पात्रको आँसुले चलेको जस्तो पानीघट्ट
पोखरा ।
सुरेश प्राञ्जली सानै थिए । त्यति बेलाको एउटा घटनाले उनको मन खिच्यो । अन्तरजातीय प्रेम गरेको जोडीलाई परिवारले स्वीकार्न मुस्किल पर्यो । जसोतसो प्रेमीले प्रेमिका घर भित्र्याए । बिहेबारीपछि लाहुरे भए, विदेशिए । उतै उनको निधन भयो । सुरेश सम्झन्छन्, ‘त्यसपछि ती भाउजुको मनमा के बित्यो होला ?’
एक त अन्तरजातीय बिहे, घर परिवारले स्वीकार्न नसकेको र झन् श्रीमान्को निधन । त्यही घटनाको प्रेरणाबाट उनले उपन्यास लेखे पानीघट्ट । ऊ जामानाको घटनामा कल्पना मिसाएर तयार उपन्यास पानीघट्ट हालै बजारमा आइसकेको छ । शनिबार पोखरा त्यही उपन्यासको रचनागर्भ सुनाउँदै थिए सुरेश ।
सुरेशकै शब्दमा समय फेरिए पनि समाजमा महिलामाथि हुने विभेद उस्तै छ । भन्छन्, ‘स्वरुप बदलिएको छ, विभेद त छ ।’ छोराको आसमा ऊ बेला कालोअँगेरी खाएर छोरीको गर्भपात गराउने चलन रहेकोमा अहिले अल्ट्रासाउन्डको भर पर्ने गरिएको उनले सुनाए । ज्योतिषीलाई हेराएर गर्भको बच्चाको लिंग छुट्याउने गरिएको प्रसंग उनले उपन्यासमा लेखेका पनि छन् ।
पानीघट्ट संवादमा पोखराकी लेखक हसिना बस्नेतले सुरेशसँग प्रश्नोत्तर गरिन् ।
त्यसअघि लेखक गनेस पौडेलले प्राञ्जलीको उपन्यासका विशेषता सुनाए । पौडेलले भने, ‘अत्यन्तै सांस्कृति चेत भएर लेखिएको उपन्यास ३० को दसकको सेटिङमा भए पनि समसामयिक लाग्छ ।’ उनले सांस्कृतिक घुलन कसरी भयो र केकति बाँकी छ भन्ने उपन्यास पढ्दा थाहा हुने पनि बताए ।
बस्नेतले उपन्यास पढ्दा आफ्ना बाल्यकालीन समय सम्झना भएको सुनाइन् । उनले उपन्यासकै पात्र जूनमायाको आँसुले पानीघट्ट चलेको जस्तो अनुभूति पनि साटिन् । तर लेखक प्राञ्जजीले आँसुले जूनमायालाई धेरै आँट दिएको र त्यसकै भरमा उनले विद्रोह गरेको बताए । महिलाजति विभेद पुरुषले नभोग्ने हुँदा महिला पात्रलाई प्रमुख बनाएर उपन्यास लेखेको पनि उनले सुनाए ।
तपाईको प्रतिक्रिया