हरेक वर्ष २ हजारभन्दा बढी बालबालिकालाई क्यान्सर

काठमाडौं ।
नेपालमा वार्षिक २ हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले मंगलबार संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर ३ लाख तथा नेपालमा २ हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।
कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी डा अन्जली पण्डितले बालबालिकालाई बढी मात्रामा रगतको क्यान्सर हुने गरेको बताइन् । उनले रगतबाहेक मस्तिष्क तथा ढाड, ग्रन्थी, आँखा, हड्डी , मिर्गाैला, मांसपेशी लगायतमा क्यान्सर हुने देखिएको बताइन् ।
डा पण्डितले घाँटीमा गाँठो देखिनु, गिजाबाट रगत आउनु, आँखामा धब्बाहरु देखिनु, गालामा ट्युमर देखिनु लगायत क्यान्सरका लक्षण भएकाले यसको समयमै उपचार गर्नुपर्नेमा जोड दिइन् । उनले समयमै क्यान्सर पत्ता लगाउन सके उपचारले निको हुनेसमेत जानकारी दिइन् । डा पण्डितले बालबालिकामा हुने क्यान्सरमध्ये बालकलाई ३ वर्ष र बालिकालाई २ वर्षमा उपचार गरी निको पार्न सकिने उल्लेख गरिन् ।
काठमाडौँ मेडिकल कलेज एन्ड शिक्षण अस्पतालका डा. आशीषलाल श्रेष्ठले बालबालिकामा हुने क्यान्सरको उपचार नेपालमा नै सम्भव रहेको बताए । डा श्रेष्ठले गर्भवती अवस्थामा मद्यपान तथा धूमपान गर्नाले, विकिरण तथा रसायनका कारणले, प्रदूषित वातावरण तथा अत्यधिक कीटनाशकको प्रयोगले र गर्भावस्थामा भ्रूणमा देखा परेको वंशाणुगत असन्तुलनले बालबालिकामा क्यान्सरको समस्या हुने गरेको देखिने बताए ।
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विश्वव्यापी समस्याका रुपमा रहेको बाल क्यान्सरबाट नेपालमा पनि थुप्रै बालबालिकाहरु पीडित भएका र यसको रोकथामका लागि महानगरपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया