राजस्व छल्ले गिरोहमाथि निगरानी: महानिर्देशक अधिकारी

समाधान संवाददाता २०७९ असार २३ गते १२:४८

पोखरा ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलिको मुख्य गिरोहमाथि निगरानी बढाइएको जनाएका छन् । १३ दिनअघि महानिर्देशक बनेका उनले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता गरे ।

Advertisement

‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु, बरु २ महिना ढिला होस्, राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्दैछ’, पोखरा उद्योग वाणिज्य संघले उनको स्वागतमा आयोजना गरेको अन्तरक्रियामा अधिकारीले भने, ‘हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन् ।’ उनले राजस्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, ट्रेडिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताए ।

उद्योगको हकमा राजस्व चुहावट कम रहेको र त्यसले उत्पादकत्व वृद्धिमा सघाएको उनको भनाइ छ । राजस्व चुहावटमा नेपालको एउटा निश्चित वर्ग रहेको संकेत गर्दै उनले भने, ‘बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको छ,यसलाई रोक्न सकिएन भने हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरु पलायन हुने खतरा बढेको छ ।’ उनले नयाँ व्यवसायीको रातारात खडा भएको व्यापार साम्राज्यबारे पनि प्रश्न उठाए ।

Advertisement

राजस्व चुहावटसँगै अनौपचारिक अर्थतन्त्र नियन्त्रणमा विशेष ध्यान दिएको बताउँदै उनले विप्रेषण पनि अवैध क्षेत्रमा परिचालित भएको जिकिर गरे । बिट क्वाइनजस्ता डिजिटल क्षेत्रलाई रोक्ने र नेपालको अर्थतन्त्रलाई वैध डिजिटल बनाउने अभियानमा पनि विभाग अगाडि बढेको उनको भनाइ छ । उनले नेपालका ठूला व्यवसाय गर्ने ४ वटा फर्ममाथि विभागले अनुसन्धान थालेको र पोखरा क्षेत्रमा पनि २-४ दिनमै विभागले देखिने गरी काम गर्ने उद्घोष गरे ।

‘यहाँ सामान पनि बेच्ने र भ्याट बिल पनि बेच्नेहरु छन् । भन्सार छलेर सामान ल्याउने उत्तिकै छन्’, उनले बजारको प्रवृत्ति औंल्याउँदै प्रश्न गरे, ‘यहाँ रसुवाबाट हाइड्रो भनेर सामान भित्रन्छ अनि त्यसमा १ करोड ६३ लाखका महँगा कपडा हुन्छन् । अब भन्सार तिरेर आएको त्यस्तै कपडा व्यवसायी कसरी टिक्छन् ?’ महानिर्देशक अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरुको संरक्षण र अवैध रुपले हुने राजस्व चुहावट रोक्ने अभियान सजिलो नभएको पनि स्वीकारे । ‘भन्सारमा २ वटा ट्रक समात्यो भने १ हप्तासम्म ट्रक नै भित्र्दैनन्’ ,उनले भने, ‘खुला सिमानाको नजिक गोदाम राख्ने अनि रातमा सामान भित्र्याएर पोकामा पठाउने गिरोह पनि उस्तै सक्रिय छ ।’

Advertisement

उद्योगी-व्यवसायीलाई परेका अप्ठेराहरु फुकाउन विभाग सधैँ तयार रहेको बताउँदै उनले गम्भीर प्रकृतिको अपराध नगरेसम्म कसैको गोदाम सिल नगरिने र मानमर्दन पनि नगर्ने प्रतिवद्धता गरे । ‘व्यवसाय भनेको विश्वासमा बाँचेको हुन्छ, हामी आउँदा प्रहरीसहित आउनुपर्छ । हामी कसैको मान मर्दन गर्न चाहँदैनौँ’, उनले भने, ‘व्यवसाय भनेको युद्ध हो, युद्धमा प्रतिस्पर्धीलाई पछार्न गलत तरिका उपयोग गर्न सकिन्छ, त्यस्तोमा हामी सबै सूचनालाई आधार बनाएर कारबाही अगाडि बढाउँदैनौँ ।’

पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचका नाममा व्यवसायीको मान मर्दन नगर्न तथा सफाइको मौका दिन माग गरे । विभागले सुराकी दिनेलाई प्रोत्साहित गर्ने नीति गलत भएको बताउँदै उनले भने, ‘यसो गर्दा कोही रिस गर्ने व्यक्ति, प्रतिस्पर्धी वा सुराकीबाट कमिसन पाउने लोभ पालेको व्यक्तिले छुस्स चुक्ले लगाउँदाको असर निजी क्षेत्रमाथि पर्न गएको छ । यो व्यवस्थामा पुनरावलोकन होस् ।’ उनले न्याय माग्न जाँदा पनि कर्मचारीलाई नै माथि पार्ने गरी निर्णय आएको गुनासो पनि गरे । अन्यायपूर्ण तरिकाले गरिएका कर निर्धारणको पुनरावलोकन पनि सहज नभएको जिकिर गर्दै उनले न्यून बिजीकरणको समस्याले पोखरा लगायत गण्डकीका व्यवसायी पीडित भएको विषय पनि उप्काए ।

भन्सारपछि पनि छड्केको नाममा विभिन्न ठाउँमा लोड गरिएको सामान खोतल्ने र रोक्ने प्रवृत्तिमा भने विभागले सुधार गर्न पनि उनको आग्रह थियो ।पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे र वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले गलत मनसायका साथ गरिने अवैध कारोबारको नियन्त्रण र वैध व्यापारीलाई संरक्षण गरिनुपर्ने धारणा राखे । लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विक्रम कर्माचार्यले अवैध रुपले नेपाल भित्रने भारतीय बिस्कुटका कारण ठूलो राजस्व गुमेको र नेपाली उद्योग संकटमा परेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्काले अवैध रुपले नेपाल भित्रिने पस्मिना र उनीका सलहरुका कारण नेपाली उद्योग ध्वस्त भएको बताइन् । उद्योग परिसंघ गण्डकी अध्यक्ष विनोद शर्माले एउटा उत्पादनका लागि अर्को उद्योगको तयारी सामान कच्चा पदार्थको रुपमा प्रयोग हुने बताउँदै तेल लगायतका सामान महँगिँदा सबै क्षेत्र प्रभावित भएको जिकिर गरे । मुद्रण व्यवसायी संघका अध्यक्ष गिरबहादुर श्रेष्ठले भारतबाट पुस्तक छापेर आउने प्रवृत्ति रोक्नुपर्ने बताए । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष युवराज बस्नेतले अवैध फर्निचरले कर तिर्नेहरु मर्कामा परेको बताए ।

तरकारी तथा फलफूल वित्रेता संघका अध्यक्ष लालप्रसाद ढकालले फलफूलको भन्सारमा हुने मूल्यांकन र तिर्नुपर्ने रकम फरक हुने प्रवृत्तिमा लगाम लगाउनुपर्ने धारणा राखे । कपडा व्यवसायी संघ कास्कीका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले कपडा आयातमा राखिएको सिलिङ व्यवहारिक नभएको बताए । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुदीप प्रधानांगले भारतीय सेनामा काम गर्ने नेपालीले कपडा र अटो पार्टस् बोकेर ल्याउँदा समस्या भएको बताए ।

तपाईको प्रतिक्रिया