‘डेढ वर्षभित्रै बालमैत्री पालिका बनाउने रुपाकाे घोषणा’

समाधान संवाददाता २०७९ असार २१ गते ११:२१

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले आगामी डेढ वर्ष भित्रमा बालमैत्री पालिका घोषणा गर्ने योजनाअघि सारेको छ । अहिलेसम्म कास्कीका कुनै पनि पालिका बालमैत्री घोषणा हुन नसकेको परिपे्रक्ष्यमा पालिकाले महत्वकांक्षी योजना ल्याएको अध्यक्ष नवराज ओझाले बताए ।

सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले सोमबार आयोजना गरेको बालमैत्री स्थानीय शासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरणमा अध्यक्ष ओझाले शिक्षा, स्वास्थ्य, सामाजिक समिति र शाखामार्फत कार्यक्रम गरेर बालमैत्री पालिका बनाउने प्रतिवद्धता गरे । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार प्राय सबै सूचक पूरा गर्न सके पनि सबैको घर घरमा शुद्ध खानेपानी पु¥याउने सूचकलाई पूरा गर्न कठिनाई भएको उनले उल्लेख गरे ।

‘अहिलेसम्म ८५ प्रतिशत घरधुरीमा खानेपानी पुगेको छ । सबैको घर घरमा खानेपानी पुगेको खण्डमा १ वर्ष भित्रमा बालमैत्री पालिका घोषणा गर्न सकिन्छ,’ अध्यक्ष ओझाले भने, ‘खानेपानी आयोजनामा ढिलाइ भएको खण्डमा डेढ वर्षको समय लाग्नेछ ।’ उनले बालमैत्री पालिका घोषणा गर्नका लागि संस्थागत सुधार र पूर्वाधार निर्माणमा कुनै कठिनाई नभएको जानकारी दिए ।
उनका अनुसार रुपामा गण्डकी प्रदेश सरकारका १६ खानेपानी आयोजना सञ्चालित छन ।

Advertisement

तीमध्ये १२ योजना पालिकाको अगुवाईमा पूरा भएका छन । संघीय हुँदै प्रदेशको जिम्मेवारीमा सरेका वृहत थुम्की, अमृत पानी र मज्याङकोट खानेपानी आयोजना ९ वर्ष पूरा हुँदा समेत नसकिएको अध्यक्ष ओझाले बताए । उनले प्रत्यक्ष रुपमा ६४ लाख देखिए पनि समग्रमा ३० प्रतिशत बजेट सामाजिक क्षेत्र भएको जानकारी दिए । पालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले बालमैत्री पालिका घोषणा गर्नका लागि सचेतनामूलक कार्यक्रम र पूर्वाधार निर्माणमा जोड दिइने बताइन् ।

बालि बालिकाको क्षेत्रमा धेरै काम गरेको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेट विनियोजन गरेको उल्लेख गरिन् । उनले सबै प्रक्रिया पूरा गरेर बालमैत्री पालिका घोषणा गर्ने बताइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले सबै सूचक अनुसार काम भए पनि विधि र प्रक्रियामा ढाल्न नसकेको उल्लेख गरे । बालमैत्री स्थानीय शासन कार्यान्वयनको लागि ५ चरणका काम गर्ने जानकारी दिँदै उनले ४ तहमा काम गरेर पाँचौं तहमा दिगोपन दिने बताए ।

Advertisement

बाल हितकारी परियोजना नेपालका परियोजना संयोजक केशव पौडेलले नेपाल सरकारले विसं २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री नगर तथा पालिका घोषणा गर्ने लक्ष्य लिएको बताए । कास्कीका कुनै पनि पालिका बालमैत्री घोषणा हुन नसकेको जानकारी दिदै उनले गण्डकी प्रदेशले अबको ५ वर्ष भित्रमा सबै पालिकालाई बालमैत्री बनाउने घोषणा गरेको उल्लेख गरे ।

बालमैत्री स्थानीय शासनका ५१ सूचकलाई स्थानीय करण गर्न आग्रह गर्दै उनले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका सूचकलाई प्रमाणिकरण गर्नुपर्ने चर्चा गरे । बाल बचाऊ सम्बन्धी १४ सूचक स्वास्थ्यसँग सम्बन्धित भएको जानकारी दिदै उनले बाल संरक्षण सम्बन्धी सूचक चुनौतीपूर्ण भएको उल्लेख गरे । इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले हरेक पालिकाले योजना तर्जुमा गर्दादेखि नै बाल क्लबको संस्थागत रुपमा सहभागिता गराउनुपर्ने जानकारी दिए । उनले कास्कीका हरेक पालिकालाई बालमैत्री बनाउन इन्सेकले सहजीकरण गरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्की सदस्य हर्कबहादुर गुरुङ, रुपा गाउँपालिका वडा नम्बर ७का अध्यक्ष तथा सामाजिक समिति संयोजक कृष्ण सुवेदी, पालिकाका सामाजिक शाखा प्रमुख सीता पौडेल, इन्सेक गण्डकी प्रदेशका कार्यक्रम अधिकृत सवनम शर्मा, इन्सेक कास्की प्रतिनिधि सुशन घिमिरे, जिल्ला बाल मञ्च कास्कीका सदस्य सफलता राई लगायतले बाल अधिकारका विषयमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया