कठै आबे ! धिक्कार हाम्रा !!

मदन भण्डारी २०७९ असार २८ गते १२:२०

फेरि पनि भानु जयन्ती मनाइँदै छ । फेरि ‘धिक्कार हो मकन बस्नु नराखी कीर्ति’ सम्झिइँदै छ । समाजका अगुवा भीषण भाषण बजाउँदैछन् । समाजका अगुवा भनेको राज्यकोषबाट केही पाउनेहरु हुन् । प्रायः प्राडाहरु मुखिया–खर्दारले अकूत कमाएको जलनले शेरबहादुर देउवाको जस्तो अनुहार बनाउँछन् । देश र जनताका लागि लडेकाहरु प्रचण्ड पुत्रको सालिक हेरेर आफैं मालिक भए झैँ गजक्क पर्छन् । यहाँ यस्तै छ, सबै कुराभन्दा नि…..!

Advertisement

निर्लज्जहरु ‘जननी जन्मभूमिश्चः’ को रटान लगाउँछन् । त्यो त एक जना सामन्तको उद्गार पो थियो । लंका विजयपछि लक्ष्मणले रामलाई सुनै सुनको लंकामै बस्न आग्रह गर्दा सामन्ती राजाले भनेका थिए, ‘…..स्वर्गादपी गरियसी !’ दलालका दासहरु आफूलाई नागरिक बताउँछन् । ती रैती, प्रजा वा जनताभन्दा माथिका अरे । मुक्तिदातृ नेतृ भन्छिन्, ‘निरँकूश रामले गर्भवती सीतालाई वनमा छाडेका थिए । सामन्तहरु सैयौँ स्वास्नी थुपार्थे !’

जंगबहादुरले अंग्रेजको चाकरी गरेर गुमेको भूमि फिर्ता गरेका थिए, हाम्रा नेता एमसिसी र एसपिपीको विरोध गर्दै देश बेच्न उद्यत छन्

Advertisement


विदूषी म्याम्लाई थाहा हुनुपर्ने रामले राजाको कर्तव्य निर्वाह गरेका हुन् । सुपर्णखाँले प्रेम प्रस्ताव गर्दा रामले ‘घरैमा छिन् मेरी’ भन्दै सीताप्रतिको माया देखाएका थिए तर परिवारवादभन्दा माथि उठ्नुपर्ने राजाले जनताको चित्त बुझाउन सीतालाई त्यागेका हुन् । त्यो अहिले बैंक ठगी गर्ने दम्पतिको जस्तो नक्कली डिभोर्स थिएन ।

एक जना प्रगतिवादी समालोचक पौराणिक बिम्ब लिनै हुँदैन भन्थे । सीताराम उच्चारित हुँदा उछित्तो काढ्थे । भानुभक्त र गोकुल प्रतिध्रुवका हुन् भन्थे । अहिले बुढ्यौली र बिरामीले थल्लिँदा हरेराम हरेराम भन्दा रहेछन् । कमरेड प्रचण्डले आफ्नी सीतालाई रामकै शरणमा पठाउनु भएको थियो । सीतालाई आदर्श नमान्नेहरुले पनि सरकारी बजेटको व्यवस्थापनमा भानु जयन्ती मनाइँदा सीताको सौर्यबारे जानकारी राख्दा राम्रै हुँदो हो :
‘पाजी रावण बोल्दछस् कति बहुत
दुर्वाच्य बकबक गरी
राघवदेखि डराई छल्न भनी एक
सन्यासीको रुप धरी
जस्तो यज्ञबिषे हवि कुकुरले
हर्छन् सोही चालले
रामलक्ष्मण नहुँदा हरिस् तँ बुझिले
मर्लास् यसै कालले’
रिसमा वेद पढिँदैन । हामीलाई थाहा भयो, रोशनीले रिसकै आवेगमा ‘रन्डो’ भनेकी हुँदा महराले साफ भकुरेछन् । ती राधाले रिसकै आवेगमा कृष्णलाई जेल पुर्‍याएकी थिइन् । पुडासैनीको पाखण्ड थाहा पाउनेबित्तिकै प्रेमिका रिसाइछन्, ‘थुक्क पापी मर्नु नि बरु !’ भनिछन् । यही वचन वाणले पापी पुडासैनीले रवि लामिछानेलाई फसाउन आत्महत्या गरे । रविले जेलको हावा खानु परेकैले नेता तहमा उक्ले भन्नु अत्युक्ति नहोला । सीताको वाणीको ओजले हाम्रो भाषाको शक्तिलाई दर्शाउँछ । श्यामप्रसादले ‘तँ, तिमी, तपाइँ, हजुर’ ग्रन्थ लेखेका छन् । आजकै सन्दर्भमा हेरिँदा पनि सीताको त्यो सौर्य प्रशंसनीय छ । रावणले आऊ बस काखैमा भन्दा सीता लतक्क परिनन् ।

Advertisement

आयमेली साहित्यले वस्तुलाई सर्वाङ्गमा बुज्नेछ भन्छ । हामीकहाँ होहल्लाकै भरमा एकाङ्गी दृष्टिकोण बनाइन्छ । हत्याको राजनीतिलाई प्रचण्डपथ भनिँदा उपेन्द्र यादव, आलम र राजेन्द्र महतोले त्यही अनुकरणमा लागेर ठूल्ठूला नरसंहार मच्चाए । सिके राउत अझै त्यही बाटो अवलम्बन गर्दै छन् । अहिले जापानका युवा तेत्सुयाले नेता आबेको हत्या गरेर विश्वभरि चर्चा कमाए । अब गान्धी र गोड्सेकै रुपमा ती स्थापित हुने छन् । भारतमा गान्धी र गोड्से दुवै उत्तिकै पूजित र आलोचित छन् ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले सन् २०२० अगस्टमा स्वास्थ्यका कारण पदबाट राजीनामा दिएका थिए । त्यागी र देशभक्तको छवि बनेको थियो । चुनाव प्रचारकै क्रममा २०७९ असार २४ गते शुक्रबार गोली हानेर आबेको हत्या गरियो । आबेको हत्याले नेपाली नेताहरु पीपलको पातझैँ हल्लिदैँ छन् । यहाँ पनि चुनाव आउँदै छ । आबेलाई उच्च सम्मान गरिँदै छ र हाम्रालाई धिक्कार–धिक्कार भनिँदैछ । हाम्रा नेता थुतुनो र मुतुनो पटक्कै जोगाउँदैनन् । यस्तै कारण केशव स्थापितले चुनावमा पुल्टुङ्बाजी खाए । प्रचण्डले ५ हजार हत्याको जिम्मेवारी लिए । गगन थापा चारपाटा मुडियोस भन्दै चिच्याए ।

इतिहासका पाना पल्टाउँदा शासकका अत्याचार भयावह लाग्छ । हिटलर, मुसोलानी, चँगेज खाँ, स्तालिन, जङ्गबहादुर आदिका अत्याचारका प्रमाणले हामीलाई खपिनसक्नु हुन्छ । सुरतबहादुर शाह लेख्छन्, ‘जंगबहादुरका सैनिक आफू चढ्ने घोडा जनताका खेतबारीमा खुला छाड्थे । राणा पल्टनको दमन र थिचोमिचोबाट जनता पीडित थिए । राणा सैनिकहरु महिलामाथि हातपात गर्थे, युवतीलाई अपहरण गरी बलत्कार गर्थे । पल्टनले दिएको सास्तीबारे गुनासो गर्दा पल्टनका हाकिमहरु पीरमर्का पोख्नेलाई नै कुल्याहा (विद्रोही) को आरोप लगाउँदै सास्ती दिन्थे !’

योगमाया, बाँकाबीर, लखन थापा आदि माथिको अत्याचार कहालीलाग्दो छ । हाल सत्तासीनका शासन शैलीले देवीबहादुर असाध्य स्मरणीय छन् । प्रमोसन पाउनैपर्ने देवीबहादुरको ठाउँमा रानीकी एउटी प्रेमीलाई प्रमोसन दिइयो । गुनासो गरिँदा देवीबहादुर काटिए । अनि नै जंगबहादुरको उदय भएको थियो । आज कांग्रेसमाथि कांग्रेसीबाटै भइरहेको अन्यायलाई नियाल्दा रानी राज्यलक्ष्मी भन्दा आरजू कुन अर्थमा कम्ती छन् ? छोरोको हत्यारो खोजिदेऊ भनिँदा कम्युनिस्ट सत्ताले वृद्ध बाबुआमाको के हाल गर्दैछ ?

हिजो र भोलिभन्दा आज महत्वपूर्ण हुन्छ । निरंकुश शासक जंगबहादुरले अंग्रेजको चाकरी गरेर गुमेको भूमि फिर्ता गरेका थिए, हाम्रा नेता एमसिसी र एसपिपीको बिरोध गर्दै देश बेच्न उद्यत छन् । यसैले आबेको नियति यिनले अवश्यै भोग्नुपर्ने छ । नाथुराम र तेत्सुया यामागामीलाई जन्माउने यिनै हुन् । नेताका जे चिज र धन छन्, रखैलकै घरभित्र छन् । भन्नैपर्छ, कठै आबे ! धिक्कार हाम्रा !!

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया