लयमा फर्किदै पर्यटनको राजधानी

राष्ट्रिय समाचार समिति (रासस) २०७९ असार २१ गते १२:३९

वासुदेव पौडेल

पाेखरा ।

कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन्
कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन्
कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल
नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जंगल
सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा
तर सम्पूर्ण शोभाले परिपूर्णछ पोखरा

Advertisement

कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भनेजस्तै पोखरा सबै किसिमले पूर्ण सहर हो । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाले संघीय सरकारसँग माग गरिसकेका छन् ।

कोरोना कहरका कारण शिथिल बनेको पर्यटनको विकल्प पर्यटन नै हो । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहमा उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले कोरोना पूर्वको बीचको समयमा पनि ठूलै लगानी गरे । २ वर्षयता देखिएको कोरोना कहरले भने यहाँका पर्यटन व्यवसायी नराम्रोसँग मारमा परेका छन् । कोरोनाले कतिपयलाई व्यवसाय नै परिवर्तन गर्नेतर्फ सोच्न बाध्य बनायो ।

Advertisement

भ्रमण वर्षभन्दा अघि आएको महामारीले तहसनहस भएको पोखराको पर्यटन क्षेत्र सुध्रिने आशमा पर्यटन व्यवसायी

पछिल्लो समयमा देखिएको पर्यटकको आगमनले पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने अपेक्षा गरिएको होटल एसिया सञ्चालक धर्मराज पन्थीले सुनाए । ‘आगामी दिनमा पर्यटन व्यवसाय पुनःफस्टाउनेमा हामी आशावादी छौं,’ उनले भने । पोखरा दृश्यावलोकनसँगै साहसिक पर्यटनको पनि गन्तव्य हो । यहाँका प्याराग्लाइडिङ, बञ्जीजम्प, जीपलाइन आदिले स्वदेशी एवं विदेशीलाई लोभ्याउने गरेको छ । पछिल्लो समय विदेशीमात्र नभई आन्तरिक पर्यटक पनि साहसिक पर्यटनमा आकर्षित भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारी बताउँछन् । वर्षात् सुरु हुनुअघि प्याराग्लाइडिङमा देखिएको आकर्षणले आफूहरू उत्साहित बनेको उनले सुनाए ।

पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् भने ३ सय ५० हाराहारी नेपाली पाइलट छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनका लागि सराङकोटबाट गर्दै आएको प्याराग्लाइडिङ सार्नुपर्दा आफूहरू चिन्तित बनेको भण्डारीले बताए । पोखरामा साहसिक पर्यटनको आकर्षणका रुपमा रहेको प्याराग्लाइडिङबारे राम्रोसँग सोच्नु जरुरी रहेको उनको भनाइ छ ।
यहाँ सुविधा सम्पन्न सवारी साधन पनि छन् । नेपाल भ्रमण वर्षलाई लक्षित गरी सुविधा सम्पन्न सवारी साधन बढेको नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजङ्ग गुरुङले बताए ।

पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन ३५ लाखका कारदेखि सुविधा सम्पन्न डेढ दुई करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । नेपाल पर्यटन यातायात व्यवसायी संघसँग हाल विभिन्न क्षमताका ४ सय पर्यटक सवारीसाधन आबद्ध छन् । कोरोना कहरले लामो समयसम्म थन्कनु परेका पर्यटक यातायातका साधनले पछिल्ला समयमा भने काम पाउन थालेका छन् । चैतयता पोखरामा भारतीय पर्यटकको राम्रो आगमन भएको होटल एलेगेन्ट गौरीघाट लेकसाइडका सञ्चालकसमेत रहेका गुरुङले बताए ।

पोखरामा नेपाली नयाँ वर्षका अवसरमा पनि आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिएको थियो । सबै मौसममा पोखरा भन्ने नारालाई चरितार्थ पार्न पोखरा पर्यटन परिषद्ले बर्सेनि असार १५ गते गर्दै आएको असारे रोपाइँ महोत्सव हालै भएको छ । महोत्सवमा स्वदेशी एवं विदेशीको उल्लेख्य उपस्थिति रह्यो । साताअघिसम्म भारतीय पर्यटकका कारण ५० प्रतिशत होटल भरिभराउ रहेको पश्चिमाञ्चल होटेल संघ (हान) पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले सुनाए पोखराका होटलमा मात्रै पौने ४ खर्ब लगानी भइसकेको उनले बताए । पोखरामा पर्यटकस्तरीय होटल १ हजार २ सय रहेको उनी बताउँछन् ।

यस पटक उत्तर प्रदेश, विहारल गायतका क्षेत्रबाट ठूलै संख्यामा पर्यटक पोखरा आएका छन् । पोखरा आएका भारतीय पर्यटक यहाँको दृश्यावलोकनसँगै कतिपय मुक्तिनाथसम्म पुगेर फर्कने गरेको व्यवसायीले बताए । सन् १९६० देखि हिप्पी पर्यटकको आगमनबाट सुरु भएको पोखराको पर्यटनमा पछिल्ला वर्षमा पूर्वाधार थपिनेक्रम बढरहेको यहाँका व्यवसायी बताउँछन् । पूर्वाधार विकासकै क्रममा पछिल्लो समयमा पुम्दीकोटमा बनेको विशाल महादेव मूर्तिसहितका संरचना आदिले यहाँका गन्तव्यस्थलमा समेत वृद्धि भएको छ । पछिल्लो समय सेदी–राङकोट केबुलकारसहित विभिन्न पूर्वाधारमा ठूलै लगानी भएको छ ।

पोखराको पर्यटनमा यसअघि भूकम्प, नाकाबन्दी, हुदहुद (एक खालको हिमआँधी), अन्नपूर्ण क्षेत्रका हिमपहिरो जस्ता विभिन्न चुनौतीको सामना गर्नुपरेका अवस्थामा पछिल्लो समयमा कोरोना भाइरसले नराम्रोसँग प्रभाव पारेको नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले बताए । होटल एडमायरका सञ्चालकसमेत रहेका पाण्डेले आगामी सेप्टम्बरपछि पोखराको पर्यटन पूर्ववत् अवस्थामा फर्कने अपेक्षा सुनाए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया