साउनमा दोहोरी गीत प्रतियोगिता, प्रथम पुरस्कार ६ लाख

समाधान संवाददाता २०७९ असार २३ गते ११:४६

पोखरा ।
लोकगायक कल्याण शेरचनको ७६ औं जन्म जयन्तीको अवसरमा पोखरामा राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता हुने भएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपाल पोखराले साउन १२ देखि १४ गतेसम्म प्रतियोगिता गर्न लागेको हो ।

जन्म जयन्तीमा इन्द्रेणी कार्यक्रमसमेत हुने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिए । उनले गण्डकी प्रदेशको राजधानी पोखरामा लोकबाजाको संग्रहालय निर्माण गर्न तथा लोक गायक स्रष्टा, शिल्पी कल्याण शेरचनको प्रतिमा निर्माण गर्न प्रतियोगिता गर्न लागेको बताए । गीत संगीततर्फ नारायण रायमाझी र शिक्षाप्रेमी योगेन्द्रबहादुर बस्नेत (मरणोप्रान्त)लाई जनही २५ हजार नगदसहित सम्मान गर्ने कार्यक्रम छ ।

‘शिक्षा र खेलकुदको क्षेत्रमा समेत योगदान पुर्‍याएका शेरचनको प्रिय विधा लोक दोहोरीगीत प्रतियोगिता गर्न लागेका छौं,’ अध्यक्ष ह्योल्मोले भने, ‘विगतका वर्षमा शेरचनको जयन्तीमा काठमाडौं र पोखरामा कौरा, मादल बादन प्रतियोगिता, सारंगी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता भएका छन् ।’ उनले प्रतियोगिताबाट ५५ लाख आम्दानी र ३९ लाख ५० हजार खर्च हुने जानकारी दिए ।

बचत १५ लाख ५० हजारबाट शेरचनको शालिक निर्माण गर्ने योजना छ । प्रतिष्ठानका सचिव जीवन दाहालले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वाना हुने समूहलाई क्रमशः ६ लाख, ४ लाख, २ लाख र १ लाख नगद प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई जनही ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट कलाकारलाई बेलायतको कार्यक्रममा सहभागी गराइने कार्यक्रम रहेको सचिव दाहालले बताए ।

प्रतियोगितामा ४० देखि ४५ समूहले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ । प्रतियोगिताको निर्णायक संयोजकमा रमेश बिजी छन् । उनले प्रतियोगिताका लागि भाका सार्वजनिक गरी भाकावापत स्रष्टालाई रोयल्टी प्रदान गरिने उल्लेख गरे । दाहालले इन्द्रेणी साँस्कृतिक समाज काठमाडौंले प्रायोजनबापत १० लाख प्रदान गर्ने र सबै गीत छायांकन गरी इन्द्रेणीको युट्युब च्यानलबाट प्रशारण हुने बताए ।

पोखरा सभागृहमा हुने कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान केन्द्रीय समिति, गण्डकी तथा पोखरा प्रज्ञा प्रतिष्ठान, हिमाली साँस्कृतिक परिवारको सहकार्य छ । कार्यक्रममा प्रतिष्ठानका सदस्य शंकरबिरही गुरुङ र स्रष्टा सम्मान समितिका संयोजक खेम गुरुङले समेत प्रतियोगिताबारे जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया