सम्पादकीय: बजार मुल्य नियन्त्रण गर
दैनिक उपभोग्य बस्तुमा नेपाली जनताले थेग्न नसक्ने गरी मुल्यवृद्धि भएको छ । आन्तरिक तथा वाह्य कारणले भएको मुल्य वृद्धि राज्यका निकायहरुले नियन्त्रण गर्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा खाद्य पदार्थमा ७ प्रतिशत र गैरखाद्य र सेवा समूहमा ८ प्रतिशत मूल्यवृद्धि भएको छ ।
बढ्दो मुल्यबृद्धिका कारण जनताको न्युनतम आधारभुततहको अधिकार सुनिश्चित हुन सकेको छैन । कोभिड १९को कारण जनजीवन अस्तव्यस्त भएको छ । सोही कारण धेरैले रोजगारी गुमाएको सन्दर्भमा नागरिकको उपभोग अधिकार कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा उपभोग्य सामाग्री, खानेतेल, पेट्रोलियम पदार्थ लगायतका सबै बस्तुमा भएको बढ्दो मुल्यबृद्धिले नागरिकको उपभोगको अधिकार संकुचन भएको छ । मुल्यवृद्धिले दैनिक ज्याला मजदुरी गर्ने श्रमिक, किसान लगायत आधारभुततहका जनताको गास बास र कपासको अधिकार कुण्ठितहुँदै गएको छ ।
एका तिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी भाडा बढेको छ । अर्कोतर्फ अहिले डलरको भाउ बढेको छ । जसले गर्दा भन्सारबाट मुल्य बढेर आएको तथा रुस र युक्रेनबीचको युद्धको कारणले बजारमा अस्वाभाविक महँगी बढेको सम्बन्धित पक्षको तर्क छ । क्रयशक्ति कमजोर भएको अवस्थामा जताततै महँगी बढेकोले सबै नागरिक पीडित छन् । महँगी बढ्न नदिनको लागि अनियन्त्रित बजार भाउलाई नियन्त्रणमा राख्न उपभोक्ता सचेतनाका साथै क्षमता अनुसार नियमित अनुगमन आवश्यक छ । आम उपभोक्तालाई सचेत र सजग बनाउने सवालमा उपभोक्ता अधिकारकर्मीको पहल प्रभावकारी बन्न सकेको छैन ।
बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा लापरवाही देखिएको छ । एउटै कम्पनीको उत्पादित सामानको मूल्य आजको भोलि नै फरक गरेर पठाएको पाइएको छ । यसरी एमआरपी बदल्ने पद्धतिको नियन्त्रण गर्ने निकाय सक्रिय हुनु पर्छ । नेपालको कानुन अनुसार बजार अनुगमनक जिम्मेवारी तीनतहको सरकारलाई दिइएको छ । तीनतहको सरकारले एक आपसमा समन्वय नगर्दा बजार अनुगमनको क्रममा कहिले कांही कार्यक्षेत्रको सवाल उठ्ने गरेको छ । त्यस्तो सवाललाई समाधान गर्दै एकाकार भएर अगाडी बढ्नु पर्छ ।
वर्तमान संघीय संरचना अन्तर्गत कुनै पनि सरकारको एकल प्रयासबाट मुल्यवृद्धि नियन्त्रण सम्भव छैन । प्रदेश स्तर, जिल्ला स्तर र स्थानीय स्तरका बजार अनुगमन समितिबीच समन्वय कायम गरी बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ । स्थानीय स्तरमा उत्पादन नहुँने वाहिरबाट सामान ल्याउँदा डलरमा किन्न पर्ने लगायतका कारण मूल्यवृद्धि भएको छ । अर्कोतर्फ विना कारण आफुखुसी रुपमा मुल्यवद्धि गर्ने तथा कालो बजारी गर्नेलाई कानुनी रुपमा कारवाहीको दायरामा ल्याउनु पर्छ । आम उपभोक्तालाई सचेत र संगठित बनाएर बजार भाउ नियन्त्रणमा सहयोग लिन ढिला गर्नु हुदैन ।
तपाईको प्रतिक्रिया