निर्माण हुनुपर्ने हो तर मानिस आफ्नो चरित्र अनुसार विचार निर्माण गरिरहेको हुन्छ, जसका कारण नै द्वन्द्वको अवस्था सिर्जना हुन्छ ।

मानिसको विचार धेरै हदसम्म मिल्न सक्छ र मिल्छ पनि । सबैको आम विचार आफ्नो, समाजको र राज्यको प्रगति र उन्नति गर्ने नै हुन्छ । तर जब नैतिक चरित्र देखाउने बेला आउँछ, अक्सर हामीमध्ये धेरै जना व्यक्तिगत लोभ या डरको अगाडि आफ्नो विचारलाई ओझेलमा पारिरहेका हुन्छौं । आर्थिक प्रलोभन, पदीय लोलुपता, माथिको आदेश, पारिवारिक र आफन्तको इच्छा आकांक्षाले दिने वैचारिक छालहरुमा अक्सर मानिस स्वविवेकलाई लत्याउन बाध्य हुन्छ । संसार यसरी नै चलिरहेको छ भन्दै आदर्शभन्दा पर गई नैतिक रुपमा स्खलित हुँदा पनि मानिस आफूलाई चोख्याउने हरदम प्रयास गरिरहेको हुन्छ । द्वन्द्व व्यवस्थापनमा मानवीय चरित्रको अहम भूमिका रहन्छ । विचार एकै भए पनि चरित्रले मानिसलाई सँगै हिड्न नसक्ने अवस्थाको सिर्जना गर्दछ ।

उद्देश्य सफा हुने हो भने जस्तोसुकै द्वन्द्वको समाधान सरल किसिमले गर्न सकिन्छ । उद्देश्य नै नमिल्ने हो भने सँगै हिड्नुको अर्थ रहँदैन, सम्भव पनि हुँदैन । आफैं बाटो छुट्टिन्छ । सफा, निस्वार्थ उद्देश्य राखेरअघि बढ्ने हो भने सम्झौता आवश्यक हुन्छ र गर्न सक्नुपर्छ । मानिस सामाजिक प्राणी भएको हुँदा एक्लै हिड्न सक्दैन, सामाजिक रीतिरिवाज र राज्यको कानुनभित्र रहेर नै आवश्यकता अनुसार सम्झौता गर्न सक्नु पर्छ । सम्झौता नै द्वन्द्वको एक सरल समाधान हो । हरेक द्वन्द्वको समाधान सम्झौताबाट गर्न सकेमा त युद्ध हुने सम्भावना नै रहन्न । यो तब सम्भव हुन्छ, जब मानिसले सकारात्मक विचारले आफ्नो चरित्र निर्माण गर्न सक्षम हुन्छ ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया