अचाक्ली बढ्यो भाउ

प्रमिला कुँवर २०७९ असार २२ गते १०:११

पोखरा ।
बजारमा अहिले १ लिटर तोरीको तेलको मूल्य ४ सय पुगेको छ । १ महिना अघिसम्म तोरीको तेल लिटरको मूल्य ३ सय ६० थियो । अहिले धेरै थोकको भाउ बढेको छ, त्यसमा पनि सबैभन्दा बढी मूल्यवृद्धि खानेतेलमा भएको छ । १ लिटर भटमासको तेलको भाउ ३ सय र १ लिटर सनफ्लवार तेलको भाउ ३ सय ५० रुपैयाँ छ । नेपाली घिउ ११ सय र डाल्डा घिउ ३ सय ३० रुपैयाँ किलो बिक्री भइरहेको छ । ग्यासमा ५० रुपैयाँ बढेको छ । वैशाखमा १ हजार ७ सय ५० रुपैयाँ थियो जेठमा भाउ बढेर १ हजार ८ सय पुगेको छ ।

इन्धनको मोलको उचारचढाव, नयाँ बजेट, अनुगमनको अभाव जस्ता कारणले मूल्यवृद्धि अनियन्त्रित

गोलभडाको मूल्य ६० रुपैयाँ पुगेको छ । प्याजको मूल्य भने प्रतिकलो ४० रुपैयाँ छ । लसुनको भाउ प्रतिकिलो २ सय २० रुपैयाँ छ । लसुको सिजन भए पनि भाउ भने उच्च नै छ । अदुवा प्रतिकिलो १ सयमा बिक्री भइरहेको छ । हरेक दिन बिहान, बेलुका भान्छामा प्रयोग हुने भएकाले लसुन, अदुवा महँगो हुने खुद्रा व्यवसायी बताउँछन् । पछिल्लो १५ दिनमा किलोमै २० रुपैयाँ चिनीको मूल्य बढेको छ । भारतले जुन १ तारिखदेखि चिनी निर्यातमा रोक लगाएको छ ।

Advertisement

भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनी उद्योगी तथा व्यवसायीले किलोमै २० रुपैयाँ बढाएका छन् । यसअघि ९० रुपैयाँमा पाइने चिनी भारतको प्रतिबन्धपछि किलोको १ सय १० पुगेको छ । चामल प्रतिबोरा १ सय रुपैयाँ बढेको छ ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिल कोइराला महंगी बढ्नुमा सरकारले रुस युक्रेन युद्धको कारण देखाएको बताउँछन् । तेलका लागि आवश्यक कच्चा पदार्थ रुसबाट आयात गरिने हुँदा उद्योगले पनि रुस युक्रेन युद्धको बहाना गर्दै मूल्य बढाएका छन् । सरकार, उद्योगी र व्यवसायीको मिलेमतोमा महंगी बढेको उनको आरोप छ ।

‘एक महिनाको अवधिमा मात्र ४-५ पटक मूल्यवृद्धि भएको छ । सरकार तथा उद्योगीले क्रय मूल्य सार्वजनिक गरेको छैन । उत्पादित वस्तुमा एमआरपी पनि राखेको छैन, जसले गर्दा व्यवसायीले मनपरि मुल्यमा वस्तु बिक्री गरिरहेका छन्,’ कोइरालाले भने । महँगी वृद्धिमा चुनावी चलखेलसमेत हुन सक्ने उनको भनाइ छ । उद्योगी तथा व्यवसायीले मौका यही हो भनेर मनपरी मूल्यवृद्धि गरेको उनको अनुमान छ ।

Advertisement

खाद्य अनुगमन समिति सदस्यसमेत रहेका कोइरालाले सरकारले साथ नदिँदा अनुगमन सफल हुन नसकेको गुनासो गरे । उनी भन्छन्, ‘हामीले व्यवसायीको क्रय मूल्य र बिक्री मूल्यबीचको फरकमात्र हेर्ने हो, बिक्री मूल्य निश्चित निर्धारण नहुँदा अनुगमन कार्य गुणस्तरीय हुन सकेको छैन ।’ बैंकले ऋणको ब्याजदर चर्को लिँदा महंगी बढेको खुद्रा व्यापार व्यवसायी संघ सहकारी कास्की अध्यक्ष धनीराम बरालले दाबी गरे । ‘बाहिरबाट ल्याउँदा डलरमा किन्नुपर्छ अहिले डलरको भाउ बढेको छ, जसले गर्दा भन्सारबाटै मूल्य बढेर आएको हुन्छ,’ उनले भने । भन्सारबाट उद्योग, खुद्रा व्यवसायीसम्म पुग्दा महंगी बढेको उनको भनाइ छ । सरकारले उद्योगी, व्यवसायीलाई सुलभ ब्याजदरमा क्रण उपलब्ध गराएमा, अवसरवादी प्रवृति हटाएमा महंगी घट्ने उनको भनाइ छ ।

जनताले निष्पक्ष र नियमित कर तिर्दा पनि राज्यले महँगी नियन्त्रण गर्न नसकेको खुद्रा तथा किराना व्यवसायी संघ कास्की अध्यक्ष लीलाधर चापागाईको भनाइ छ । महंगीको मुख्य कारण पेट्रोलकोे मूूल्य वृद्धि भएको उनी बताउँछन् । ढुवानी बढ्दा सामान महंगो पर्न गएको उनले सुनाए । ‘देशमा उत्पादन छैन, बाहिरबाट आयात गरिने सामानमा त्यो देशले प्रतिबन्ध लगाएको छ । बजारमा सामान नहुदा महंगी स्वतः बढेको छ,’ उनले भने ।

राज्यले निगरानी, नियन्त्रण गर्ने, जुन देशमा सामान सस्तो पाइन्छ । त्यही देशबाट आयात गर्दा महंगी घट्ने उनले सुनाए । अहिले गेडागुडीको पनि भाउ बढेको छ । खुद्रा व्यवसायीका अनुसार १ महिनाको अवधिमा किलोकोे १ सय ५० रुपंयाँ पर्ने मसुरोको दाल १ सय ६० पुगेको छ । १ किलो राजमाको दाल १ सय ८० रुपैयाँ पुगेको छ । चनाको दाल प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री हुन्छ । खुद्रा पसलैपिच्छे मूल्य फरक फरक छ ।

फलफूल, तरकारीको भाउ पनि आकासिएको छ । स्याउ प्रतिकिलो ३ सय ३० रुपैयाँसम्म बिक्री भएको छ । अघिल्लो वर्ष किलोको २ सय रुपैयाँ थियो । केरा दर्जनको १ सय २० रुपैयाँ छ । सिजन भएकाले आँपको मूल्य भने घटेको छ । आँप किलोको ८० रुपैयाँमा कारोबार भइरहेको छ । बन्दा, काउलीको भाउ किलोको ९० देखि १०० रुपैयाँसम्म छ । कागती किलोको २ सय छ । पछिल्लो समय महँगीले आकास छोएपछि सर्वसाधारणलाई गुजारा गर्न कठिन भएको छ ।

अचाक्ली बजारभाउ बढे पनि न सरकाले प्रभावकारी अनुगमन गर्न सकेको छ, न बजारमा हस्तक्षेप नै गरेको छ । उपभोक्तालाई राहत दिने कार्यक्रमसमेत बजेटमा देखिएनन् । चालु आर्थिक वर्षमा खाद्य पदार्थमा ७ प्रतिशत र गैरखाद्य र सेवा समूहमा ८ प्रतिशत मूल्यवृद्धि नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया