अन्तर्राष्ट्रिय तेक्वान्दो सफल बनाउने प्रतिवद्धता

सञ्जय रानाभाट
पोखरा ।
असोज ६ देखि ९ गतेसम्म पोखरामा आगामी ‘तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ सफल बनाउन आइतबार अन्तक्र्रिया भएको छ । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जीव रेग्मीले तेस्रो संस्करणको च्याम्पियनसिप पोखरामा हुनु गौरवको भएकाले यसलाई सफल पार्नुपर्ने बताए । ‘प्रतियोगिता सफल पार्नु हाम्रो जिम्मेवारी हो । सबै मिलेर यसलाई सफल पर्नुपर्छ,’ उनले भने । प्रतियोगितालाई सफल बनाउन भूमिका सम्पूर्ण पोखरेलीको एकवद्धता आवश्यक भएको उनको भनाइ छ ।
पोखराको शान उच्च हुने गरी साझा कार्यक्रमको रुपमा सफल बनाउनु सबैको दायित्व रहेको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त बताए । उनले प्रतियोगितामा तिनै तहका सुरक्षा निकाय परिचालन गरी विदेशी खेलाडी र पाहुनालाई सुरक्षा प्रदान गर्न आफूले भूमिका खेल्ने प्रतिवद्धता गरेका छन् ।
बैठकमा तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, पश्चिमाञ्चल होटल संघ अध्यक्ष लक्ष्मण सुवेदी, रेस्टुरेन्ट एन्ड बार एसोसियसन अध्यक्ष लक्ष्मण बराल, हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा रामजी शर्मा, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठी, गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडल, कोषाध्यक्ष माइकल कर्माचार्य लगायतले बोलेका थिए ।
गण्डकी प्रदेश तेक्वान्दो संघ अध्यक्ष जगनबहादुर गुरुङले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएका थिए । प्रतियोगितामा १ हजार ५ सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया