पर्यटन बसपार्कसहित ६३ रोपनी खुसुक्क निजीलाई

समाधान संवाददाता २०७९ असार २१ गते १०:०८

पोखरा ।
मेयरबाट बिदाइ हुनु २ दिनअघि पोखराका तत्कालीन मेयर मानबहादुर जिसीले पर्यटन बसपार्क र गल्फकोर्सको सहित ३ ठाउँको जमिन निजी क्षेत्रलाई भाडामा दिएका छन् । पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको पोखरा ९ स्थित यातायात कार्यालय पछाडिको समेत गरी ३ ठाउँको जमिन निजीलाई भाडामा दिने सम्झौता भएको खुलेको हो ।

समितिको अध्यक्ष पोखरा महानगरपालिकाका मेयर हुने व्यवस्था छ । त्यही हैसियतमा जिसीले भाडा सम्झौतामा हस्ताक्षर गरेको महानगरपालिकाका अधिकारीहरुले सोमबार खुलासा गरेका हुन् । पर्यटन व्यवसायीले पर्यटन बसपार्क खुसुक्क निजी कम्पनीलाई भाडामा दिएको गुनासो पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यसँग गरेका थिए । त्यसपछि उपत्यका नगर विकास समितिबाट कागजात झिकाएर हेर्दा व्यवसायीको गुनासो सत्य देखिएको थियो । सम्झौताहरुमा जिसीकै हस्ताक्षर छ भने दोस्रो पक्षबाट सम्बन्धित कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

(पूर्व मेयर जिसीको पदावधि सकिनु २ दिनअघि भाडा सम्झौता)

Advertisement

सम्झौताहरुमा सदस्य सचिवका हैसियतमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर हुनुपर्नेमा उक्त जिम्मेवारीमा रहेका बलराम रिज्यालले यसबारे आफू बेखबर रहेको प्रतिक्रिया दिएका छन् । मेयर जिसीको पदावधि जेठ ५ गते सकिएको थियो । त्यसको २ दिनअघि ती जग्गा भाडामा दिने सम्झौता भएको छ । त्यसका लागि २०७८ चैत २६ गते नियमित प्रकाशन हुन छाडेको दैनिक पत्रिकामा बोलपत्र आह्वानको सूचना छापिएको थियो ।

पर्यटन बसपार्कमा बसहरु पार्क गर्दा भाडा उठाउने गरी सम्झौता भए पनि भाडादर सम्झौतापत्रमा तोकेको देखिएको छैन । त्यहाँको सार्वजनिक शौचालय अहिले बन्द छ । शौचालय खुला गर्न पर्यटन व्यवसायीले आग्रह गर्दा महानगरपालिकाको स्वामित्वमा नरहेको भन्दै ताला नखुलाइएपछि पर्यटनकर्मीले शंका गरेका थिए । शंकाका भरमा खोज्दै जाँदा बसपार्क नै निजी कम्पनीलाई भाडामा दिएको खुलेको हो ।

Advertisement

पोखरा पर्यटन परिषद अध्यक्ष गोपी भट्टराईले पर्यटन बसहरुलाई पार्क गर्न दिनुपर्ने र त्यसको व्यवस्थापन व्यवसायीबाटै हुनुपर्ने पर्यटन क्षेत्रको माग रहेको बताए । ‘आज (सोमबार) मेयरसाबलाई भेटेर गुनासो राखेका थियौं,’ उनले भने, ‘सत्यतथ्य एक, दुई दिनमा बुझेर खबर गर्छु भन्नुभयो ।’ त्यसलगत्तै मेयर धनराज आचार्यले उपत्यका नगर विकास समितिबाट कागजात झिकाएर हेरेका थिए ।

मेयर आचार्यकै भनाइमा उक्त सम्झौता गर्नुअघि समितिको बैठक बसेको देखिन्न । जब कि समितिमा मेयर अध्यक्ष हुन्छन् भने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव । सदस्यमा महानगरपालिकाका ३ कार्यपालिका सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रमुख मालपोत अधिकृत, प्रमुख नापी अधिकृत र जिल्ला वन डिभिजन कार्यालयका प्रमुख हुन्छन् । उनीहरु सबै यो सम्झौताबारे बेखबर छन् ।

गल्फ कोर्सका रुपमा प्रयोग हुँदै आएको ४० रोपनी जमिन खेल गतिविधिका लागि भनेर भाडामा दिने सम्झौता भएको देखिन्छ । यातायात कार्यालय पछाडिको जग्गा गाडीको प्रयोगात्मक परीक्षा हुँदै आएको थियो । निजी कम्पनीले अरुलाई गाडी पार्क गर्न दिई शुल्क उठाउने गरी भाडामा लिएको देखिन्छ । ती सबै जमिन पोखरा उपत्यका नगर विकास समितिको नाममा छन् । समितिको अध्यक्ष पोखरा महानगरपालिकाका मेयर हुने व्यवस्था छ । नवनिर्वाचित मेयर धनराज आचार्यले समितिमा अध्यक्षको पदभार ग्रहण असार १६ गते गरेका थिए ।

मेयर आचार्यले उक्त सम्झौता भएको भन्ने आफूलाई आज (सोमबार) मात्रै थाहा भएको बताए । ‘समितिको बैठक पनि बसेको छैन, सदस्य सचिवलाई पनि थाहा छैन, अरु सदस्यलाई थाहा छैन,’ उनले भने, ‘हामी आवश्यक छानबिन गर्छाैं, के कति कानुनी, के कति गैरकानुनी हो भन्ने बुझेर अघि बढ्छौं ।’

उक्त जग्गाको भाडा सम्झौता हुँदा उपत्यका नगर विकास समितिमा अशोक सुनार अधिकृत थिए । उनलाई पोखरा महानगरपालिकाले सोमबार समितिको कार्यालयबाट महानगरमै तानेको छ ।

तपाईको प्रतिक्रिया