‘एयरपोर्ट चलाऔं, प्याराग्लाइडिङ पनि जोगाऔं’

समाधान संवाददाता २०७९ असार २६ गते १०:३७

पोखरा ।
पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाईडिङ उडानको दिगो व्यवस्थापन तथा निरन्तरताको माग गरेका छन् । उनीहरुले पोखराको पर्यटनको संवाहक बनेको प्याराग्लाइडिङलाई जोगाउनुपर्ने आवाज उठाएका छन् ।
नेपाल हवाई खेलकुद संस्था (ना) पोखरा अध्यक्ष कृष्णप्रसाद भण्डारीले प्याराग्लाइडिङ व्यवसायलाई जगेर्ना गर्नुपर्ने बताए । संस्थाको ९ औं अधिवेशन तथा १९ औं वार्षिक साधारण सभामा अध्यक्ष भण्डारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको सराङकोट र तोरीपानी क्षेत्रबाट हुँदै प्याराग्लाईडिङ उडानलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा धेरै बहस तथा छलफल चलाएको जानकारी दिए ।

Advertisement

नयाँ विमानस्थल सञ्चालन भएपछि ६२ कम्पनीको १ अर्बको लगानी भएको प्याराग्लाइडिङको भविष्य के हुने अन्योल छ


संस्थाका महासचिव बलराम आचार्यले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको नेपाल नागरिक उडड्यन प्राधिकरणले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार संस्था काम गर्न तयार रहेको उल्लेख गरे । ‘प्रतिवेदनमा विधि, प्रविधिको उच्चतम प्रयोगका साथ व्यवस्थापन हुन सकेमात्र निरन्तरता दिन सकिने आसय रहेको छ,’ महासचिव आचार्यले भने, ‘प्रतिवेदनको सकारात्मक आसयलाई संस्थाले आफ्नो अनुकूल कार्यान्वयनको लागि पहल गर्दै आएको छ ।’

Advertisement

उनले अध्ययन प्रतिवेदनको मर्म अनुरुप उच्चतम विधि तथा प्रविधि तथा बिग मर्जरसहित एकद्वार प्रणाली कायम गर्दै कम्तीमा २ घण्टा कायम गर्न पहल गर्ने जानकारी दिए । प्याराग्लाइडिङ उडानलाई दिगो व्यवस्थापन र निरन्तरताका लागि संस्थाका व्यवसायी एकताबद्ध भएर अभियान चलाएको जानकारी दिँदै महासचिव आचार्यले विमानस्थल सञ्चालनपश्चात प्याराग्लाइडिङका सम्भावना र चुनौतीको सवालमा सम्बन्धित निकाय तथा संस्थासँग समन्वय र सहकार्य गर्दै आएको बताए ।

संस्थाका उपाध्यक्ष ईन्द्रप्रसाद भण्डारीले प्याराग्लाइडिङ उडानको अन्योलता छिटोभन्दा छिटो चिर्नुपर्ने बताए । सहासिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन र खेलकुदको विकासमा योगदान पुगेको दाबी गर्दै उनले ६२ कम्पनीमा १ अर्बको लगानी भएको जानकारी दिए । यसमा उनले ५ सय पाइलटसहित २ हजार ५ सयले रोजगारी पाएको बताए । उनले राष्ट्रिय खेलमा सूचिकृत प्याराग्लाइडिङबाट नेपालले १८ औं एसियन खेलमा रजत पदक जितेको स्मरण गरे ।

Advertisement

पोखरा महानगरका मेयर धनराज आचार्यले प्याराग्लाइडिङ नेपालको पर्यटनको नयाँ प्रोडक्ट भएको बताए । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु खुसीको विषय हो । प्याराग्लाईडिङको सवालले पर्यटन व्यवसायी चिन्तित हुनुहुन्छ,’ मेयर आचार्यले भने, ‘विमानस्थल चलाउनुपर्ने दायित्व छ । ल्यान्डफिल साइट व्यवस्थापनदेखि प्याराग्लाइडिङलाई जोगाउनु पनि छ ।’ उनले वैकल्पिक व्यवस्था गरेर ल्यान्डफिल साइटको दिगो व्यवस्थापनमा ध्यान दिने उल्लेख गरे ।

विमानस्थल २४ सै घण्टा चल्ने अवस्था नभएको चर्चा गर्दै उनले हवाइजहाज नचलेको केही समयमा प्याराग्लाईडिङ गर्न सकिए पनि सुरक्षासम्बन्धी विषयमा लापरवाही गर्न नसकिने तर्क गरे । पोखरा महानगरको नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले पर्यटन प्रवद्र्धनको लागि ५० करोड बजेट विनियोजन गरेको सुनाए । कार्यक्रममा प्याराग्लाइडिङ उडानका क्रममा भएका दुर्घटना तथा उद्धारमा सहयोग गर्ने सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन टिम र नेपाली सेनाको विपद् व्यवस्था टिमलाई सम्मान गरिएको छ । समारोहमा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना शर्मा वर्षा, कान्तिपुर टेलिभिजनका संवाददाता भूपाल गुरुङलाई समेत सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया