
दमौली ।
मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेसम्मका संरचना हटाउन २ करोड ४५ लाख ३९ हजार ६३३ मुआब्जा वितरण गरिने भएको छ । सडक विस्तार योजना अन्तर्गत पश्चिम खण्डको जामुनेदेखि कोत्रेसम्मका व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाल लगायतका संरचना हटाउन उक्त मुआब्जा वितरण गर्न लागिएको हो ।
सडक मापदण्ड २५-२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घरटहरा, पर्खाल लगायतका संरचना हटाउनका लागि आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गर्न लागिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजकत्वमा गठित उपसमितिले म्याग्दे गाउँपलिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्मका १ सय ३८ वटा संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको छ ।
मुग्लिन–पोखरा राजमार्गलाई ४ लेनको बनाउन २ खण्डमा विभाजन गरी काम हुँदै छ
एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण गर्न लागिएको आयोजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । योजनाले गत असार १९ गते सूचना प्रकाशित गरी संरचना धनीहरूलाई सम्बन्धित पालिकाका वडा कार्यालयको सक्कल सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बैंक खाता नम्बर र हालसालै खिचेको फोटो निवेदनमा टाँस गरी कार्यालयमा सम्पर्क राख्न आउन अनुरोध गरेको छ ।
घर टहरा आदिका लागि क्षतिपूर्ति रकममध्ये आधा रकम पहिलो किस्तास्वरुप लिई पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम बुझेको १ महिनाभित्र सम्पूर्ण संरचना हटाई सोको पुष्टि गरेपछि थप रकम भुक्तानी गरिने जनाइएको छ । आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज (पुर्नवास योजना) बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ ।
समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ छन् । मुग्लिन–पोखरा राजमार्गलाई चार लेनको बनाउन तनहुँमा २ खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ । उक्त कम्पनीले अहिले सडक फराकिलो बनाउने काम गरिरहेको छ । आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
सडक विस्तार कार्यका लागि राजमार्ग आसपासका रुख काटिएको छ । हालसम्म पूर्वी खण्डमा ३ हजार १४ रुख कटान भइसकेका छन् भने पश्चिम खण्डमा २ हजार २ सय ८० रुख कटान भइसकेको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ । ४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।
दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ । सडक ४ लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्ने छन् । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक ४ लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदै छ ।
यो खण्डमा हाल पृथ्वी राजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा ४ लेन सडक योजनाका लागि ४ अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा २ अर्ब ९ करोड ५४ लाख ४ हजार विनियोजन भएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया