व्यासमा नगरवासीका समस्या तथा गुनासो सुन्न चौबिसै घण्टा कलसेन्टर

तनहुँ ।
जिल्लाको व्यास नगरपालिका कार्यालयले चौबिसै घण्टा खुला रहनेगरी कलसेन्टरको व्यवस्था गर्न लागेको छ । नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि प्राथमिकतामा राखी सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले कलसेन्टर स्थापना गर्ने गरी नीति पारित भएको हो ।
नगरपालिकाले सेवासुविधा र जानकारीमूलक सूचना मोबाइल एपमार्फत घरघरमा पुर्याउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । सङ्घीय सरकारको सहयोगमा नगरपालिकाभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक माध्यमिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने योजना रहेको छ ।
साथै प्रदेश सरकारको सहकार्यमा नवप्रवर्तनीय साझेदारी कार्यक्रमअन्तर्गत एकीकृत डिजिटल कार्यक्रम कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइने उनले भने । आमसञ्चार सेवाको गुणस्तरीय र सर्वसुलभ पहुँचका लागि स्थानीय सञ्चार ऐन परिमार्जन गरिनेछ भने कानूनबमोजिम एफएम रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजीको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
गुणस्तरीय र छिटोछरितोरुपमा सेवा प्रवाह गर्न नगरपालिकाको सबै वडालाई प्रविधिमैत्री गराउँदै नियमित सेवालाई अझ प्रभावकारी, भरपर्दो एवं विश्वसनीय बनाइनेछ । स्थानीयस्तरमा प्रकाशन हुने पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनसँग नगरपालिकाको गतिविधि झल्कने गरी कार्यक्रम निर्माण, प्रकाशन र प्रसारण गरी नगरपालिकाको गतिविधि नगरवासीसम्म पुर्याउने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
नगरपालिकाको आर्थिक तथा पूर्वाधार विकाससम्बन्धी विषयका समाचार सङ्कलन, रिपोर्टिङसम्बन्धी विशिष्ट तालिम सञ्चालन गरी सहयोग पुर्याइने लक्ष्य लिएको छ । हरेक वर्ष नगरपालिकाको समाचार प्रकाशनमा विशेष योगदान दिने एक जना पत्रकारलाई पुरस्कृत गर्दै लैजाने नीति रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
नगरपालिकाअन्तर्गत अपाङ्गतामैत्री, बालमैत्री र लैङ्गीकमैत्री सञ्चार अभियानलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले ऐतिहासिक, पुरातात्विक, सामजिक, भौगोलिक, पर्यटकीय एवं धार्मिक महत्व बोकेका स्थानको डिजिटलाइज गर्न व्यवस्था मिलाइने उनले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया