महिला उद्यमी भन्छन्: स्थानीय उत्पादनले बजार पाएन

समाधान संवाददाता २०७९ असार २३ गते ११:५९

पोखरा ।
गण्डकी प्रदेशका महिला पर्यटन व्यवसायी एवं उद्यमीले स्थानीय उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइएका उत्पादनले बजार नपाउँदा व्यवसाय नै धरासायी भएको उनीहरुले बताए । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आइतबार पोखरामा गरेको ‘पर्यटकीय उत्पादनको विकास र प्रवद्र्धनमा महिलाको भूमिका’ विषयक कार्यक्रमका वक्ताले सरकारका निकायले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा सहयोग गर्नुपर्ने धारणा राखे ।

बागलुङ उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिकी अध्यक्ष भगवती खत्री घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्नुपर्ने पक्षमा छिन् । ‘घरेलु रक्सी बेचेर अहिले पनि कतिको परिवार पालिएको छ,’ उनले भनिन्, ‘भित्रभित्र लुकाएर बेच्नुभन्दा व्यवसायको रुपमा कसरी बजारीकरण गर्न सकिन्छ भन्नेतिर सोच्नुपर्छ ।’ बागलुङमै बनेको वाइनले बजार नपाएको तर विदेशी वाइन छ्यापछ्याप्ती भएको दुखेसो उनले पोखिन् । भनिन्, ‘विदेशीभन्दा स्थानीय वाइन नै राम्रो छ तर बजार पाउन सकेको छैन ।’ महिलाको उत्पादनले बजार नपाउने समस्या बागलुङमा पनि रहेको उनले सुनाइन् ।

बागलुङमा अचारका लागि प्रयोग हुने भांगो, लोकताको नेपाली कागज, डायरी, खाम, अल्लोको झोलाले बजार पाउन सकेका छैनन् । स्थानीय स्तरमै उत्पादन हुने त्यस्ता बस्तुलाई बाहिरबाट आउने सामग्रीले हस्तक्षेप गरेको उनको अनुभव छ । ‘कच्चा पदार्थ बाहिरबाट ल्याउँदा आकर्षक र सस्तो पर्छ,’ उनले भनिन्, ‘स्थानीय सामग्री प्रयोग गरेको उत्पादन महँगो हुन्छ । त्यस कारण व्यापार व्यवसाय फस्टाउन सकेको छैन ।’

मनाङकी पर्यटक गाइड मनु गुरुङ स्थानीय उवाबाट बन्ने रक्सीलाई ब्रान्डिङ गर्न चाहन्छिन् तर उनी त्यस विषयमा अनविज्ञ छिन् । मनाङकै आलु, फापर, सिमी, उवा, च्याउले बजार पाएको छैन । पदयात्रा मासिँदा त्यस क्षेत्रका महिला उद्यमीको आयआर्जन खस्किएको उनले सुनाइन् । ‘बाटो पुगेपछि आन्तरिक पर्यटक मोटरसाइकलमा ओहोरदोहोर गर्छन्, यसले पर्यटकको बसाइँ अवधि घटाएको छ,’ उनले भनिन्, ‘छोटो समयमा बढी उचाइमा जाँदा तिलिचोमा लेक लाग्ने समस्या पनि देखिएको छ ।’

लमजुङकी महिला उद्यमी पुण्यकुमारी सिलवालले बेंसीसहरमा बास बस्ने पर्यटकको संख्या घटेको बताइन् । मनाङ हुँदै राउन्ड अन्नपूर्ण जाने पर्यटकसमेत सिधै चामे पुग्न थालेपछि बेंसीसहरको पर्यटनमा ह्रास आएको उनले सुनाइन् । उक्त समस्या गोरखामा समेत रहेको उद्यमी रीता परियारले बताइन् । मनास्लु पदयात्रा जाने पर्यटकले बाइपास मार्ग प्रयोग गरी सिंधै आरुघाट पुग्दा गोरखा बजार नै नआउने गरेको बताइन् । उनले जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला उद्यमीमा परेकाले त्यसतर्फ सरकारले सोच्नुपर्ने उल्लेख गरिन् ।

पर्वतकी उद्यमी पार्वती पाण्डेले उत्साहजनक रुपमा होमस्टे सुरुआत गरे पनि अहिले पाहुना जानै छाडेको दुखेसो पोखिन् । पदयात्रा मार्गमा मोटरबाटो पुग्दा स्थानीयको रोजगारी खोसिएको उनको टिप्पणी थियो । ‘गाडी नपुग्दा धेरै गाइड, पोर्टरले काम पाउथे । लौरो बेचेर पनि आम्दानी हुन्थ्यो,’ उनले थपिन्, ‘अहिले आम्दानी छैन । लिएको तालिमको पनि पुनर्ताजगी छैन ।’ स्याङ्जाकी होमस्टे सञ्चालक चेतमाया गुरुङले होमस्टेको प्रवद्र्धनमा स्थानीय सरकारले सहयोग पुर्‍याउनुपर्ने बताइन् ।

तनहुँको बन्दिपुर होमस्टेकी डिलकुमारी रानाले होमस्टेमा लाग्ने कर छुट गर्नुपर्नेमा जोड दिइन् । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यम विकास समिति अध्यक्ष लक्ष्मी भण्डारी कार्कीले ठूलो मात्रामा स्थानीय उत्पादन गर्न नसकको र जीवन निर्वाहमात्रै भएको उल्लेख गरिन् । प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा भएको कार्यक्रम कार्यपत्र प्रस्तुत गर्दै पर्यटनविद् समीर बरालले स्थानीय उत्पादनको प्रयोग र बजारीकरणले मात्रै दिगो पर्यटन सम्भव हुने बताए ।

पर्यटनविज्ञ टीकाराम सापकोटाले पर्यटकीय उत्पादनको पहिचान गर्ने, पर्यटकको बसाइँ अवधि लम्ब्याउने विषयमा व्यवस्थित योजना बनाउनुपर्नेमा जोड दिए । टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले पर्यटकीय उत्पादनलाई बिक्री गर्ने सन्दर्भमा महिलाको भूमिका महत्त्वपूर्ण हुने बताइन् । कार्यक्रम संयोजक टेवानकी प्रथम उपाध्यक्ष कमला गिरीले महिला उद्यमीलाई उत्पादन, बजारीकरण, प्रवद्र्धनमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरेको बताइन् । संस्थाकी अध्यक्ष रेनु थापामगरले प्रदेशका ११ वटै जिल्लामा महिला उद्यमीलाई तालिमको व्यवस्था गर्ने जनाइन् ।

तपाईको प्रतिक्रिया