शारदालाई टेवा दिने महानगरको ऋण
पोखरा ।
सिलाइ मेसिन, कैँची र धागोसँग पोखराकी शारदा परियारका औँला खेल्न थालेको दशक भइसक्यो । पोखरा ३ नदीपुरकी शारदा ६ वर्षअघिसम्म अर्कैकहाँ काम गर्थिन् । ५ वर्षअघि लेकसाइडमा खोलेको टेलरमा आजकल उनलाई भ्याइनभ्याइ हुन्छ ।
शारदालाई काम गर्न पोखरा महानगरपालिकाले ठूलो ढाडस दिएको छ । मञ्जुदेवी गुरूङ पहिलो कार्यकालमा उपप्रमुख हुँदा महानगरले ०७५ सालदेखि ‘उपप्रमुखसँग महिला कार्यक्रम’ ल्यायो । जसबाट उद्यम गर्न चाहने महिलालाई न्यून ब्याजमा ऋण दिइन्थो ।
शारदाले टेलरका लागि २ वर्षअघि त्यही कार्यक्रममार्फत १ लाख ऋण लिइन् । ‘पसल पहिल्यै थियो । ऋण पाइन्छ भन्ने थाहा पाएपछि वडा हुँदै महानगर गएँ,’ उनी खुसी सुनिन्छिन्, ‘ऋण दिनुभयो । उपप्रमुख कार्यक्रमको सपोर्टपछि काम गर्न ठूलै आँट थपियो ।’ ऋण लिएपछि शारदाले पसलमा कपडा र मेसिन थपिन् । पसलमा सामानमात्रै थपिएको छैन, काम गर्ने जाँगर र उत्साह बढेको उनको अनुभव छ ।
महानगरले दिएको पैसा ठूलो त होइन । तर, १-२ लाखले पनि जीवनमा ठूलो परिवर्तन हुँदो रहेछ ।
पोखरा ६ लेकसाइड खहरेमा उनको स्वइच्छा टेलर छ । सुरूमा १ लाख पाएकी शारदाले आर्थिक वर्ष २०७८-०७९ मा थप १ लाख गरी २ लाख महानगरबाट लिएकी छन् । १ लाख लगानी गरेर ५ वर्षअघि उनले टेलर खोलेकी थिइन् । शारदाले महानगरले दिएको पैसासमेत लगानी गरेर ३ लाख रूपैयाँभन्दा बढी पसलमा लगानी गरेकी छन् । ‘ऋण पाउनुभन्दा पहिला एउटा मेसिनमात्रै थियो । अहिले ५ वटा पुर्याएको छु । सामान पनि थपेको छु । ऋणबाट साह्रै राम्रो गरेँ,’ शारदाले सुनाइन् ।
शारदा पहिला पोखराकै महेन्द्रपुलमा बुटिकमा काम गर्थिन् । त्यहाँ ४ वर्ष काम गरिन् । ५ वर्षअघि श्रीमान् राजुको सुझाव मानेर लेकसाइडमा आफैँले टेलर्स खोलिन् । पोखराकै चिप्लेढुंगामा राजु आफैँ टेलर चलाउँथे । उनी तालिम पनि दिन्थे । कोरोना भाइरस आएपछि सटर भाडा तिर्नै नसक्ने अवस्था आइलाग्यो । त्यही बेला महानगरले शारदालाई ऋण दियो । राजुले त्यताको पसल छोडे । अहिले श्रीमतीसँगै एउटै पसलमा काम गरिरहेका छन् । ‘तिम्रो आफ्नै पहिचान हुनुपर्छ । सीप सिक, नजानेको मैले सिकाउँछु भनेँ । उनले यता पसल खोलिन्’ राजु हाँस्दै सुनाउँछन्, ‘आजकल म यहाँ कामदार, उनी मालिक्नी हुन् ।’
उद्यम गर्छु भन्ने महिलालाई यो कार्यक्रमले ढाडस दिएको शारदा सुनाउँछिन् । तर, सबै महिलालाई कार्यक्रमबारे थाहा हुन नसकेकाले त्यसमा ध्यान दिन महानगरलाई उनको सुझाव छ । शारदा सावाँ र ब्याजसहित मासिक ३५ सय रूपैयाँ महानगरमा बुझाउँछिन् । पसलमा लगानी गरेको पैसाबाट कमाइ पनि राम्रै भएकाले उनलाई सावाँ–ब्याज बुझाउन समस्या छैन ।
महानगरले ऋण दिएर गरेको विश्वासलाई उनले कायम राखेकी छन् । यसैका लागि महानगरले उनलाई सम्मान पनि गरेको छ ।
गत फागुनमा अन्तर्राष्ट्रिय नारी दिवसमा शारदालाई महानगरबाट बोलावट आयो । किन बोलाइयो थाहा थिएन । उनी महानगर पुगिन् । ऋण लगेर राम्रो प्रगति गरेकी उनलाई सम्मान गर्न बोलाइएको रहेछ । ‘किन बोलाउनुभयो थाहा भएन । पुगेपछि त राम्रो काम गरेको भनेर दोसल्ला र प्रमाणपत्र दिनुभयो,’ उनी खुसी देखिइन् ।राजुले शारदालाई संघर्ष गर्न भरोसा थपिरहे । महानगरले श्रीमतीलाई सम्मान गरेको देखेर राजु पनि खुसी भएका थिए । उनी भन्छन्, ‘म त्यहाँ जान सकिनँ । पछि फोटो हेरेँ । उनलाई सम्मान गरेको देखेर एकदमै गर्व लाग्यो ।’
शारदा र राजुका ३ छोरी छन् । छोरीहरूले पनि आ–आफ्नो लय समातेको देखेर दुवै खुसी छन् । ब्याच्लर पढिरहेकी जेठी छोरी स्वइच्छा ट्रेकिङ गाइड हुन् । माइली छोरी स्वस्तिका न्युरोडको रेस्टुरेन्टमा काम गर्छिन् । १० कक्षा पढ्दै गरेकी कान्छी छोरी बाल मञ्चमा सक्रिय छिन् । ‘छोरीहरूले पनि राम्रो गरेका छन् । लन्ड्रीको काम घरमा छोरीहरूले गर्छन्,’ राजु सुनाउँछन्, ‘पैसा के हो ? समय के हो ? यो सिक्छन् भनेर घरमा पनि काम गर्ने वातावरण बनाएका छौँ ।’ महानगरले ऋण दिँदैनथ्यो भने शारदाको टेलर्स कसरी चल्थ्यो ? कोरोना भाइरसले थलाएका बेला पसलमा आफैँ लगानी थप्न सम्भव थिएन ।
चर्को ब्याजमा ऋण लिने कुरा पनि भएन । हेर्दा सामान्य लागे पनि मेसिन, धागो र कैँचीसँग खेल्ने शारदा र राजुलाई ऋणपछि पसलमा आएको परिवर्तन ठूलो लाग्छ । जीवनमा सानो कुराले कति खुसी र आँट थप्छ शारदा एउटा उदाहरण हुन् ।
अब एक, दुई जनालाई रोजगारी दिने सोचमा शारदा छिन् । महानगरले दिएको ऋण उनको व्यवसायको एउटा बलियो टेको बन्यो । त्यसैले पनि उनी महानगर र उपप्रमुख मञ्जु गुरूङलाई धन्यवाद दिन्छिन् । ‘महानगरले दिएको पैसा ठूलो त होइन । तर, १÷२ लाख रुपैयाँले पनि जीवनमा ठूलो परिवर्तन हुँदो रहेछ,’ उनले भनिन् । महानगरले साथ दिए, आफूले कमाए पसललाई उद्योग र तालिम केन्द्रमा परिणत गर्ने शारदा र राजुको योजना छ ।
महानगर पुगेर खुसी साट्छन् ऋणी
यो कार्यक्रम सुरू भएयता ४ सय ५४ महिलाले ऋण लिएको महानगरको सामाजिक विकास महाशाखाकी सहायक महिला विकास निरीक्षक मञ्जु सुवेदीले जानकारी दिइन् । हालसम्म ९ करोड हाराहारी यो कार्यक्रममार्फत लक्षित महिलामा लगानी भएको छ । उपप्रमुखसँग महिला कार्यक्रममार्फत ऋण लगेकाहरू महानगरमा आएर आफ्नो जीवनमा आएको परिवर्तन सुनाइरहन्छन् । सुवेदीका अनुसार महानगरमा पुगेर खुसी साट्ने, पुरानो दिन र अहिलेको अवस्था सम्झेर रुन्छन् ।
‘कति आएर खुसी साट्नुहुन्छ, रूनुहुन्छ,’ उनले भनिन्, ‘पहिला केही गर्न नसकेको, अहिले यहीँबाट लगेको रकमबाट राम्रो आम्दानी गरेर अरूलाई रोजगारी दिएको अवस्था छ ।’ यही कार्यक्रमबाट लगेको ऋणबाट आम्दानी गरेर छोराछोरीलाई विदेश पढ्न पठाउने पनि छन् । उपप्रमुखको नेतृत्वमा रहने ‘उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालक समिति’को बैठकले गरेको निर्णय अनुसार उद्यम गर्न चाहनेको माग अनुसार हेरेर ऋण लगानी गरिन्छ । विपन्न वर्ग, हिंसा–द्वन्द्वपीडित, आर्थिक अवस्था कमजोर भएका अपांगता वा अशक्त भएका, दलित तथा एकल महिलाले ऋण पाउँछन् । त्यसबाहेक आमा समूह, महिला समूह र महिलाले नेतृत्व गरेको संघ, संस्थालाई पनि ऋण दिने गरिएको छ ।
यो कार्यक्रमबाट लिएको ऋण बढीमा ३ वर्षभित्र तिर्नुपर्छ । ऋण लिएको पहिलो ६ महिना ब्याजमात्रै बुझाए हुन्छ । ६ महिनापछि सावाँ र ब्याज मासिक बुझाउनुपर्छ । नयाँ उद्योग चलाउन चाहने महिलालाई १० प्रतिशत अनुदान पनि यही कार्यक्रमबाट दिइन्छ । यो कार्यक्रमबाट १ लाख रूपैयाँभन्दा तल ऋण लिनेले मासिक ३ प्रतिशत ब्याज तिर्नुपर्छ । एक लाख रूपैयाँभन्दा बढी ब्याज लिनेले मासिक ५ प्रतिशत ब्याज बुझाउनुपर्छ ।
तपाईको प्रतिक्रिया