गुरु चित्रबहादुरको स्मृतिचित्र

तोयनाथ लामिछाने २०७९ असार २६ गते १२:१५

हामी कक्षा ७ मा अध्ययन गर्दै थियौँ, गाउँकैँ रत्नशोभा निम्न माध्यमिक विद्यालयमा । तत्कालीन समयमा कक्षा १ देखि ५ सम्मको तहलाई प्राथमिक, कक्षा ६ देखि ८ सम्मको तहलाई निम्न माध्यमिक र कक्षा ९ र १० को तहलाई माध्यमिक विद्यालय भनिन्थ्यो । अहिलेको रत्नशोभा माध्यमिक विद्यालय त्यति बेला भर्खरैमात्र रत्न शोभा प्रस्तावित निम्न माध्यमिक विद्यालयका रुपमा थियो । पहिला त्यो विद्यालय सौरे बजारको हाल स्वास्थ्य चौकी रहेको ठाउँमा थियो ।

Advertisement

पृथ्वीनारायण क्याम्पसको आइए तहको अध्ययन सकेर हाम्रा अग्रज व्यक्तित्वहरु वेदनाथ लामिछाने र चित्रबहादुर थापा गाउँमा फर्कनु भएको थियो । गाउँमा निम्न माध्यमिक तहको विद्यालय खुलेको १ वर्षमात्र भएको थियो । त्यति बेलाको समयमा पढे, लेखेका मान्छे गाउँमा पाउन मुस्किल हुन्थ्यो । अर्कोतिर एक तहको अध्ययन सकेर घरमा बसेका मानिसका लागि पनि आफूलाई मिल्दो पेशा वा व्यवसाय आवश्यक हुनु स्वभाविक थियो । निम्न माध्यमिक विद्यालय खोल्नका लागि आवश्यक जनशक्ति हुन सक्ने सम्भावित व्यक्तित्व उहाँहरु दुबै जना हुनुहुन्थ्यो । निम्न माध्यमिक विद्यालय खोल्नका लागि आदरणीय दाजु वेदनाथले सक्रिय भूमिका खेल्नु भएको कुरा अझै पनि मलाई हेक्का छ ।

विस २०२६ सालतिर हामी कक्षा ७ मा हुँदा अंग्रेजी विषय पढाउने शिक्षकको आवश्यकता थियो । एक दिन चित्रबहादुर थापाले हाम्रो कक्षामा गएर सो विषयको एउटा कक्षा लिनु भयो । उहाँले नियमित रुपले क्याम्पसमा अध्ययन गरेका हुनाले विषयवस्तुको बोधमा स्वाध्ययन गरेका व्यक्तिको तुलनामा बढी गहनता हुनु स्वभाविक थियो । त्यस कारण विषयवस्तुको प्रस्तुतिमा पनि उहाँको प्रस्तुति अरुको भन्दा बढी प्रभावकारी थियो । हामी विद्यार्थी उहाँको प्रस्तुतिबाट ज्यादै प्रभावित भयौँ । विद्यालयको व्यवस्थापन समितिको सल्लाह अनुसार हो वा के कसरी हो हामीलाई थाहा भएन, तर हामीले उहाँको मागलाई जोडतोडले उठायौँ ।

तुरुन्तै विद्यालयको व्यवस्थापन समितिले उहाँलाई निम्न माध्यमिक तहको शिक्षकमा नियुक्त गर्‍यो । हामीलाई उहाँले अंग्रेजी विषय पढाउन थाल्नु भयो । हामी उहाँका अत्यन्त प्रिय विद्यार्थी बन्यौं भने उहाँ पनि हाम्रो अत्यन्त आदरणीय गुरु बन्नु भयो । यसरी हाम्रो सम्बन्ध अति निकट र प्रगाढ बन्दै गयो । पछि उहाँ रत्नशोभाको प्रधानाध्यापक पनि हुनु भएको तर विद्यालयको स्मारिकामा उहाँको नाम प्रधानाध्यापकहरुको विवरणमा पर्न छुट हुन गएको भनेर मसँग गुनासो पोख्नु भएको कुरा म यस घडीमा स्मरण गरिरहेको छु ।

रत्नशोभाबाट कक्षा ८ उत्तीर्ण गरेर म लगायतका माझठानाका साथीहरु माध्यमिक तहका लागिजनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा भर्ना भयौँ । आदरणीय दाजु वेदनाथ लामिछाने भूगोल विषय र चित्रबहादुर थापा अंग्रेजी विषय अध्यापनका लागि सोही विद्यालयमा शिक्षकको रुपमा नियक्त हुनु भयो । विद्यालयमा जाने र विद्यालयबाट घर फर्कने क्रममा शिक्षक र विद्यार्थी बाटोमा प्रायःजसो सँगसँगै हुन्थ्यौँ । बाटोमा सँगसँगै हिँडिने भएपछि जिज्ञासु विद्यार्थीले मनमा उठेका तर्क वितर्कबारे शिक्षकसँग जिज्ञाशा राख्नु स्वभाविकै हो । यस्ता जिज्ञासु विद्यार्थीमा मानबहादुर केसी अग्र पंक्तिमा पर्नु हुन्थ्यो । हामी वेदनाथ लामिछाने र चित्रबहादुर थापासँग केही राजनीतिक सवालका जिज्ञासा पनि उठाउने गर्दथ्यौँ । त्यस्ता सवालमा बहस गर्ने सन्दर्भमा चित्र सरले कुनै राजनीतिक पार्टीको समर्थन जनाउनु हुँदैनथ्यो । हामीलाई तिमीहरु यो विशेष दलमा लाग्नुपर्छ भनेर कहिल्यै पनि दवाब दिनु हुँदैनथ्यो । मेरो विश्लेषणमा त्यस्ता विषयमा उहाँ तटस्थ जस्तै देखिनु हुन्थ्यो ।

Advertisement

पछि मैले पनि सोही माध्यमिक विद्यालयको निमावि तहको अंग्रेजी शिक्षकको रुपमा काम गर्ने अवसर प्राप्त गरेँ । हामी दुबै जना सँगसँगै विद्यालय आउजाउ गर्‍यौँ । उहाँ एक्लो हुनु भएकाले मैले मेरो घरमा जान आग्रह गर्थेँ । बेलुकाको खाना खाएर उहाँ सौरे बजारमा रहेको आफ्नो निवासमा लाग्नु हुन्थ्यो । बिहान आफ्नै घरमा खाना खाएर निस्कनु हुन्थ्यो र हामी फेरि विद्यालयको गन्तव्यतिर लाग्थ्यौँ । यसरी म चित्र सरसँग कहिले गुरु–चेलाको र कहिले सहकर्मीको रुपमा काम गर्ने अवसर प्राप्त गरेँ । लवाइ खवाइमा त्यस्तो कुनै तडकभडक देखिँदैनथ्यो । मेरो विश्लेषणमा उहाँ सादा जीवनयापन गर्नु हुन्थ्यो ।

कहिलेकाहीँ साथीभाइसँग बसेर हल्का रुपमा रमाइलो कार्यक्रममा साथ दिने काम भने गर्नु हुन्थ्यो नै । प्रायः जसो गाउँघरतिर यस्तो कार्यक्रम शुक्रबार हुने गर्दथे । तर पनि उहाँले आफ्नो सिमा र मर्यादालाई कहिल्यै पनि उल्लङ्घन गर्नु भएको मैले अनुभव गरिनँ र सुनिनँ पनि । आर्थिक मामलामा उहाँले सदा, सर्वदा मितव्ययिताको नीति अवलम्बन गर्नु हुन्थ्यो भन्दा अत्युक्ति नहोला भन्ने मलाई लाग्छ । त्यसैले मेरो उहाँसँगको बसाइ र सम्बन्ध सदा सर्वदा सौहार्दपूर्ण रह्यो ।

नयाँ शिक्षा योजना २०२८ को कार्यक्रम अन्तर्गत उहाँले २ वर्षे बिएड सेवाकालीन तालिममा भाग लिन जाने मौका प्राप्त गर्नु भयो र तालिमपछि सोही विद्यालयमा अध्यापनको अवसर पाउनु भयो । केही वर्षको जनज्योति माध्यमिक विद्यालयको बसाइपछि उहाँ पोखरा सहरको सबैभन्दा पुरानो विद्यालय मध्येको एक विद्यालय अमरसिंह माध्यमिक विद्यालयमा सरुवा हुनु भयो । काल क्रमले म पनि माध्यमिक शिक्षककै रुपमा पोखराको समतलमा झर्ने मौका पाएँ ।

पोखरा बसाइका क्रममा एक वर्षे बिएड अध्ययन गर्ने मौका पनि पाएँ । सो एक वर्षे बिएडको अध्यापन अभ्यास गर्ने सिलसिलामा मलाई पायक पार्ने हिसाबले मैले अमरसिंह माध्यमिक विद्यालय रोज्नुपर्ने परिस्थिति आइपर्‍यो । चित्रबहादुर थापा सोही विद्यालयमा हुनु भएको र उहाँ मेरो गुरु पनि हुनु भएकाले उक्त समयमा मैले लिनुपर्ने कक्षा उहाँकै जिम्माको कक्षा लिनका लागि मलाई भन्नुभयो । विद्यालय प्रशासनले उहाँकै प्रस्तावलाई समर्थन जनायो । यसरी मलाई दुबै तर्फबाट अनुमति प्राप्त भयो । हामी दुबै जना ज्यादै खुसी भयौँ । त्यसो गर्दा मलाई पनि सहज र रमाइलो दुबै भयो । मैले त्यसो गर्दा उहाँले केही विश्राम गर्ने अवसर पाउनु हुन्थ्यो भने म पनि नगण्य मात्रामै भए पनि गुरु ऋण चुक्त गर्ने अवसर पाएको अनुभव गर्दथेँ ।

सानै छँदा, वन, पाखा जाँदा, उकाली ओराली गर्दा, कोही कसैले ‘सानो भनी नगर हेलाँ, छेउको सियो माझैमा कोही बेला’ भनेर भाका हालेर गाएको सुनेको थिएँ । दैव संयोगवश, मैले पनि पोखरा रामबजार स्थित कालिका माध्यमिक विद्यालयको सञ्चालक समितिको सदस्यको हैसियतले काम गर्ने मौका पाएँ । अमरसिंह माध्यमिक विद्यालयको अध्यक्षमा विश्वप्रकाश लामिछाने हुनुहुन्थ्यो । कालिका माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका बीचको पारस्पारिक सहयोग र सल्लाहका आधारमा ती दुबै विद्यालयका समस्या समाधानका निम्ति सहकार्य गर्ने परम्परा बसाल्ने प्रयत्न गर्ने हामीले निधो गर्‍यौँ । विविध परिस्थितिवश अमरसिंह माध्यमिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गर्नुपर्ने एउटा अवस्था आयो ।

मैले विश्वप्रकाश लामिछानेसँग चित्रबहादुर थापा औसतमा एक शालिन, सरल र तटस्थ व्यक्ति हुनुहुन्छ । नोकरी ज्येष्ठताका हिसाबले पनि उहाँ वरिष्ठतम्मध्ये एक हुनुहुन्छ । त्यसैले यस पटक उहाँलाई काम गर्ने अवसर दिनु उपयुक्त हुन्छ भनेर प्रस्ताव राखेँ । मेरो यस प्रस्तावलाई विश्वप्रकाश लामिछानेले सहर्ष स्वीकार गर्नुभयो । यसरी चित्रबहादुर थापा शिक्षण पेशाको अन्तिम समयमा माध्यमिक विद्यालयको सम्मानित प्रधानाध्यापक पदमा आसिन हुन सफल हुनुभयो । यो मेरा लागि अत्यन्त खुसीको क्षण हुन पुग्यो । यस अवसरबाट फेरि मैले आंशिक रुपमा भए पनि गुरु ऋण चुक्त गर्ने दोस्रो अवसर प्राप्त गरेँ भन्ने मैले अनुभव गरेको छु ।

कुनै संघ, संस्थामा आवद्ध हुन खासै रुचि नदेखाउने उहाँलाई मैले सेवाबाट निवृत्त भएका शिक्षकको एउटा साझा संस्था निवृत्त शिक्षक समुदाय कास्कीको आजीवन सदस्यताका लागि आग्रह गरेको थिएँ । त्यस प्रस्तावलाई कुनै आनाकानी नगरी सहर्ष स्वीकार गरी त्यस संस्थाकोे सदस्यता ग्रहण गर्नु भएको सकारात्मक क्षण पनि म यस घडीमा सम्झिरहेको छु । कास्की जिल्लाको पोखरा २८ तत्कालीन माझठाना गाउँ विकास समिति वडा नं. ९ थापा गाउँमा मध्यम लाहुरे परिवारमा पारिवारिक स्रोतअनुसार २००६/०७/१८ गते (२००७/०५/०७ निवृत्त शिक्षक समुदाय कास्कीको अभिलेख) जन्मनु भएका चित्रबहादुर थापा केही समययता आएर चिनी रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको स्वास्थ्यमा असामान्य अवस्था आएपछि काठमाडौं स्थित ग्रयान्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा ०७८ माघ मनिाको १५ गते उहाँको असामयिक निधन भयो ।

उहाँका जेठा छोरा जितेनले मलाई बताए अनुसार जीवनको अन्तिम घडीमा अस्पतालको शैयाबाट उहाँले कुरा गर्न सक्ने अवस्थासम्म पनि तोयनाथ लामिछानेका भाइ ऋषिराम र मानबहादुर केसी, यी तीन जना मलाई सधैँ मन पर्ने र मलाई पनि माया र सम्मान गर्ने विद्यार्थी हुन भन्नु भएको रहेछ । यो कुरा सुनेपछि म झन् भाव विह्वल भएँ । पोखरा बसाइका क्रममा मौका मिलेसम्म आफूले चिनेजानेका धेरै व्यक्तिको अन्त्येष्टिमा उपस्थित हुने प्रयत्न गर्दै आएको छु । तर तुलसीघाटमा भएको उहाँको अन्त्येष्टिको समयमा म सामान्य रुपमा उभिन नसक्ने परिस्थितिमा गएँ । मलाई धेरै नै असमन्जसको अनुभव भयो । रिँगटा लाग्ला झैँ भयो । र, अन्तमा म भित्ताको सहारा लिँदै समाधिस्थलबाट पर हट्दै छेउमा आएर बाटोको सिँढीमा थचक्क बसेँ । अन्त्यमा गरुंगो मन लिएर म सबैको भीडको बीच हुँदै आफ्नो आश्रयस्थल तिरको बाटो लिएँ ।

नेपाली युवा जगत बेरोजगारीको चपेटामा परेर बाध्यतावश भारततिर भासिनुपर्ने त्यो जटिल अवस्थामा आफ्नै गाउँ घरमा बसेर नेपाल सरकारद्वारा प्रदत्त सिमित तलवमानको परिधिमा रहेर उहाँले हामीलाई जे जति ज्ञान प्रदान गर्नु भयो र हाम्रो समाजलाई जे जति योगदान पुर्‍याउनु भयो, त्यसका लागि हामी उहाँप्रति सतत् ऋणी रहेको अनुभुति गरेको छु । तसर्थ गुरु पूर्णिमाको यस पावन अवसरमा म उहाँको स्मरण गर्दै फेरि पनि उहाँमा श्रद्धा सुमन अर्पण गर्दछु ।


लामिछाने नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन्

तपाईको प्रतिक्रिया