पाेखरामा बर्बादीको बाटोमा सडक बालबालिका

दर्जनौं बालबालिका सडकमै माग्छन्, खान्छन्, सडकमा वा आसपासमा ओत खोजेर सुत्छन् । यी बालबालिकालाई सुधार्न र नागरिक बनाउन कसैको ध्यान जाँदैन

सञ्जय रानाभाट २०७९ असार २१ गते १०:५१

पोखरा ।
असार महिना । सिमसिम पानी । शुक्रबार एकाबिहानै ७ बजेको समय । दुई बालक चिप्लेढुंगाको चौतारोमा सुतिरहेका छन् । सडकमा गुडिरहेका छन् गाडी । खुल्दो बजारको चहलपहलले उनीहरुलाई छोएकै छैन । चौताराकै पल्लो साइडमा निद्रामै छिन्, ४०÷४५ वर्षकी महिला । उनीहरु खुला आकाशमुनि ओढ्ने, ओछ्याउने बिनै मस्त निद्रामा छन् । कसैलाई कसैको डर, संकोच छैन । सडक छेउमै सुरक्षा बिट छ । ट्याक्सी डाइभर पनि यात्रु पर्खिदै त्यही छन् ।

घाम झुल्किए, सटरहरु खुल्न थाले । सडकमा चहलपहल र हल्ला बढ्यो । ती दुई बालक निद्राबाट बिउझिए । आँखा मिच्दै उनीहरु सडकमा आए । पैदलयात्रुसँग पैसा माग्न थाले । उनीहरु भन्दै थिए, ‘दाइ, च्याउच्याउ खान्छौं । २० रुपैयाँ दिनुस् न ।’ पैसा माग्दै हिँडेका उनीहरुलाई कसैले फर्केर पनि हेरेन । पैसा त परको कुरा । तैपनि उनीहरु रोकिएनन् । उनीहरुले बेलुका पनि पेटभरी नखाएकाले बिहानैबाट माग्नुपरेको सुनाए । ‘हामी दाजुभाइ हौं । भाइ ८ वर्षको भयो । म १२ को,’ दाइचाहिँ भन्दै थिए, ‘हिजो लेखनाथमा सुत्यौं । आज राति आउँदा यता ओत लाग्ने ठाउँ नपाएपछि चौतारमा सुतेको दाइ ।’

दिनभरी अगरबत्ति बेचेको बताउने ती बालकले पेट भर्नै माग्नुपरेको सुनाए । ‘अगरबत्तिबाट नाफा भएन । ६० रुपैयाँ थियो, हिजै सकियो । अलिकति बाँकी अगरबत्ति पनि पानीले भिज्यो । अहिले त किन्ने पैसा पनि छैन,’ भाइले दुखेसो सुनाए । घर कता हो, किन यहाँ आएको भन्ने प्रश्नलाई उनीहरुले सुनेको नसुन्यै गरिदिए । भन्दै थिए, ‘भोक लागेको छ । च्याउच्याउ खाने पैसा दिनुस् न ।’

Advertisement

उनीहरु नजिकै भेटिएका ट्याक्सी डाइभरले दिनहुँ जस्तो चौतारामा केही न कोही आएर सुत्ने बताए । ‘यहाँ कसैले कसैको मतलब राख्दैन भाइ । यतातिर ध्यान नै जाँदैन । बालकदेखि वृद्ध सबै हुन्छन्,’ ती ड्राइभरले भने । यसरी सडकमै खाने, सडकमै सुत्नेहरु पोखराका मुख्य चोकमा धेरै भेटिन्छन् । पृथ्वीचोकको पुलमुनिका छाप्रा यस्ता बालबालिका र सडक मानवको खाने, सुत्ने अखडा नै बनेको छ । पुलनजिकै मोटरसाइकल वार्कसप चलाउने इमरान खानका अनुसार सधै त्यहाँ एक हुल मानिसको बास हुन्छ । उनले भने, ‘म बेलुका ७ बजे नै पसल बन्द गर्छु ।

त्यति बेलासम्म पुलमा जाने आउने गरिरहन्छन् । खोइ के छ, त्यहाँ गएर हेरेका छैनौं । तर, भर्खरका युवा, बालबालिका बस्छन् । बिहानै ७ बजे पसल खोल्छु, त्यहीँबाट निस्केको देख्छु ।’ उनले दिनभरी यत्रतत्र गर्दा हातमा लागुऔषध गम लिएर ती बालबालिका हिँड्ने गरेको सुनाए । ‘हातमै प्लास्टिक जस्तो गम बोकेर हिँड्छन् । कहिले लागुऔषध खाएर लठ्ट परेर हिँड्छन् । बाटोमा हिँड्ने मान्छेसँग पैसा माग्छन् । नदिनेसँग रिसाउछन् । केहीसँग त झगडै गर्छन्,’ इमरान भन्छन्, ‘एक दुई पटक त प्रहरीले लखट्यो । फेरि भोलिपल्टै यही आएर बस्छन् ।’

Advertisement

पुलमुनि भेटिएका ६ जनामध्ये कसैले परिचय खुलाउन चाहेनन् । उनीहरु १६ वर्षदेखि २२ वर्षका थिए । आफ्नो परिचय नखुलाए पनि एक जनाले आफू भर्खर सुधार गृहबाट आएको सुनाए । अनुमानित १५÷१६ वर्षका ती बालकले भने, ‘२ वर्ष सुधार गृहमा बसँे । त्यहाँ धेरै सिके । खान, बस्न सबै राम्रो थियो । काम गर्न पनि सिकाउनुहुन्थ्यो । चाहेको सबै कुरा पाइन्थ्यो ।’
जीवनमा के के गर्ने सबै सिके पनि त्यहाँबाट निस्केपछि फेरि आफू सडकमै आएको उनले स्वीकारे । लागुऔषधको नसामा रहेका ती बालकले आफूलाई घर जानै मन नलाग्ने बताए । ‘माया गर्ने पनि कोही छैन । कसैले वास्तै नगरेपछि बाहिरै बस्न मन लाग्छ,’ उनी निराश सुनिए ।

पृथ्वीचोकको बसपार्कमा धेरै बालबालिका बेबारिसे अवस्थामा भेटिने बास्तोला कम्प्लेक्समा व्यवसाय गर्दै आएका ईन्द्र गोर्खाली बताउँछन् । ‘वेवारिसे अवस्थामा सडकमा धेरै भेटिन्छन्, कति त खुट्टै समात्न आउाछन्,’ उनले भने, ‘पसलमा बसेको बेला देख्छु । पैसा नदिए ढुंगाले हानेकै देखेको छु ।’ उनी धेरैजसो बालबालिकाका अभिवाभक वेवारिसे हुँदा स्वतः वेवारिसे बनेको सुनाउँछन् ।

पर्यटनको केन्द्र मानिएको लेकसाइडमै पनि सडक मानव देखिन्छ । उनीहरुको दैनिकी पनि माग्ने, खाने, बजार डुल्ने नै हो । न त उनीहरुको गन्तव्य देखिन्छ, त कुनै उद्देश्य । आज जसरी चलेको छ, भोलि पनि करिब उस्तै गरी बित्छ । केही सडक बालबालिका फेवाताल किनारमा माछा मारिरहेको देखिन्छ । शनिबार लेकसाइडको सडकमा पैदल हिडिरहेका व्यवसायी सुरेज आचार्य पैसा माग्ने बालबालिका भेटिने गरेको बताउँछन् । ‘सडकमा केही नयाँ देख्नेसाथ पैसा माग्ने टोली पनि रैछ । पैसा नदिएसम्म पछ्याइरहे,’ उनले भने, ‘नदिए नराम्रो गाली पनि गर्छन् ।’

सडकमै यसरी भेटिने सडक मानव व्यवस्थापन गर्न पोखरा महानगरले ध्यान दिएको छैन । सामाजिक विकास शाखाकी निर्देशक निर्मला शर्माले १ वर्षदेखि सडक बालबालिकाको उद्धार नगरिएको जानकारी दिइन् । ‘स्थानीयभन्दा पनि बाहिरी जिल्लाबाट आउने धेरै छन् । बालबालिकाको विषयमा महानगर गम्भीर छ,’ उनले भनिन्, ‘यसअघि पनि महानगरले उद्धार र संरक्षणका काम गर्दै आएको छ । अहिले पनि बालबालिकाको हक, अधिकारका विषयमा काम गरिरहेको छ ।’ यसअघि अन्नपूर्ण गाउँपालिकास्थित लेबाडेमा रहेको चिल्ड्रेन नेपालको भवनमा गण्डकी प्रदेश सरकार, मानव सेवा आश्रम पोखरा र पोखरा महानगरको संयुक्त पहलमा असहाय तथा सडक बालबालिकाको उद्धार गरी राख्ने गरिएको थियो ।

सामाजिक विकास शाखाकी निर्देशक निर्मला शर्माले गत वर्ष सडकबाट ४० जनाको उद्धार गरिएको उल्लेख गरिन् । गत वर्षको तुलनामा यस वर्षसंख्या घटे पनि समस्या समाधान भएको छैन । सडक बालबालिकामध्ये केही भारतीय नागरिक छन् । शर्माका सडकमा विदेशी बालबालिका पनि वेवारिसे अवस्थामा भेटिने बताउँछिन् ‘पोखरेली नै सडक बालबालिका हुनुभन्दा पनि बाहिरी जिल्लाबाट आउने धेरै हुनुहुन्छ । यो क्षेत्रमा विभिन्न संघ, संस्थाले काम गरिरहेकाले हामीले समन्वय गर्दै आएका छौं,’ उनले भनिन् ।

अहिलेको संविधानले बालबालिकाको छुट्टै मौलिक हकको व्यवस्था गरेको छ । सडक बालबालिका बालबालिकाले शिक्षा, स्वास्थ्य, पोषण, गास, बास र कपास जस्ता आधारभूत अधिकारबाट वञ्चित छन् । उनीहरुलाई आवास, स्वास्थ्य सेवा, मनोवैज्ञानिक परामर्श, तालिम, शिक्षा, खाना, काम, पारिवारिक, सामाजिक पुनर्मिलन, पुनस्र्थापना, संरक्षण र सचेतना जरुरी छ । महानगरका सडकमा देखिएका सडक बालबालिकाको क्षेत्रमा काम गर्ने चिल्डेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माका अनुसार अहिलेसम्म लेवाडेमा ५३ बालबालिका राखिएको छ । ‘केहीलाई घर पठायौं । केही अझै हुनुहुन्छ । सिमित स्रोत र साधनका बीचमासडक बालबालिकालाई व्यवस्थापन गरिरहेका छौैं,’ उनले भने ।

उनले महानगर र प्रहरीले सम्पर्क गरे बालबालिकालाई संरक्षण दिन आफ्नो संस्था सधै तयार भएको बताए । २० वर्षदेखि सडक बालबालिकालाई संरक्षण गर्र्र्दै आएको बाल हितकारी परियोजना नेपालमा अहिले २५ बालबालिका रहेको कार्यकारी निर्देशक ठाकुर चापागाईं बताउँछन् । राष्ट्रिय बालअधिकार परिषद्को सहकार्यमा बाल हितकारीले सडक बालकालिकाको संरक्षण गर्दै आएको छ । उनले सडकमा भेटिएका बालबालिकाको उद्धार सँगसँगै फेरि सडकमा नै फर्किने अवस्था आउन नदिन सबै सरोकारवालाले काम गर्नुपर्ने औंल्याए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया