स्थानीय तह

‘फार्मेसी बन्द हुँदैन,नागरिक प्रति जिम्मेवार छौं’ अध्यक्ष लालचन

सुन्दरकुमार थकाली २०७९ असार २१ गते २१:५४
अध्यक्ष मोहनसिंह लालचन

जोमसोम–

मुस्ताङको एक मात्र जिल्ला अस्पताल जोमसोममा संञ्चालित फार्मेसी सेवा बन्द नहुँने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताएका छन् ।घरपझोङ गाउँपालिकाद्धारा मंगलबार जोमसोममा आयोजित पहिलो नागरिक सुनुवाई कार्यक्रममा अध्यक्ष लालचनले नागरिकको स्वास्थ्य सेवाप्रति घरपझोङ गाउँपालिका संवेदनशील रहेको उल्लेख गरे ।

घरपझोङ गाउँपालिकाको नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरुले फार्मेसी सेवा बन्द हुने हो ? भनी उठाईएको प्रश्नमा अध्यक्ष लालचनले हामीले फार्मेसी कर्मचारी प्राविधिकको करारको दरबन्दी कटौती नियोजित रुपले गर्न चाहेका होईनौ र अस्पतालको सेवा प्रति अरु जिम्मेवार निकाय जवाफदेही छन् की छैनन् भन्ने मापन गर्न खोजीएको स्पष्ट पारे ।‘ जोमसोम अस्पताल प्रदेश मातहतमा छ,अरु पालिका पनि जिल्लामा छन्,’,अध्यक्ष लालचनले भने,अस्पताल प्रति सर्वत्र चाँसो देखियो,यो खुसीको कुरा पनि हो,जोमसोम अस्पतालमा बग्रेल्ती समस्यै समस्याका चाङ छन्,ति समस्याको गाँठो फुकाउन हामी कटिवद्ध रहन्छौं ।’

Advertisement

नागरिकमा उठेको प्रश्नको जवाफ दिदै अध्यक्ष लालचनले गाउँपालिकाले गर्ने हरेका क्षेत्रको बजेट उपलब्धिमूलक हुनुपर्ने बताए ।कतिपय योजनाहरु वडास्तरबाटै छनौट भई आउने भएकाले कतिपय राम्रा योजना छनौट हुन छुटेको हुनसक्छ र आगामी वर्षहरुको कार्यक्रममा वास्तविक उपलब्धिमूलक योजना छनौट गरी पालिकामा पेश गर्न वडास्तरलाई निर्देशन दिएका छन् ।

मुस्ताङ जिल्ला कृषि र पर्यटकीय हब भएको र यहाँका नागरिकको जिवनस्तर उकास्न र आर्यआजर्न गर्न सक्ने श्रोत निर्माण गर्न गाउँपालिका कटिवद्ध भएको र आर्थिक स्वरोजगारमूलक कार्यक्रम व्यवहारिक हुनुपर्ने सुझाए । संघीयताको पहिलो कार्यकालमा घरपझोङमा महत्वकाँक्षी योजना मिनी मुस्ताङको प्रारम्भिक चरणमा सुरुआत भएपनि यसको कार्यान्वयनमा बजेट व्यवस्थापनमा चुनौती रहेको अध्यक्ष लालचनले स्पष्ट पारे ।

Advertisement

गाउँपालिकाको सीमिति बजेटले ५२ करोडको परियोजना सम्भव नभएको उल्लेख गर्दै अध्यक्ष लालचनले,’संघीय र प्रादेशिक सरकारको सहयोग मिलेमा गाउँपालिका मिनि मुस्ताङको परियोजना निर्माणमा जुट्ने जनाए । घरपझोङमा संघीय सरकारको यारुझो भ्यु टावर र बृहत कालिगण्डकी तटबन्ध, जस्ता योजनाहरु बजेट अभावमा अधुरो रहेको उल्लेख गर्दै त्यसको निरन्तता पालिकाको क्षमता भन्दा माथि रहेको बताए । विगतका योजनाहरु कार्यान्वयन गर्न उपल्लो निकायमा पहलकदमी रहने उल्लेख गर्दै स्थानीय तहको पहिलो कार्यकालमा भएका सानातिना योजनाहरु कार्यान्वयन भएको अध्यक्ष लालचनको भनाई छ । अध्यक्ष लालचनले सरकारी जग्गा पालिकाको स्वामित्वमा ल्याउने कानुन निर्माण भईनसकेको र त्यस्ता जग्गाहरुलाई लिजमा ल्याउन अप्ठ्यारो परेको सुनाए ।

घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक जमुना थकालीले मुस्ताङमा सानातिना घटनाहरु मुखियाबाटै समाधान हुने भएकाले त्यस्ता घटना न्यायिक समितिमा आउन नसकेको बताईन् । उनले जनतालाई फौजदारी मुद्धा बाहेक अन्य घटनाहरु समाधान गर्न न्यायिक समिति कटिवद्ध रहेको उल्लेख गरिन् ।

‘हामीले स्थानीय तह न्यायिक सम्मेलनमा स्थानीय स्तरको न्यायिक समितिमा कानुन विज्ञ आवश्यक छ भनी ज्ञापनपत्र पेश गरेका थियौं,’उपाध्यक्ष थकालीले भनीन्,‘ यदी न्यायिक समितिमा विषय विज्ञको व्यवस्था गरिएमा न्याय सम्पादन प्रभावकारी हुनेछ ।’ लक्षित बर्गहरुलाई उपयोगी हुने कार्यक्रम वडास्तरबाटै छनौट हुने सके उपलब्धिमूलक हुने उपाध्यक्ष थकालीले बताईन् ।
नागरिक सुनुवाईका क्रममा घरपझोङका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आर्चायले घरपझोङ गाउँपालिकाले पेश गरेको फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईड निर्माण गर्न आगामी आर्थिक वर्षमा संघीय सरकारबाट १ करोड बजेट बिनियोज भएको जानकारी दिए । घरपझोङ र वडा स्तरमा सेवाप्रति कुनै गुनासो भएमा ५ वटै वडामा नागरिक बडापत्र स्थापना भएको बताए ।

‘ घरपझोङमा शववाहन आवश्यक छ,पहिला हामीले शववाहन खरिद गर्न बजेट समेत छुट्याएका थियौ,’ प्रशासकीय अधिकृत आचार्यले भने,प्रदेशले खरिद गर्ने भनीएपछि त्यो बजेट अन्य शिर्षकमा रकमान्तर ग¥यौं, शववाहन आउन सकेन ,अब हामी त्यसमा जोड दिन्छौं ।’ घरपझोङका कतिपय सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी बजेट अभावमा कटौती भएको र विद्यालय जोगाउन पालिकाले आवश्यकता औचित्यताका आधारमा करार शिक्षक राखेर कक्षा सञ्चालन गर्ने उनले जानकारी दिए ।

प्रशासकीय अधिकृत आचार्यले कर्मचारी प्रोत्साहन भत्तालाई थप वैज्ञानिक बनाएर लैजान जोड दिने बताए ।मुस्ताङ जिल्ला भौगोलिक र प्राकृतिक रुपले जिवन्त रहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत आचार्यले जोमसोममा देखिएको अव्यवस्थित पार्किङ समस्यालाई समाधानको बाटो अवलम्वन गरिने बताए । जोमसोममा पालिकालेनै पार्किङ व्यवस्थित गर्न बसपार्क निर्माण गरेको र त्यसलाई थप स्तरोन्नति गर्ने काम भईरहेको प्रशासकीय अधिकृत आचार्यकोको भनाई छ ।

मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले घरपझोङले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गरे ।प्रजिअ शर्माले घरपझोङले गरेका तमाम कामहरु र आफु माथि उठेका प्रश्नहरुले स्थानीय तहलाई थप जिम्मेवार बनाउने र यसले नागरिक र पालिकाबीचको सम्वन्धलाई बलियो बनाउदै लैजाने धारणा राखे ।

संघीयतापछि मुस्ताङ जिल्लामै पहिलो पटक घरपझोङले नागरिक सुनुवाई गरेको हो ।नागरिकलाई प्रवाह गरेको सेवा र विकास निर्माणका बिषयमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा विभिन्न सरोकारवाला निकायले प्रश्न र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन ,पूर्वाधार र सामाजिक विकास लगायतका बिषयमा प्रश्न गरिएको थियो ।नागरिक सुनुवाईमा सहभागीहरुले उठाएको प्रश्नमा घरपझोङका बिषयगत शाखाका प्रतिनिधिहरुले प्रश्नको उत्तर दिएका थिए । नागरिक सुनुवाईको सहजीकरण जियो नेट कनेक्सन प्रालिका सहजकर्ता प्रकास ढकालले गरेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया