आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछः मुख्यमन्त्री

समाधान संवाददाता २०७९ असार २३ गते १०:३६

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसञ्चार विधेयकले यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न नहुने भन्दै त्यसबारे आफूले निर्देशन दिइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको महाधिवेशन लक्षित भेलालाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि लडेका सञ्चार माध्यममाथि अंकुश लगाउने गरी आमसञ्चार विधेयक नआउने विश्वास दिलाए । विधेयक संसदमा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह, सुझाव अनुसार नै प्रक्रियाअघि बढाउन निर्देशन दिएको उल्लेख गरे ।

‘रजिस्ट्रारको विषयमा मात्रै कुरा मिलेको छैन । कुन श्रेणीमा राख्ने भन्नेमा मात्रै अलमलिएको छ,’ उनले भने, ‘यसले छिट्टै निकास दिनेछ ।’ गण्डकी प्रदेश सरकारले लोककल्याणकारी काम गरेको उनले दाबी गरे । गठबन्धनको सरकार भएका कारण पार्टीले सोचेअनुरुप काम नभए पनि तुलनात्मक रुपमा सन्तोषजनक भएको सुनाए ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले आर्थिक वृद्धिदर ८ प्रतिशतसम्म पुग्ने दाबी गरे । कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, सहसंयोजक शिरोमणि बराल, कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, युनियनका सल्लाहकार गंगाधर पराजुली, राजबहादुर गुरुङ, नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइराला, कांग्रेस महासमिति सदस्य सरस्वती गुरुङ, सचिव प्रदीप पौडेल लगायतले प्रेस युनियनको महाधिवेशनका बारेमा बोलेका थिए ।

Advertisement

कार्यक्रम युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको थियो ।

अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा
नेपाल प्रेस युनियनको ९ औ आसन्न महाधिवेशनमा अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवार घोषणा गरेकी छन् । पोखरामा बुधबार आयोजित युनियन कास्कीको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेतालाई साथमा राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।

Advertisement

युनियनको पूर्व उपाध्यक्षसमेत भएकाले अब अध्यक्षका लागि मैदानमा होमिएको उनले बताइन् । विन्दुले कुनै समूह मिले समूहबाट नभए स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी रहने बताइन् । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत उनको स्थायी घर स्याङ्जा हो ।

पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । हालका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र राजबहादुर गुरुङले पनि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे । पत्रकार महासंघ कास्की अध्यक्षसमेत रहेकी बिमला भण्डारीले पनि पदाधिकारीमै उम्मेदवारी दिने घोषणा गरेकी छन् । केन्द्रीय सदस्यका लागि रेम विक, परशुराम शर्मा लगायतले चाहना व्यक्त गरेका छन् । युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौडामा हुँदै छ ।

तपाईको प्रतिक्रिया