सम्पादकीयः राज्य कोषको दुरुपयोग
गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा यस्ता कार्यक्रम पनि देखिए जुन मन्त्रीका नितान्त व्यक्तिगत स्वार्थसँग जोडिएका छन् । मन्त्री र नेताको परिवारका नाममा बजेट त्यो पनि सरकार कोषबाट । यो भनेको जनताबाट उठाएको करको चरम दुरुपयोग हो । सत्ताको निष्कृष्ट सञ्चालन हो । सत्तामा जानु भनको राज्यकोषको ढुकुटी मनलाग्दी चलाउनु होइन । तर गण्डकी प्रदेशका मन्त्री र सत्तारुढ पार्टीका नेताका नाममा कोष बनाउन सरकारले बजेट छुट्याउनु बजेटमाथि पुरापुर हालीमुहाली गर्नु हो । त्यो घोर अनैतिक कर्म पनि हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका पिता गोबद्र्धन पोखरेलको नाममा पनि कोष बनाउने गरी सरकारले ५० लाख छुट्याएको छ । यसलाई अन्यथा मान्न सकिन्न । गोबद्र्धन पोखरेल नेपाली प्रजातान्त्रिक आन्दोलनका सेनानी हुन् । उनको योगदानलाई संघ सरकारले सम्झन सकेन । गण्डकी प्रदेश सरकारले सम्झियो । हाला कि संयोग उनकै छोरा मुख्यमन्त्री भएका बेला यस्तो बजेट आयो । कृष्णचन्द्र मुख्यमन्त्री हुँदा वा नहुँदा पनि गोबद्र्धन शर्मा पोखरेलको योगदानको कदर जुनसुकै सरकारले गर्नुपर्ने नै हो । तर सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका मातापिताका नाममा ५०-५० लाख गरी १ करोड छुट्टिनुले आश्चर्य चकित बनाएको छ । कोष सञ्चालन गर्न मन भए मन्त्री आफैले व्यक्तिगत आम्दानीबाट राख्ने हो । कोष सञ्चालन र भौतिक संरचना निर्माणका लागि सरकारी ढुकुटी खर्चनु लाजमर्दाे कुरा हो ।
कांग्रेसकै अर्का नेता अर्जुन जोशीका पिताको नाममा पार्क निर्माण गर्न पनि सरकारले २० लाख छुट्याएको छ । पार्क निर्माण गर्नु ठिक कुरा हो । तर जोशीका पिताका नाममा पार्क निर्माण गर्ने भए उनकै परिवारले खर्च गर्नुपर्छ । राज्यको पैसाले आफ्ना पितापुर्खाको नाम राख्ने प्रवृत्ति अनैतिक हो । जनताप्रति ठूलो बेइमानी हो । जनताले कर तिरेको नेताका परिवारका नाममा पार्क बनाउन, कोष खडा गर्न र तिनीहरुले त्यही बहानामा राजनीति गर्न होइन । नेपालले ठूलो त्याग र बलिदान गरी ल्याएको लोकतन्त्रलाई पंगु बनाउने काम यस्तै यस्तै असंगत क्रियाकलापले योगदान गरेका छन् । राजनीति भनेको सेवा हो । कमाइ खाने साधन र माध्यम होइन । तर यस्तैयस्तै क्रियाकलापका कारण राजनीति बदनाम भएको छ । थुप्रै कमजोरीसहित आएको गण्डकी प्रदेशको बजेटलाई सुधार गर्ने हो नेता र मन्त्रीका परिवारका नामको कोषको बजेट रोकेर सुधारको सुरुआत गर्नुुपर्छ ।
तपाईको प्रतिक्रिया