जिफन्ट महाधिवेशनका लागि सुझाव संकलन

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आसन्न १० औं महाधिवेशनमा प्रस्तुत हुने नीति दस्तावेजका बारेमा सुझाव संकलन थालेको छ । ‘श्रमजीवी वर्गको सम्मान र समृद्धिका लागि सुदृढ एवं परिपूर्ण लोकतन्त्र’ भन्ने नाराका साथ साउन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन हुन लागेको हो ।
नीति तथा कार्यक्रमका बारेमा भएको उच्च स्तरीय कार्यक्रममा महाधिवेशनमा छनोट भएका प्रतिनिधि, घटक युनियनका केन्द्रीय पदाधिकारी तथा सदस्य, जिफन्ट प्रदेश कमिटी सदस्य, जिफन्ट पालिका कमिटी अध्यक्षहरु सहभागी भएको जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङले जानकारी दिइन् । कार्यक्रममा औपचारिक, अनौपचारिक र स्वरोजगार क्षेत्रका मजदुरले ४ समूहमा छलफल गरी नीति दस्तावेजका लागि सुझाव दिएका छन् ।
जिफन्टका उपाध्यक्ष गुरुङले संगठनले सदस्यलाई ट्रेड युनियन आन्दोलनबारे सचेत र सशक्त बनाउनुका अलवा राजनीतिक, वैचारिक एवं समसामयिक विषयमा प्रशिक्षित गराएको बताइन् । उनले ट्रेड युनियनकर्मी सामाजिक क्षेत्रमा क्रियाशील भएर सक्षम रुपमा नेतृत्व स्थापित भएको उल्लेख गरिन् । कोभिड १९ को प्रकोपका कारण रोजगारी गुमाएका मजदुरको बहालीका लागि प्रयास गरेको चर्चा गर्दै उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा जोड दिइन् ।
जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले सम्मानित श्रमजीवी वर्ग र समृद्ध जीवनका लागि समाजवादको आधार तयार गर्नुपर्ने बताए । उनले जिफन्टले ७ प्रदेश र ७ सय ५३ पालिकामा संरचना निर्माण गर्ने तयारी गरेको जानकारी दिए । ‘जिफन्टले पालिकालाई केन्द्रविन्दुमा राखेर गतिविधि गर्ने योजना बनाएको छ,’ उनले भने, ‘अनौपचारिक क्षेत्रका मजदुरलाई समेट्दै आगामी ४ वर्षमा २० लाख मजदुरलाई सूचिकृत गर्ने लक्ष्य छ ।’
उनले समन्वयका लागि जिल्ला स्तरमा पनि संरचना राख्न सुझाव दिएको जानकारी दिए । खत्रीले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनका लागि संघ, प्रदेश हुँदै पालिकासम्म सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष खत्रीले अहिलेको नेतृत्वमा रहेका एक तिहाई पदाधिकारीको भूमिका फेरिनुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे । कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्यहरु पम्फा पहारी र सुमन गुरुङ, गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष लीलाबहादुर कार्की, सहसचिव संगीता पाण्डे लगायतले जिफन्टको स्कुललाई प्रदेशसम्म विस्तार गर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया