होटल व्यवसायीलाई टुर प्याकेज तालिम

समाधान संवाददाता २०७९ असार २६ गते ११:३१

पोखरा ।
होटल संघ पोखरा नेपालको आयोजनामा पोखरामा एक दिने टुर प्याकेज तालिम तथा अन्तरक्रिया भएको छ । तालिममा पर्यटन क्षेत्र सम्बद्ध ३ दर्जन व्यवसायीको सहभागिता थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा कार्यक्रम आयोजना गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

Advertisement

सुवेदीले होटल संघले लामो समयदेखि आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नेपालका विभिन्न भागमा कार्यक्रम गरी जाऊँ है पोखरा अभियान र भारतमा पनि त्यसैगरी चलिए पोखरा अभियान सञ्चालन गर्दै आएको स्मरण गराए । यतिमात्र नभई चीन र अन्य तेस्रो मुलुकमा समेत नेपाल प्रबद्र्धनका लागि पर्यटन मार्टहरुमा संघ सहभागी हुँदै आएको अध्यक्ष सुवेदीले बताए ।

कोभिड १९ का कारण २ वर्ष पोखरासँगै नेपालको पर्यटन ठप्प हुन पुग्दा थुप्रै पर्यटन व्यवसायी र यस क्षेत्रका मजदूर, कामदार र कर्मचारी पलायन हुन पुगेकोसमेत उनले बताए । बितेका ६ महिनायता पर्यटक आगमन राम्रै रहे पनि पछिल्ला दिनमा भने अफ सिजन लगायत विविध कारणले पर्यटन आगमन सन्तोषजनक हुन नसकेको अध्यक्ष सुवेदीले जानकारी दिए । होटल, ट्राभल, पदयात्रा, साहसिक पर्यटन लगायत विविध क्षेत्रलाई समेटेर अहिलेको अफ सिजनमा पर्यटकका लागि विशेष प्याकेज बनाउने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको सुवेदीले बताए । आउने सेप्टेम्बर, अक्टोबार र नोभेम्बर महिनामा पर्यटक आगमन राम्रो रहनेमा आफूहरु आशावादी रहेको सुवेदीले बताए ।

Advertisement

सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रमराज गौतम, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख निर्देशक काशिराज भण्डारी र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्राचार्य प्रकाश रेग्मीले आफ्ना प्रस्तुति राखेका थिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले तालिमले व्यवसायीमा थप ऊर्जा मिलेको सुनाए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया