बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने: प्रदेशसभा सदस्य बस्नेत

राष्ट्रिय समाचार समिति (रासस) २०७९ असार २१ गते १५:२०

पोखरा ।
गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् । बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए ।

बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए । मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताए । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताए । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गरे ।

लेखबहादुर थापाले बजेट जनमुखी रहेको बताए । करको दायरा फराकिलो बनाउनुपर्ने उनको भनाई थियो । धनमाया पोखरेल लामाले सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेशमा देखिने विवाद तथा समस्या यहाँ नै समाधान गर्नुपर्नेमा जोड दिए । उनले जनताका पक्षमा सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए । सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताए । योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उनले बताए । यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाइ छ ।

Advertisement

भागवत प्रकाश मल्लले जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। मोहनप्रसाद रेग्मीले बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बताए। सत्तापक्ष आफैँभित्र लुछाचुँडीमा लागेको बताउँदै उनले जनताका अपेक्षालाई ध्यान नदिइएको बताउनुभयो । आजको छलफलमा इन्द्रलाल सापकोटा, विनोद केसीलगायत सदस्यहरूले भाग लिएका थिए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया