‘परिवारले बाँडेर खान ट्रस्टलाई बजेट दिएको होइन’: मुख्यमन्त्री

समाधान संवाददाता २०७९ असार २९ गते १०:१२

पोखरा ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विभिन्न व्यक्तिका नाममा ट्रस्टलाई छुट्याएको बजेट परिवारका सदस्यले बाँडेर खान नदिएको प्रष्टीकरण दिएका छन् । मुख्यमन्त्रीकै पिता गोवद्र्धन शर्मा पोखरेलको नामको सहितका ट्रस्टलाई बजेट दिइएको प्रदेश सरकारको आलोचना भएको छ । प्रदेश सभाभित्र र बाहिर नागरिक समाजले पनि आलोचना गरिरहेको छ । प्रतिपक्ष दल एमालेको विद्यार्थी संगठनले विरोध प्रदर्शन तीब्र पारेको छ । मंगलबार प्रदेश सभाअघि प्रदर्शन गर्दै अनेरास्ववियुले मुख्यमन्त्रीको राजीनामा नै मागेको थियो ।

Advertisement

मुख्यमन्त्रीले त्यसै सन्दर्भमा मंगलबारको प्रदेशसभा बैठकमा सम्बोध गरे । मंगलबारको प्रदेश सभा बैठकको सुरुमै सभामुखसँग समय मागेर उनले सम्बोधन गरेका हुन् । उनले बिपी कोइराला, पुष्पलाल र गणेशमान सिंहका नाममा पनि विभिन्न प्रतिष्ठानहरु रहेको र तिनलाई संघ सरकारले बजेट दिने गरेको प्रसंग जोडे । ‘यस्ता धेरै व्यक्तित्वहरू हुनुहुन्छ, जसलाई हामीले सम्मान गरेका छौँ, गर्नुपर्छ र केन्द्रीय सरकारले गर्दै आएको पनि छ,’ उनले भने, ‘उहाँहरूका नाममा विभिन्न प्रतिष्ठान, संस्थाहरू छन् । ती संस्थाहरूलाई केन्द्रीय सरकारले करोडौँ रुपैयाँ दिएको छ किन ? परिवारलाई बाँडेर खान दिएको होइन, परिवारले खान बनाएको पनि होइन ।’ ती व्यक्तिहरूको नाम अमर रहोस् भन्ने उद्देश्य रहेको उनले बताए ।

‘स्वीकार छ—गोवद्र्धन शर्मा मेरो पिताजी हो । तर, गण्डकीका लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन हाँक्ने पुराना नेताहरूमध्येको गोवद्र्धन शर्मा पनि हुनुहुन्छ’

आफ्ना पिता गोवद्र्धन शर्माले गण्डकीको लोकतान्त्रिक आन्दोलन हाँकेको स्मरण मुख्यमन्त्री पोखरेलले गरे । तर अहिलेको पुस्ताले अघिल्लो पुस्तालाई नचिनेको दुखेसो उनले पोखे । ‘मस्वीकार गर्छु—गोवद्र्धन शर्मासँग मेरो पिताजी सम्बन्ध छ । तर, गण्डकीका लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन हाँक्ने पुराना नेताहरूमध्येको गोवद्र्धन शर्मा, एकदेव आले हुनुहुन्छ,’ उनले भने ।

२००७ सालको क्रान्तिमा एकैपटक ६ जना सहिद हुँदा शर्मा र आले बाँचेको तर शैक्षिक, छुवाछूत, हलो क्रान्तिको आन्दोलनमा जोखिम लिएर समाज परिवर्तनका लागि आफ्नो जातबाट पनि च्यूत भएर बस्नुपरेको मुख्यमन्त्री पोखरेलले उल्लेख गरे । उनले भने, ‘२०१७ सालमा राजा महेन्द्रले कू गरिसकेपछि उहाँ ८ वर्ष प्रवासमा बस्नुभयो ।’ प्रदेशकै सम्मान गर्नुपर्ने व्यक्ति उनीहरु भएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

Advertisement

‘समाज परिवर्तन, लोकतन्त्र, नेपाललाई परिवर्तन गर्नका लागि दिनुभयो, यस्ता व्यक्तिलाई राष्ट्रले, प्रदेशले सम्झने कि नसम्झने ? एउटा प्रश्न छ,’ मुख्यमन्त्रीले भने, ‘देशमा परिवर्तन ल्याउन, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हजारौँ सहिद, व्यक्तिहरूले सहादत प्राप्त गर्नुभएको छ । र त्यस्ता हजारौँ व्यक्तिहरू पनि हुनुहुन्छ, सहादत प्रत्यक्ष प्राप्त गर्नुभएन ।’ बजेटका विषयमा नागरिकस्तरबाट भएको असन्तुष्टिलाई मध्यनजर राख्दै विनियोजित स्रोतहरूलाई प्रदेशका प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी पनि मुख्यमन्त्री पोखरेलले दिए ।

प्रदेश सरकारले ल्याएको बजेटमा मुख्यमन्त्रीका पिताको ट्रस्टमा ५० लाख, मन्त्री मेखलाल श्रेष्ठका मातापिताको ट्रस्टका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । कांग्रेस नेता अर्जुन जोशीका पिताको नामको पार्कलाई २० लाख, जनमोर्चा सांसद पियारी थापाका श्रीमान् अध्यक्ष रहेको गाउँमैत्री कोषलाई ६० लाख, जसपा सांसद धनमाया लामाका जेठाजु भीमसेन पोखरेलको नामको संस्थालाई ५० लाख र माओवादी सांसद विनोद केसीका दाइको स्मृति प्रतिष्ठानलाई १२ लाख रुपैयाँ विनियोजन भएको छ ।
मुख्यमन्त्री पोखरेल, मन्त्री श्रेष्ठले आफ्ना परिवारका नाममा विनियोजित बजेट हटाइदिन सम्बन्धित मन्त्रालयलाई भनेका छन् । त्यस्तै सांसद पियारी थापाले आफ्नो भनिएको कोषको बजेट बागलुङ काठेखोला गाउँपालिकाको स्वास्थ्यचौकी भवनका लागि खर्च गरिदिन भनेकी छन् ।

मुख्यमन्त्री पोखरेलले आफ्ना पिताका नामको ट्रस्टलाई बजेट विनियोजन गरेको विषयको प्रचारप्रति दुखभावसहितको मन्तव्य राखेका थिए । उनले भने, ‘जसले मुलुकको परिवर्तनको लागि लड्यो, इतिहासका लागि आफूलाई समर्पित ग¥यो, त्यसले राष्ट्रबाट सम्मानित हुने हक राख्छ । त्यो प्राक्टिस प्रदेशभित्र पनि छ । म सम्मानका साथ नाम लिन्छु हिजोको सरकारले रवीन्द्र अधिकारीजीको नामका संस्थामा रकम विनियोजित भएको छ । हामीले कहीँ बोलेनौँ । किनभने त्यो हैसियत उहाँको छ, हामीले मान्यौँ, योगदानको कदर ग¥यौँ । यी सबै कुराहरूलाई हेर्दा अहिले हामी बढी ‘बायस’ भयौँ कि भन्ने मलाई लाग्छ ।’

सहिदहरुका नामका ट्रस्टलाई बजेट दिएको विषय उनीहरुको सम्मानका लागि भएको मुख्यमन्त्रीको प्रष्टोक्ति थियो । उनले भने, ‘एउटै मोर्चामा लड्दालड्दै एउटा साथी मरेको छ । अर्को साथी बाँचेको छ । एउटै आन्दोलनमा प्रहरीको गोली, कोही ढलेको छ कोही ढलेको छैन । ढलेकाहरु व्यक्ति शहिद घोषित हुन । सम्मान छ, दिनुपर्छ । कुन पार्टीको विचारको थियो, गौण कुरा हुन ।’

तपाईको प्रतिक्रिया