पालिकामा चेम्बर बनाउन जनप्रतिनिधिकाे सुझाव

समाधान संवाददाता २०७९ असार २२ गते ११:३४

पोखरा ।
गाउँपालिकाका जनप्रतिनिधिले उद्योग, व्यवसाय प्रवद्र्धनका लागि पालिका तहमा निजी क्षेत्रको संस्थागत संरचना बनाउन आग्रह गरेका छन् । उनीहरुले त्यसको नेतृत्व पोखरा चेम्बर अफ कमर्स कास्कीलाई लिन आग्रह गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सदरमुकाम केन्द्रीत उद्योग, व्यवसायलाई पालिका स्तरमा विस्तार गर्न सुझाव दिए ।

उद्योग, व्यवसाय प्रवद्र्धनका लागि पालिका तहमा निजी क्षेत्रको संस्थागत संरचना बनाउन आग्रह

चेम्बरले सबै पालिका स्तरमा उद्योग, व्यवसाय प्रवद्र्धनका लागि कास्कीका पालिकाका अध्यक्ष र उपाध्यक्षसँग मंगलबार गरेको परामर्श छलफलमा अध्यक्ष केसीले चेम्बरले पालिका स्तरमा संगठन बनाए काम गर्न सजिलो हुने बताए । ‘स्थानीय उत्पादनको बजारीकरणदेखि पर्यटन, कृषि र उर्जाको क्षेत्रमा लगानी प्रवद्र्धनका लागि निजी क्षेत्रसँग एकसाथ अगाडि बढ्न पालिका तयार छ,’ अध्यक्ष केसीले भने, ‘पालिका स्तरमा संस्थागत उपस्थिति भए उद्योग व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने थियो ।’ उनले सबै नागरिकलाई उद्यमी र व्यवसायी नबनाएसम्म समृद्धि हासिल गर्न नसकिने तर्क गरे ।

Advertisement

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आरन, सिलाई कटाई, ठेकी, मदानी जस्ता परम्परागत सीप तथा उद्योगको प्रवद्र्धनमा पालिका लागेको जानकारी दिए । उनले पर्यटन, कृषि र पशुपालनको क्षेत्रमा सहकार्य गर्न निजी क्षेत्रसँग आग्रह गरे ।
मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले उद्योग, व्यवसायको क्षेत्रमा लगानी गर्न आएको खण्डमा आवश्यक वातावरण तथा संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता गरे । पर्यटनको प्रशस्त सम्भावना भए पनि पालिकामा सुविधा सम्पन्न होटल नभएको जानकारी दिँदै उनले समग्र मादीको समुद्धिको लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

चेम्बरलाई पालिका स्तरको संरचना बनाउन आग्रह गर्दै अध्यक्ष गुरुङले समग्र रुपमा मादीको कृषि, ऊर्जा र पर्यटन प्रवद्र्धनको लागि निजी क्षेत्रबाट ठूलो अपेक्षा गरेको जनाए । गण्डकी प्रदेश चेम्बर अफ कमर्स अध्यक्ष किसान सुनारले निजी क्षेत्रलाई निश्चित प्रतिशत दिएर जिम्मा दिए राजस्व बढ्न सक्ने दाबी गरे । उनले निजी क्षेत्रले राजस्व संकलनको जिम्मा पाए धेरैभन्दा धेरै उद्योगी, व्यवसायीलाई समेट्न सक्ने र करको दायरा बढाउने सहयोग पुग्ने चर्चा गरे । पोखरा महानगरपालिकाले राजस्व संकलनको जिम्मा पोखरा उद्योग वाणिज्य संघलाई दिएको स्मरण गराउँदै उनले पालिकाले समेत त्यस्तो अभ्यास गर्न सक्ने प्रस्ताव गरे ।

Advertisement

गण्डकी प्रदेश सरकारले पालिका स्तरमा औद्योगिक ग्राम निर्माण गर्ने योजनाअघि सारेको उल्लेख गर्दै उनले १ पालिका, १ उत्पादनको लागि चेम्बरले सहजीकरण गर्ने बताए । संस्थाका अध्यक्ष यमनाथ पौडेलले चेम्बरले पोखरा महानगरपालिका वडा स्तरमा इकाइ तथा पालिका स्तरमा संरचना बनाउने निर्णय गरेको जानकारी दिए । कास्की ४ पालिका स्तरमा संयोजक तोकेर संस्थागत गतिविधिअघि बढाउने योजना रहेको उल्लेख गर्दै उनले रुपामा चेम्बरका बस्तुगत तर्फका उपाध्यक्ष उमराज बास्तोला, मादीमा महासचिव नवराज ओझा, माछापुच्छे«मा सचिव विष्णुप्रसाद बास्तोला र अन्नपूर्णमा कार्यसमितिका सदस्य सुरेन्द्र गुरुङलाई संयोजन गर्ने जिम्मेवारी दिइएको जानकारी दिए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङ, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, वस्तुगततर्फका उपाध्यक्ष उमराज बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमराज सुवेदी, महासचिव नवराज आचार्य, सल्लाहकार प्रवेशचन्द्र उप्रेती र सचिव विष्णुप्रसाद बास्तोलाले उद्योग, व्यवसायको प्रवद्र्धनका लागि सहकार्य गर्ने बताए ।

तपाईको प्रतिक्रिया